News

५७ हजार भूकम्पपीडित अनुदानविहीन

February 27, 2018

आर्थिक अभियान, फागुन १५, २०७४ 

काठमाडौं । भूकम्पको ३ वर्ष पुग्दासमेत सबै भूकम्पपीडितले सरकारले उपलब्ध गराउने अनुदान पाउन सकेका छैनन् । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले भूकम्पपीडितको सूचीमा रहेका कुल लाभग्राही ६ लाख ६७ हजार ६ सय ६२ रहे पनि ५७ हजार १ सय ६२ लाभग्राहीसँग अनुदान सम्झौता गर्न बाँकी छ ।

प्राधिकरणले हालसम्म ६ लाख १० हजार ५ सय लाभग्राहीसँग निजी आवास निर्माणका लागि अनुदान सम्झौता गरिसकेको छ । प्राधिकरणले सोमवार प्रेस विज्ञप्ति जारी गरी भूकम्प अतिप्रभावित १४ जिल्लाका ७० प्रतिशतभन्दा बढी लाभग्राहीले निजी आवास पुनर्निर्माण प्रक्रियामा समावेश भएको दाबी गरेको छ । प्राधिकरणको सोमवारसम्मको तथ्याङ्कअनुसार भूकम्प अतिप्रभावित १४ जिल्लामा १ लाख २ सय ३६ घरको पुनर्निर्माण सम्पन्न भएको छ ।

यस्तै, ३ लाख ३२ हजार ३ सय २१ घर पुनर्निर्माणको क्रममा रहेको प्राधिकरणले बताएको छ । यही अनुपातमा निजी आवास पुनर्निर्माणको काम अघि बढे आगामी बर्खाअघि करीब ६० प्रतिशत घर पुनर्निर्माण भइसक्ने प्रमुख कार्यकारी अधिकृत (सीईओ) युवराज भुसालले बताए । निजी आवास पुनर्निर्माणको समयसीमा तोकिएको, प्राविधिकहरू स्थानीय स्तरमा परिचालन, डकर्मी तालीम व्यापक रूपमा सञ्चालन भएकाले घर बनाउने लाभग्राही बढेको उनको तर्क छ ।

भूकम्पबाट कम प्रभावित १८ जिल्लामा बनिसकेका र बन्दै गरेका घरको विवरण प्राधिकरणको केन्द्रीय सूचना प्रणालीमा समाविष्ट भइनसकेको प्राधिकरणको भनाइ छ । प्राधिकरणका अनुसार भूकम्पबाट कम प्रभावित जिल्लाका कुल १ लाख ४३ लाभग्राहीमध्ये अनुदान सम्झौता भएका ९० हजार ८ सय ५० को पछिल्लो तथ्याङ्क आउने क्रममा रहेको छ ।

प्राधिकरणको तथ्याङ्क अनुसार भूकम्पबाट प्रभावित भएका जिल्लामध्ये धादिङमा १८ हजार ९ सय ४० लाभग्राहीले सरकारी अनुदानबाट घर निर्माण गरिसकेका छन् । सबैभन्दा कम भने ललितपुरमा छन् । त्यहाँका कुल अनुदान सम्झौता भएका २३ हजार २ सय ८५ लाभग्राहीमध्ये हालसम्म १ हजार २ सय ६० लाभग्राहीले मात्रै निजी आवास बनाएका छन् । ललितपुर पनि भूकम्पबाट अतिप्रभावित जिल्ला हो ।

स्रोत: www.abhiyan.com.np/2018/02/27/183710