News

बैंकमा थुप्रियो पैसा

September 13, 2017

मेनुका कार्की, अन्नपुर्ण पोस्ट, २८ भाद्र २०७४ 

बैंक तथा वित्तीय संस्थामा अधिक तरलता (लगानीयोग्य पुँजी) थुप्रिएको छ । हाल बैंकहरूसँग ७१ अर्ब रुपैयाँभन्दा बढी तरलता पुगेको छ । तरलता अभाव सुरु भएको करिब एक वर्षपछि बैंकहरूमा लगानीयोग्य रकम बढेको राष्ट्र बैंक अनुसन्धान विभाग प्रमुख नरबहादुर थापाले जानकारी दिए । ‘हाल कर्जा र निक्षेप सन्तुलन उन्मुख भएको छ', थापाले भने,‘ निक्षेप वृद्धिदर १४ प्रतिशतभन्दा माथि उक्लिएको छ भने कर्जा प्रवाह १८/१९ प्रतिशतमा खुम्चिएको छ ।' पुँजी वृद्धि योजना पनि अधिक तरलताको अर्को प्रमुख कारण हो । पुँजी वृद्धि योजनाअनुसार ६५ अर्ब पुँजी बैंकहरूमा थपिएको छ ।

साउनदेखि बैंकमा तरलताको अवस्था सुधार हुँदै आए पनि बैंकले लगानी बढाउन नसकेका कारण अधिक तरलताको अवस्था आएको हो । गत साल असोज अन्तिम साताबाट तरलता अभाव सुरु भएको थियो । बैंकहरूले सवारीसाधन र सेयरमा अन्धाधुन्दा लगानी गरेपछि तरलता अभाव भएको थियो । गत आर्थिक वर्षको पहिलो महिनादेखि सरकारी खर्चमा आएको शिथिलताले तरलता अभावलाई बढवा दिन मद्दत गरेको थियो । तरलता अभावका कारण ६ प्रतिशतमा रहेको मुद्दती ब्याज बढेर १२ प्रतिशतभन्दा माथि पुगेको थियो । बैंकले लिने निक्षेपमा बढेको ब्याजसँगै कर्जाको ब्याज समेत बढेका कारण निजी क्षेत्रले समस्या भोग्दै आएको थियो ।

बैंकमा तरलता अधिक भए पनि अहिलेसम्म कर्जाको ब्याज घटेको छैन । बैंकमा अधिक तरलता बढ्दै गए पनि लगानीका क्षेत्र बढ्न नसकेको बैंकर्सको भनाइ छ । ‘बैंकका तरलता बढेको मैले पनि फिल गरेको छु', सिटिजन्स् बैंकका प्रमुख कार्यकारी अधिकृत राजनसिंह भण्डारीले भने ‘लगानी गर्ने क्षेत्र साँघुरिएर तरलता बढेको हो ।' अधिक तरलता भए पनि दसैंअघि ब्याजदर घटाउन सकिँदैन', उनले भने ‘ बजार घट्दै गए आफै ब्याज घट्छ । ‘दसैंअघि यो सम्भव छैन', भण्डारीले दसैंपछिको अवस्था हेरेर ब्याजदरमा पुनरावोलक गर्ने छौं ।'

हाल बैंकहरूसँग ७१ अर्ब रुपैयाँभन्दा बढी तरलता पुगेको छ ।

तरलताले अभावले गत मंसिरदेखि ब्याजदर बढाएका बैंक तथा वित्तीय संस्था अहिले अधिक तरलताको अवस्था आए पनि बैंकको ‘कस्ट अफ फन्ड' नघटेको भन्दै ब्याजदर घटाउन तयार भएका छैनन् । बैंकमा अधिक तरलता भनिए पनि लगानीयोग्य पुँजी करिब ५० अर्बमात्रै बढेको सानिमा बैंकका सीईओ भुवनकुमार दाहालले बताए । ‘कोर क्यापिटल' को २ प्रतिशतमात्र बैंकमा पुँजी बढेको हो । यसरी हेर्दा प्रत्येक बैंकसँग दुई अर्बमात्र लगानी गर्न सक्ने पुँजी छ । ‘बेसरेट घटे स्वतः कर्जाको ब्याजदर घट्छ', उनले भने,‘बचतको ब्याजदर घटेमा बेसरेट पनि घट्ने हो ।'

कर्जाको ब्याजदर बेसरेटसँग जोडिएको छ भने बेसरेट बचतको ब्याजदरसँग', उनले थपे,‘अहिले बेसरेट उच्च विन्दुमा छ ।' बेसरेटलाई प्रत्येक तीन महिनामा परिमार्जन गर्न सकिने व्यवस्था छ । दोस्रो त्रैमास अर्थात् पुससम्म कर्जाको ब्याजदर घटाउन सम्भव नदेखिएको दाहालले बताए । माघदेखि भने ब्याजदरमा पनि केही सुधार आउनेछ ।

बचत, मुद्दती तथा कल डिपोजिट सबै निक्षेपको ब्याजदर गत वर्षको तुलनामा बढी छ । गत वर्ष बचतको ब्याजदर साढे एकदेखि तीन र मुद्दतीको ५/६ प्रतिशतको हाराहारीमा ब्याजदर थियो । अहिले बचतमै आठ र मुद्दतमिा १२ प्रतिशतभन्दा बढी ब्याजदर छ । अहिले बैंक तथा वित्तीय संस्थामा अधिक तरलता भएकाले राष्ट्र बैंकले विभिन्न बैंकिङ औजारमार्फत बजारबाट पटकपटक तरलता खिचिरहेको छ । बजारमा अधिक तरलता भएपछि नेपाल राष्ट्र बैंकले रिभर्स रिपो उपकरणमार्फत प्रतिस्पर्धाबाट तरलता खिच्दै आएको छ । बुधबारमात्रै राष्ट्र बैंकले बजारबाट एक अर्ब रुपैयाँ खिच्दैछ । बजारको अवस्था हेरेर राष्ट्र बैंकले अधिक तरलतालाई व्यवस्थापन गर्न पैसा खिच्ने गर्दछ ।

राष्ट्र बैंकका अनुसार एक महिनायता बजारमा बढी भएको करिब ५२ अर्ब तरलता राष्ट्र बैंकले खिचिसकेको छ । अधिक तरलताको अर्को सूचक अन्तरबैंक ब्याजदर र ट्रेजरी बिल्सको बट्टादार पनि घटेको छ । बैंकमा लगानी गर्न पर्याप्त पुँजी भएपछि बैंक तथा वित्तीय संस्थाले सेयर कर्जा, घरकर्जा, साना तथा मझौला व्यवसायलगायत कर्जा योजना सार्वजनिक गर्न थालेका छन् । गएको वर्ष अनुत्पादक क्षेत्र भन्दै सेयर, घरजग्गा, सवारीलगायत क्षेत्रमा कर्जा प्रवाह रोकेका बैंकले हाल ती क्षेत्रमा कर्जा लिन आह्वान गरिरहेका छन् । 

स्रोत:

http://annapurnapost.com/news-details/80107