अन्नपूर्ण पोष्ट, जेठ ०२, २०७७
काठमाडौं : वाणिज्य बैंकहरुको वितरणयोग्य नाफा अघिल्लो वर्षको तुलनामा ६० प्रतिशतभन्दा धेरै घटेको छ। सरकारले चैत मसान्तमा तिर्नुपर्ने ब्याज असार मसान्तमा तिर्दा पनि हुने छुट दिएकाले पनि नाफा खातामा कम पैसा जम्मा भएको देखिएको हो।
६ वटा बैंक घाटामा गएपछि समग्र वाणिज्य बैंकको प्रतिफल दिने क्षमता भारी कटौती भएको देखिएको छ। गत चैत मसान्तको वित्तीय विवरणअनुसार लक्ष्मी, सिभिल, सनराइज, सिद्धार्थ, बैंक अफ काठमाण्डू र नेपाल बैंक खुद घाटामा गएका छन्। अरु बैंकले वितरणयोग्य नाफा आर्जन गर्न सकेको भए पनि स्ट्याण्डर्ड चार्टर्डबाहेक सबैको नाफा अघिल्लो वर्षको तुलनामा घटेको छ।
स्ट्याण्डर्ड चार्टर्डले भने अन्य बैंकको अन्तर्राष्ट्रिय भुक्तानी मध्येस्थता गर्ने र विदेशी मुद्राको कारोबार बढी गर्ने भएकाले साढे १८ प्रतिशत नाफा बढाएको छ। यद्यपि, लाभांश वितरण गर्न नपाइने नाफा खातामा भने कुनै पनि बैंक घाटामा गएको देखिँदैन। नेपाल फाइनान्सियल रिपोर्टिङ स्ट्याण्डर्ड (एनएफआरएस) भनिने नयाँ लेखा विधिअनुसार ग्लोबल आईएमई, प्राइम, सेञ्चुरीलगायत १५ बैंकले अघिले वर्षभन्दा पनि बढी नाफा कमाएका छन्। यत वर्ष मर्जरमा गएका संस्थाको एकीकृत हिसाबमा पनि बढी नाफा देखिएको छ।
बैंकको नाफा घटेसँगै सरकारले पाउने कर पनि भारी मात्रामा कटौती भएको छ। गएको चैतसम्ममा बैंकले १८ अर्ब ९८ करोड ५५ लाख रुपैयाँमात्रै आयकर तिरेका छन्। गत वर्ष १९ अर्ब ३३ करोड ६३ लाख रुपैयाँ तिरेका थिए।
नेपाल बैंकर्स संघको प्रतिवेदनले ग्राहकसँग ज्यादा शुल्क लिएर बढी आम्दानी गर्नेमा एनआईसी एसिया बैंक सबैभन्दा अगाडि देखिएको छ। यो बैंकले गएको ९ महिनामा १ अर्ब ८४ करोड रुपैयाँ त शुल्कबाटै कमाएको छ। त्यसपछि कृषि विकास, नबिल र ग्लोबल आईएमई बैंकले पनि १ अर्ब रुपैयाँभन्दा बढी शुल्कबाट कमाएका छन्। २७ वाणिज्य बैंकले आफ्ना ग्राहकबाट ९ महिनामा १७ अर्ब ७६ करोड रुपैयाँ शुल्कबाट कमाएका छन्।
खुद ब्याज आम्दानी गर्नेमा भने पूर्णसरकारी स्वामित्वको राष्ट्रिय वाणिज्य बैंक सबैभन्दा अगाडि देखिएको छ। त्यसपछि ग्लोबल आईएमई, एनआईसी एसिया, नबिलजस्ता बैंक ब्याजबाट बढी आम्दानी गर्नेमा पर्छन्।
कारोबारको आकारका आधारमा ग्लोबल आईएमई बैंक सबैभन्दा ठूलो भएको छ। यो बैंकसँग चैत मसान्तमा २ खर्ब १८ अर्ब निक्षेप र २ खर्ब १ अर्बभन्दा बढी कर्जा लगानी गरेको हिसाब छ। यो एनसीसी, सेञ्चुरी, नेपाल बंगलादेश र सिभिल बैंकको संयुक्त कारोबारभन्दा थोरैमात्र कम हो। समग्रमा बैंकसँग ३२ खर्ब १३ अर्ब निक्षेप र २८ खर्ब ३४ अर्ब कर्जा परिचालन गरेको वासलात छ।