कान्तिपुर, फाल्गुन ०८, २०७५
कञ्चनपुर — कञ्चनपुरमा करिब ३ प्रतिशतमा हात्तीपाइलेको संक्रमण रहेको एक अध्ययनले देखाएको छ । जिल्ला जनस्वास्वथ्य कार्यालयले गतवर्ष गरेको अध्ययन अनुसार यहाँ २ दशमलव ७८ प्रतिशतमा हात्तीपाइलेको लक्षण देखिएको हो । ६ वर्षअघि हात्तीपाईले रोग निवारण अभियान सुरु गर्दा २० प्रतिशतमा संक्रमण देखिएको थियो ।
२०१३ मा ६ वर्षभित्र बिरामीको संख्या १ प्रतिशतभन्दा कममा झार्ने लक्ष्यसहित हात्तीपाइले रोग निवारण अभियान सुरु भएको हो । उक्त लक्ष्यअनुसार सफलता नपाइएपछि थप दुई वर्ष उक्त अभियान सञ्चालन गरिने भएको छ ।
विश्व स्वास्थ्य संगठनको मान्यताअनुसार रोगीको संख्या १ प्रतिशतभन्दा कम भएपछि निवारण भएको मानिन्छ । हात्तीपाइले रोग निवारण अभियानअन्तर्गत कञ्चनपुरमा फागुन १५ गतेदेखि औषधि वितरण गरिने क्षेत्रीय स्वास्थ्य निर्देशनाले दिपायलका कीटजन्य रोग नियन्त्रण अधिकृत हेमराज जोशीले बताए । उनका अनुसार सुदूरपश्चिम प्रदेशका कञ्चनपुर र कैलालीमा एकसाथ हात्तीपाइले विरुद्धको औषधी वितरण गरिन लागेको हो ।
‘लगातार ६ वर्षसम्म औषधि सेवन गरेपछि निश्चित क्षेत्र हात्तीपाइलको जाखिमबाट मुक्त भएको मानिन्छ,’ मंगलबार महेन्द्रनगरमा आयोजित पत्रकारहरूसँगको अन्तरक्रियामा जोशीले भने, ‘तर, यहाँ औषधि सेवन गर्ने दर निकै कम भएकाले थप २ वर्ष औषधि खुवाउनुपरेको हो ।’ उनका अनुसार ६५ प्रतिशतभन्दा बढीले औषधि सेवन गरेमा अभियान सफल भएको मानिन्छ । तर, कञ्चनपुरमा विगतका वर्षमा केही नगरपालिकामा ५० प्रतिशतलेसमेत औषधि नखाएको उनले बताए ।
‘यस वर्ष ९० प्रतिशतलाई औषधि खुवाउने लक्ष्य राखिएको छ,’ जोशीले भने, ‘त्यहीअनुसार स्वास्थ्यकर्मीहरू परिचालन गरिएका छन्, विगतझैं समय सीमा पनि तोकिएको छैन ।’ उनका अनुसार विगतमा स्वास्थ्यकर्मी र स्वयम्सेवकसँगै अन्यलाई पनि अभियानमा परिचालन गरिएको थियो ।
तर यस वर्ष स्वास्थ्यकर्मीसँगै स्वयम्सेवकलाईपरिचालन गरिएको छ । सुदूरपश्चिम प्रदेशका ९ वटै जिल्लामा २०१३ बाट यो अभियान सुरु भएको हो । अन्य जिल्लामा संक्रमितको संख्या १ प्रतिशतभन्दा कम पुगेर रोग निवारणको अवस्थामा पुगेको छ । तर, कैलाली र कञ्चनपुरमा निवारण हुन नसकेकाले थप २ वर्ष औषधि वितरण गर्नुपरेको हो । कैलाली र कञ्चनपुरसँगै विभिन्न प्रदेशका तराईका १५ जिल्लामा यो अभियान एकसाथ सुरु भइरहेको छ ।
विश्व स्वास्थ्य संगठनले १९९७ मा हात्तीपाइले रोग निवारणका लागि रणनीति बनाएको हो । त्यहीअनुसार नेपालमा २००३ मा पर्साबाट उक्त अभियान सुरु गरिएको हो । २०१३ मा एकै पटक सबैभन्दा बढी ५६ जिल्लामा उक्त अभियान सञ्चालन गरिएको हो । उचेरिया बांन्क्रोफ्टी नामक परजीवीबाट हात्तीपाइले एक व्यक्तिबाट अर्काेमा सर्ने गर्छ । नेपालमा क्युलेक्स क्यांकिफेसिएटस नामक लामखुट्टेले यो रोग सार्ने गर्छ ।
रोग निवारणका लागि डीईसी र अबलेन्डाजोल नामक औषधि खुवाइँदै आएको छ । दीर्घरोगी, गर्भवती तथा ७ दिनको सुत्केरी महिला र २ वर्षमुनिका बालबालिकाबाहेक सबैले यो औषधि सेवन गर्न सकिने जोशीले बताए । यो औषधिले कुनै पनि नकारात्मक असर नगर्ने उनले बताए ।
सोर्त: https://www.kantipurdaily.com/pradesh-7/2019/02/20/155063702200588614.html