News

३७ वर्षपछि नरदेवी नाच

September 15, 2017

प्रशान्त माली, कान्तिपुर दैनिक, ३० भाद्र २०७४ 

इन्द्रचोकस्थित डबलीमा ३७ वर्षपछि प्रसिद्ध नरदेवी नाच देखाइएको छ । २०३६ सालयता यहाँ यो नाच सञ्चालन गरिएको थिएन । 

नरदेवीमा १२ वर्षे जात्रा सञ्चालनको अनौठो प्रक्रिया छ । देवगणमध्ये एक जनाको शरीरमा देवी चढेको वर्षदेखि १२ वर्षसम्म नाच सञ्चालन गर्नुपर्ने परम्परा छ । स्थानीय गुठीयारका अनुसार २०३६ मा कुमारी हुने देवगण न्हुच्छेनारायण डंगोलको शरीरमा देवी चढेको थियो । त्यसयता हालसम्म कुनै पनि देवगणको शरीरमा देवी चढेको छैन । देवगण हुनेले देवताघर गई आफूले नाचका क्रममा लगाउने पोसाक, गरगहना लगाई मूल डबलीमा नृत्य गर्नुलाई देवी चढेको मानिन्छ । 

जात्रा लोप हुने खतरा बढेपछि गुठीयार मिलेर २०६६ मा मन्दिरमा क्षमापूजा गरी १२ वर्षे पर्व चलाएका थिए । १२ वर्षे नरदेवी नाचअन्तर्गत १२ वर्षसम्म विभिन्न १२ ठाउँमा जात्रा सञ्चालन गर्नुपर्ने धार्मिक मान्यताअनुसार बुधबार र बिहीबार इन्द्रचोकमा नाच देखाइएको हो । 

शुक्रबार र शनिबार हनुमानढोका दरबार क्षेत्र नासल चोकस्थित मूल डबलीमा नाच प्रदर्शन गरेपछि २०६६ देखि सुरु भएको १२ वर्षे नरदेवी नाच सम्पन्न हुनेछ । १२ वर्षसम्म १२ ठाउँमा जात्रा सञ्चालन गर्नुपर्ने धार्मिक मान्यता भए पनि एकै वर्ष विभिन्न ठाउँमा सञ्चालन गरेर यस वर्ष समापन गर्न लागिएको हो । 

नरदेवी श्री श्वेतकाली संरक्षण तथा व्यवस्थापन समितिका अनुसार नाच नरदेवीस्थित देवताघर घंगला सी:, मूल डबली, तलेजु मन्दिर, त्रिशूल चोक, कुमारी घर, १० अवतार डबली, पाटन दरबार स्क्वयारस्थित कात्तिक डबली, कीर्तिपुर, भक्तपुर दरबार क्षेत्र र बनेपामा देखाइसकिएको छ । समितिका अध्यक्ष सत्यनारायण डंगोलका अनुसार मल्लकालीन ‘सिस्टर सिटीहरू’ मा देखाउने परम्पराअनुसार ती स्थानमा प्रदर्शन भएका छन् । अन्तिम दिन नाच अवलोकन गर्न राष्ट्र प्रमुख उपस्थित हुने धार्मिक परम्परा छ । ‘अन्तिम दिन राष्ट्रपति विद्यादेवी भण्डारीको उपस्थितिका लागि गुठीका मूल धामी कुमारी, भैरव, बाराही, मूल थाकुलि, मूल गुरुबाट देवीको प्रसादसहित निमन्त्रणा चढाइसकेका छौं,’ उनले भने, ‘पहिले जात्राको सबै खर्च राजदरबारले बेहोर्ने गथ्र्यो, अहिले स्थानीयवासी आफंैले बेहोर्दै आइरहेका छौं ।’ समितिका अनुसार एकपटक नाच प्रदर्शन गर्न कम्तीमा ३ लाख रुपैयाँ चाहिन्छ । 

तान्त्रिक र यान्त्रिक विधिद्वारा सञ्चालन हुने नाचका लागि नरदेवीस्थित देवता घरबाट ४ नाइके, १९ देवगण, ५ थकाली र गुठीयारहरू इन्द्रचोक पुगेका थिए । उनीहरूलाई इन्द्रचोकको आजु द्य: गुठी, भजनमण्डल, व्यापार संघ, इन्द्रचोक क्लबलगायत संघसंस्थाले बाजागाजासहित स्वागत गरेका थिए । इन्द्रचोकमा प्रस्थान गर्नुअघि उनीहरूले नरदेवीस्थित देवता घरबाट सिद्धि पूजा गरेका थिए । देवगणहरूले नरदेवीको द्य: छे (देवता घर) मा आगन पूजा गरेर कलेवर पोसाक, गरगहना र मुकुट लगाई शक्ति धारण गरेका थिए । द्य छेँबाट नरदेवी चोक–किलागल–भेडासिङ हँुदै इन्द्रचोक पुगेका थिए । नगर परिक्रमा गर्नुअघि श्वेतकाली देवता हुने देवगणले अन्य देवगण, नाइकेहरूलाई तिलक लगाइदिएका थिए ।

मंगलयात्राका क्रममा श्वेतकाली, भैरव, काली, बाराही, महालक्ष्मी, चण्डेश्वरी, दैत्यलाई खड्ग, कुमारीलाई मयूरको प्वाँख, गणेशलाई मूला (लजु), नारायणीलाई गदा, इन्द्रायणीलाई वज्र, रुद्रायणीलाई कमण्डलु, ब्रहमायणीलाई पुस्तक, बिघिनीलाई पात्र र महादेवको हातमा डमरु दिएका थिए । देवगणहरूले दुवै हातमा चाँदीका चुलिया, बाई, नागमाला, मुन्डमाला, खुट्टामा धंगली लगाएका थिए ।

श्वेतकाली (नरदेवी) लाई झल्लरवाला छत्रले ओढाइ विशेष सम्मान दिइएको थियो । सम्पूर्ण देवतालाई साधन गरी राखिएको कलशलाई शिव द्य: (मुख्य देवता) लाई केन्द्रविन्दु बनाएर नाच प्रदर्शन गरिएको थियो । करुणामय (सुथमाजु:) देवीले नृत्य प्रस्तुत गर्दा नरदेवीले विश्वरूप धारणा गरी आक्रोश मुद्रामा रहेकी देवीलाई शान्त पार्ने भावले देखाइएको थियो । नाचमा चण्डेश्वरीले दैत्य वध गरिएको दृश्य देखाइएको थियो । नाचका क्रममा दंग खी:, भुस्या:, छुस्या:, ता:, पोंगा बाजा बजाइएको थियो । नाच हेर्न सर्वसाधारणको घुइँचो लागेको थियो । 


स्रोत: http://kantipur.ekantipur.com/news/2017-09-15/20170915074206.html