वैदेशिक रोजगारीमा जस्तै पछिल्लो समय नेपाली विद्यार्थीहरु अध्ययनका लागि विदेश जाने क्रम बढेको छ । सन् २०२३ मा मात्रै १ लाख १२ हजार विद्यार्थीले विदेशमा अध्ययनका लागि वैदेशिक अध्ययन अनुमतिपत्र (एनओसी) लिएका छन् । यो अघिल्लो वर्ष (सन् २०२२) को तुलनामा १०.१५ प्रतिशतको वृद्धि हो । कोरोना कालखण्डपछि नेपालबाट विदेश अध्ययन गर्न जाने विद्यार्थीको संख्या निकै बढेको छ । कोरोनापछिको तीन वर्ष सन् २०२१,२०२२ र २०२३ मा मात्रै ३ लाख १७ हजार ३१४ जना विद्यार्थी अध्ययनका लागि देशबाट बाहिरिएका छन् ।
नेपालीहरु अध्ययनका लागि विदेश कहिलेदेखि जान सुरु भयो एकिन तथ्याङ्क त छैन । तर, राणा शासन कालदेखि नै यो क्रम सुरु भएको मानिन्छ । सन् १९०८ मा राणा प्रधानमन्त्री चन्द्रशम्शेर बेलायत भ्रमणमा रहँदा अक्सफोर्ड विश्वविद्यालयको पनि अवलोकन गरेका थिए । त्यस समयमा नेपालबाट अध्ययनका लागि फाट्टफुट्ट भारत जाने गरेको पाइन्छ । उच्च शिक्षाको लागि भारत जानुपर्ने अवस्था आउन नदिन चन्द्र शम्शेरले वि.स.१९७५ मा त्रिचन्द्र क्याम्पसको स्थापना गरेका थिए । सुरुमा भारतको पटना विश्वविद्यालयबाट सम्बन्धन लिएर शैक्षिक कार्यक्रम संचालन भएपनि वि.स.२०१६ सालदेखि भने त्रिभुवन विश्वविद्यालयको शैक्षिक कार्यक्रम लागु भएको थियो ।
पंचायती व्यवस्था कालखण्डमा वैदेशिक अध्ययनका लागि बाहिर जाने विद्यार्थीको संख्या नगन्य थियो । रसिया, चीन, भारत, पाकिस्तान, अमेरिका, अष्ट्रेलिया, बंगलादेश लगायतका मुलुकबाट नेपाली विद्यार्थीका लागि अध्ययन कोटा आउने गथ्र्यो । त्यसमा सरकारी (शिक्षा मन्त्रालय) तवरबाटै विद्यार्थी छनोट भई छात्रवृत्तिमा विदेश अध्ययनका लागि अनुमति दिइन्थ्यो । यसरी छात्रवृत्तिमा अध्ययन गर्ने अवसर सामान्य नागरिकको पहुँच बाहिर थियो ।
यहाँ, नेपालबाट विदेश अध्ययन गर्न जाने विद्यार्थी संख्यालाई तीन कालखण्डमा बर्गिकरण गरी हेर्न खोजिएको छ ।
पहिलो कालखण्ड माओवादी सशस्त्र द्धन्द्ध, दोस्रो कालखण्ड द्धन्द्ध समात्त पछि र संविधान जारी हुनुअघिको समय र तेस्रो कालखण्ड नयाँ संविधान जारी पछिको समय । नेपालमा ४६ सालको राजनीतिक परिवर्तन पछि विश्वव्यापीकरण, उदारीकरण तथा बजार अर्थतन्त्रको विकाससंगै वैदेशिक अध्ययनका लागि अवस्था सहज बन्न थालेको हो । २०५२ सालमा माओवादी द्धन्द्ध सुरु भएपछि भने अध्ययनका लागि विदेश जाने क्रम बढ्न थाल्यो । सशस्त्र द्धन्द्ध सुरु भएको साल २०५२ देखि २०६१ सम्म एक दशकको अवधिमा १७ हजार ७ सय २२ जना विद्यार्थीले वैदेशिक अध्ययनका लागि अनुमति लिएका शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयको उच्च शिक्षा महाशाखाको तथ्याङ्क छ । उक्त समयअवधिमा वैदेशिक अध्ययनमा जाने विद्यार्थीको वार्षिक औषत वृद्धिदर १७.८२ प्रतिशत थियो । उक्त अवधिमा अष्ट्रेलिया, बंगलादेश, पाकिस्तान, अमेरिका, जापान, रसिया, चीन लगायतका मुलुकमा नेपाली विद्यार्थी अध्ययनका लागि गएको पाइन्छ ।
वि.स.२०६२ देखि २०७१ सम्मको १० वर्षको अवधिमा १ लाख ५८ हजार ३५३ जना विद्यार्थीले वैदेशिक अध्ययनका लागि अनुमति लिएका छन् । यस अवधिमा वैदेशिक अध्ययनका लागि जाने विद्यार्थीको औषत वार्षिक वृद्धिदर ३१.१५ प्रतिशत छ । द्धन्द्धको समयको एक दशक र त्यसयता (२०६२–२०७१) को एक दशकको अवधिमा वैदेशिक अध्ययनमा जाने विद्यार्थी ७९४.७९ प्रतिशतले बढेका छन् । वि.स.२०७२ देखि २०८० सम्मको ९ वर्षको अवधिमा ५ लाख ७८ हजार ४०४ जना विद्यार्थीले वैदेशिक अध्ययन अनुमतिपत्र लिएका छन् । यस अवधिमा वैदेशिक अध्ययन अनुमतिपत्र लिने विद्यार्थी औषतमा ३९.१३ प्रतिशतले बढेका छन् ।
चित्र १ : एक दशकको अवधिमा वैदेशिक अध्ययन अनुमतिपत्र लिएका विद्यार्थीको संख्या र वृद्धिदर
श्रोत : उच्च शिक्षा महाशाखा, शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय, आर्थिक सर्वेक्षण २०८१, अर्थ मन्त्रालय
भूकम्पपछिका २ वर्ष वैदेशिक अध्ययनमा जाने विद्यार्थीको संख्या बढेको छ । तेस्रो वर्षमा केही घटेको देखिए पनि कोरोना कालखण्डमा विश्वव्यापी लक डाउनका कारण विदेश अध्ययनमा जाने विद्यार्थी होल्ड भएका छन् । विभिन्न देशहरुले अन्तर्राष्ट्रिय आवतजावत खुला गरेपछि नेपाली विद्यार्थीको विदेश जाने क्रम हवात्तै बढेको छ ।
पछिल्लो दशकमा नेपाली विद्यार्थीको प्रमुख गन्तव्य जापान, अष्ट्रेलिया, क्यानडा, अमेरिका बनेका छन् । आर्थिक सर्वेक्षण २०८१ मा उल्लेख भएअनुसार वि.स.२०८० मा वैदेशिक अध्ययन अनुमतिपत्र लिनेमध्ये एक तिहाइभन्दा बढी जापानका लागि छन् ।
चित्र २ ः वि.स.२०८० मा वैदेशिक अध्ययन अनुमतिपत्रका आधारमा प्रमुख गन्तव्य मुलुक
श्रोतः आर्थिक सर्वेक्षण, २०८१, अर्थ मन्त्रालय
वैदेशिक अध्ययनमा जाने विद्यार्थीको संख्या बढेसंगै अध्ययनका नाममा बाहिरिने रकम पनि बढ्दै गएको छ । पछिल्लो एक दशक (सन् २०१४–२०२३) सम्म ३ खर्ब ८२ अर्ब ९४ करोड रुपैयाँ वैदेशिक अध्ययनका नाममा बाहिरिएको नेपाल राष्ट्र बैंकको तथ्याङ्क छ । यसमा विदेशी विश्वविद्यालयबाट संम्बन्धन लिएर नेपालमै संचालनमा रहेका क्याम्पसमा अध्ययनरत विद्यार्थीको शुल्क समेत समावेश छ । नेपालमा विदेशी विश्वविद्यालयबाट संम्बन्धन लिएर कक्षा संचालन गरिरहेका ५९ वटा क्याम्पस छन् । एक दशकको तथ्याङ्कलाई आधार मान्दा वैदेशिक अध्ययनका लागि नेपालबाट वार्षिक औषत ३८ अर्ब २९ करोड रुपैयाँ बाहिरिएको छ । अध्ययनका लागि बाहिरिने रकमको वार्षिक औषत वृद्धिदर ३३.७८ प्रतिशत छ ।
चित्र ३: एक दशकको अवधिमा वैदेशिक अध्ययनका लागि बाहिरिएको रकम र वृद्धिदर
श्रोतः Current Macroeconomic and Financial Situation, Various Years, Nepal Rastra Bank
विद्यार्थीमा विदेशको मोह
शैक्षिक गुणस्तर कायम गर्न सक्ने अवस्थामा मात्र विदेशी विश्वविद्यालय वा सम्बद्ध शैक्षिक संस्थाहरूलाई नेपालमा कार्यक्रम चलाउने स्वीकृति दिने र नेपालका विश्वविद्यालयहरूमा सञ्चालन नभएका, नयाँ प्रविधिसम्बद्ध विषयका कार्यक्रमहरू विदेशी विश्वविद्यालयसँग सम्बन्धनमा नेपालमा सञ्चालन गरी नेपाललाई विश्वस्तरीय शिक्षा प्रदान गर्ने शैक्षिक केन्द्र बनाउने राष्ट्रिय शिक्षा नीति २०७६ मा उल्लेख छ । नेपालमा आर्थिक वर्ष २०२२÷०२३ मा १४ लाख ६५ हजार विद्यार्थीले उच्च माध्यामिक तथा विश्वविद्यालय शिक्षा लिइरहेका छन् । उनीहरुमध्ये ४९.५ प्रतिशत कक्षा ११ र १२ का छन् भने ५०.५० प्रतिशत विद्यार्थी विश्वविद्यालय तहका हुन् । नेपालमा ११ वटा विश्वविद्यालय र ४ वटा प्रतिष्ठानले विभिन्न संकायमा उच्च शिक्षा उपलब्ध गराउँदै आएका छन् ।
यसको अलवा विदेशी विश्वविद्यालयबाट सम्बन्धन लिएर कक्षा संचालन गरिरहेका क्याम्पस ५९ वटा छन् । राष्ट्रिय शिक्षा नीति २०७६ ले स्वदेशका विश्वविद्यालयमा अध्यापन नहुने विषयलाई वाहिरि विश्ह्वविद्यालयको सम्बन्धन लिएर भएपनि स्वदेशमै उच्चशिक्षा दिनुपर्नेमा जोड गरेको छ । तर, अध्ययनका लागि विदेश गएका विद्यार्थीहरुले पढ्ने विषय नेपालमै सहज रुपमा पठनपाठन हुँदै आएको छ । वैदेशिक अध्ययनका लागि अनुमति लिएकाहरुमध्ये धेरै विद्यार्थीले आइटी, व्यवस्थापन, मेडिकल साईन्स् तथा विज्ञान सम्बद्ध विषय पढ्ने उल्लेख छ । जुन विषयहरु नेपालमा रहेका विश्वविद्यालयले पढाउँदै आएका छन् । विदेशी विश्वविद्यालयसंग सम्बन्धन लिएका क्याम्पसहरुले पढाउने अधिकांश विषय र पाठ्यक्रम नेपालका विश्वविद्यालयले संचालन गरिसकेका छन् । यसले पनि नेपाली विद्यार्थीको विदेश रोजाई अध्ययनका लागि मात्रै हो भन्न सकिने अवस्था छैन् । काम गर्दै– पढ्दै–गर्न पाईने र नेपालमा भन्दा बढी आम्दानी समेत गर्न सकिने भएकोले विद्यार्थीको रोजाईमा विदेशका विश्वविद्यालय परेका छन् । नेपालमा राम्रोसंग पढाई नहुने, समयमा परीक्षा र नतिजा नआउँदा लामो समयसम्म एउटै तहमा रहनुपर्ने बाध्यताले पनि विद्यार्थीको स्वदेशी शिक्षामा रुची घटेको विष्लेषण गरिँदै आइएको छ । उच्च शिक्षा प्रतिस्पर्धी, उत्पादनमुखी र अनुसन्धानमूलक हुन नसकेको राष्ट्रिय शिक्षा नीति २०७६ ले नै स्वीकारेको छ ।
पछिल्लो समय नेपालमा १२ कक्षा पास गरेपछि उच्च शिक्षा अध्ययनका लागि विदेश जानैपर्ने संस्कारकै रुपमा विकास हुँदै आएको छ । समाज तथा घरपरिवारको दवाव,साथीभाइको सरसंगत र देखासिकीले पनि नेपाली विद्यार्थी वैदेशिक अध्ययनतर्फ तानिएका हुन् ।
भविष्यमा पार्न सक्ने प्रभाव
अहिलेको विश्वव्यापीकरणमा मानिसको गतिशिलता बढेको छ । एक ठाउँबाट अर्को ठाउँमा सथानान्तरण हुने क्रमले तिव्रता पाएको छ । विश्व साँधुरो बनेको छ । यस हिसाबले हेर्दा अध्ययनका लागि विदेश जानु नयाँ मानिदैन । तर, यसले पार्ने आर्थिक र सामाजिक असरबारे भने चर्चा गर्नु जरुी छ । अध्ययनका लागि ठुलो मात्रामा रकम बाहिरिने हुँदा त्यसले विदेशी मुद्रा संचयमा चाप पर्नसक्छ । भुक्तान सन्तुलन असन्तुलित बन्नसक्छ ।
अर्कोतर्फ युवा पलायनले गति लिँदै गएको खण्डमा पुस्तान्तरमा समस्या बढ्न सक्छ । वैदेशिक अध्ययनका नाममा युवा देशबाट बाहिरिँदा एक पुस्ताबाट अर्को पुस्ताको दूरी र सम्बन्ध टाढा बन्दै गएको छ । सचेत र क्षमतावान युवा बाहिरिँदाको परिणाम गाउँघरमा देखापर्न थालिसकेका छन् । नेपालका कतिपय ग्रामीण क्षेत्रमा विकास पुगेको छ तर, त्यसको उपयोग गर्ने जनशक्ति छैन । यसले राज्यको श्रोत परिचालनमा समस्या भएको छ । मानव पुँजी बाहिरिँदा त्यसले भविष्यमा जोखिम निम्त्याउन सक्नेतर्फ विज्ञहरुले सचेत गराउँदै आएका छन् । सरकारले वर्षेनी शिक्षा क्षेत्रमा बजेट बढाउँदै ल्याएको छ । चालु आर्थिक वर्षमा २ खर्ब ३ अर्ब ६६ करोड रुपैयाँ शिक्षा, विज्ञान तथा प्रविधिको क्षेत्रमा खर्चिने लक्ष्य लिएको छ । विद्यार्थीको अध्ययनका लागि राज्यबाट ठूलो रकम लगानी हुने तर प्रतिफल आउने बेला विद्यार्थी देशबाट बाहिरिने गर्दा लगानीको समुचित उपयोग हुन सक्दैन ।
वैदेशिक अध्ययनका सकारात्मक पाटो पनि छन् । विदेशी ज्ञान र सीप आर्जन गरी युवा विद्यार्थीले विश्वबजारमा आफुलाई प्रतिष्पर्धात्मक बनाउन सक्छन् । विदेशी सीप र ज्ञानको स्वदेशमा उपयोग गर्न सकिन्छ । त्यसका लागि सरकारले वातावरण बनाउन सक्नुपर्छ । वैदेशिक आर्जनबाट उपलब्ध ज्ञान, सीप र पुँजी नेपालको विकासमा सदुपयोग गर्ने अवसर प्राप्त हुन्छ ।
निष्कर्ष
विद्यार्थीलाई वैदेशिक अध्ययनमा जान कसैले रोक्न सक्दैन, मिल्दैन पनि । विश्व एउटै शहर बन्दै गएको अहिलेको अवस्थामा जो कोहीले आफुले चाहेको ज्ञान सीप, जहाँकहिँबाट प्राप्त गर्न सक्छ । सवाल यतिमात्रै हो कि वैदेशिक अध्ययनमा विद्यार्थीको आकर्षण किन बढिरहेको छ । यसमा खोजी गर्नुपर्छ । गुणस्तरीय शिक्षा र रोजगारीको सुनिश्चितता गरी विद्यार्थीलाई स्वदेशमा नै रहने वातावरण बनाउनुपर्छ । वैदेशिक अध्ययनमा सिकेका ज्ञान, सीप र पुँजी स्वदेशको विकासमा उपयोग गर्ने नीति राज्यले लिनुपर्छ । विज्ञान र प्रविधिका क्षेत्रमा भइरहेका नविनतम प्रयोगहरु विश्वविद्यालय शिक्षामा प्रयोग गरी शिक्षा प्रणालीलार्ई आधुनिक र वैज्ञानिक बनाउन सक्नुपर्छ । विश्वविद्यालयबाट आर्जन गरेको ज्ञान र सीप अनुरोपको स्वदेशमा रोजगारीको सुनिश्चितता गर्न सक्नुपर्छ ।