Please wait ..
menu
Content
menu

विवाह गर्ने न्यूनतम उमेरको लेखोजोखो

संयुक्त राष्ट्रसंघको मानव अधिकारसम्बन्धी विश्वव्यापी घोषणाको धारा १६ ले विवाहलाई मानव अधिकारको रूपमा स्थापित गरेको छ। विवाहलाई महिला र पुरुषको निजि मामिला र स्वतन्त्र निर्णय गर्न पाउने जीवनको महत्वपूर्ण घटनाको रूपमा लिने गरिन्छ।समाज, परिवेश र समयअनुसार विवाहसम्बन्धी विभिन्न मान्यता र संस्कार रहेका छन् । यीनै मान्यता अन्तर्गत विवाह गर्ने न्यूनतम उमेर पनि एउटा अवयव हो। उमेर नपुगी गरिने विवाह अर्थात् बालविवाहलाई यूनिसेफले १८ वर्ष मुनिका बालबालिकाले कुनै वयस्क व्यक्ति वा अर्को बालक बालिकासँग गर्ने विवाह वा एकीकरण भनी परिभाषित गरेको छ। बालविवाह विश्वव्यापी रुपमा समाजमा विद्यमान एक सामाजिक कुरीति हो। संसारभर नै यस्तो अभ्यास रहेको पाइन्छ। औसतमा २० देखि २४ वर्ष उमेर समूहका प्रत्येक पाँच जना महिलामध्ये एकजनाले १८ वर्ष उमेर पुरा गर्नु अगावै विवाह गरेको देखिन्छ भने प्रत्येक ३० जना पुरुषमध्ये एक जनाले बालविवाह गरेको यूनिसेफको तथ्याङ्कले देखाउँछ ।

डा. हेमराज रेग्मी, ऋषि राम सिग्देल Share source October 01, 2024

"कानूनी व्यवस्था एकातिर, उमेर नपुगेका बेहुलाबेहुली बोकी विवाहको मण्डपतिर ! "

"कानूनी कुरो एकातिर, उमेर न सुमेर बिहेको मण्डपतिर"

१. विषय प्रवेश

विवाह नामक संस्था मानिसले व्यवस्थित बसोबास मार्फत जीवनयापन गर्न शुरू गरेको समयदेखि नै अस्तित्वमा आएको हुनुपर्छ। पहिलो अभिलिखित विवाह भने मेसोपोटामिया कालको २३५० बि.सि.मा भएको विवाहलाई मानिन्छ (The Week, 2015) । विवाहलाई विभिन्न समय र स्थानमा विभिन्न तरिकाले परिभाषित गरेको पाइन्छ। Royal Anthropological Institute of Great Britain and Ireland ले सन् १९५१ मा प्रकाशन गरेको Notes and Queries on Anthropology (sixth edition) पुस्तकमा विवाहलाई देहायबमोजिम परिभाषित गरेको छः "Marriage is a union between a man and a woman such that children born to the woman are the recognized legitimate offspring of both partners" (Royal Anthropological Institute of Great Britain and Ireland, 1951). यही परिभाषाको पृष्ठभूमीमा विभिन्न समयमा विभिन्न विद्वानहरूले विवाहलाई  थप परिभाषित गर्ने गरेको देखिन्छ [हे. Doda (2005) Verdon (1981), Siemens (n.d.)]। विवाहलाई कसैले महिला र पुरुषबीचको लैङ्गिक एकीकरण भनेका छन् भने कसैले पुरुषको महिलामाथिको कानूनी अधिकारसम्म भनेका छन्। जसले जे भनेर परिभाषित गरे तापनि समग्रमा विवाह एउटा त्यस्तो सामाजिक संस्था हो, जसले महिला र पुरुषबीचको सम्बन्धलाई कानूनी हैसियत प्रदान गरी जन्मेका  सन्तानको बाबु तथा आमा कायम गर्दछ। विवाहले सामाजिक सम्बन्ध स्थापित गर्दै अधिकार र दायित्व बोध समेत गराउँदछ। पछिल्लो समयमा विवाह महिला र पुरुषबीच मात्र नभई महिला महिलाबीच वा पुरुष पुरुषबीच वा तेस्रो लिङ्गीबीच समेत हुन सक्छ भन्ने अवधारणा विकास भएको पाइन्छ। अर्कोतर्फ, विवाह नामक संस्थाको विकल्पमा जानुपर्छ भन्ने स्वर पनि गुञ्जिन थालेको पाइन्छ। यद्यपी यस लेखको मूल उद्देश्य महिला र पुरुषबीच हुने विवाह गर्दाको उमेरको बारेमा चर्चा गर्नु रहेकोले अन्य विषयलाई थप तन्काइएको  छैन। अतः यस लेखमा उमेर नपुगी गरिने विवाहको बारेमा लेखोजोखो गर्नेगरी सामयिक वस्तुस्थितिको विश्लेषण र चर्चा गर्ने जमर्को गरिएको छ। संयुक्त राष्ट्रसंघको मानव अधिकारसम्बन्धी विश्वव्यापी घोषणाको धारा १६ ले विवाहलाई मानव अधिकारको रूपमा स्थापित गरेको छ । 1   

। विवाहलाई महिला र पुरुषको निजि मामिला  र स्वतन्त्र निर्णय गर्न पाउने जीवनको महत्वपूर्ण घटनाको रूपमा लिने गरिन्छ। तर समाज निर्माण र यसको व्यवस्थापनमा विवाह संस्थाले प्रमुख भूमिका खेल्ने हुनाले यससम्बन्धमा समाजले विधि र प्रक्रिया समेत  तय गर्दछ। समाज, परिवेश र समयअनुसार विवाहसम्बन्धी विभिन्न मान्यता र संस्कार रहेका छन् । यीनै मान्यता अन्तर्गत विवाह गर्ने न्यूनतम उमेर पनि एउटा अवयव हो ।

उमेर नपुगी गरिने विवाह अर्थात् बालविवाहलाई यूनिसेफले १८ वर्ष मुनिका बालबालिकाले कुनै वयस्क व्यक्ति वा अर्को बालक बालिकासँग गर्ने विवाह वा एकीकरण भनी परिभाषित गरेको छ। बालविवाह विश्वव्यापी रुपमा समाजमा विद्यमान एक सामाजिक कुरीति हो। संसारभर नै यस्तो अभ्यास रहेको पाइन्छ। औसतमा २० देखि २४ वर्ष उमेर समूहका प्रत्येक पाँच जना महिलामध्ये एकजनाले १८ वर्ष उमेर पुरा गर्नु अगावै विवाह गरेको देखिन्छ भने प्रत्येक ३० जना पुरुषमध्ये एक जनाले बालविवाह गरेको यूनिसेफको तथ्याङ्कले देखाउँछ (unicef, 2023)। उमेर नपुगी गरिने विवाहले मानसिक, जैविक, आर्थिक, सामाजिक तथा राजनीतिक समस्या सिर्जना गर्दछ। उमेर नपुग्दै विवाह गर्दा दम्पत्तिबीच असमझदारी सिर्जना हुन सक्छ। जीविकोपार्जनका लागि आय आर्जन गर्ने तथा अध्ययन कार्यमा बाधा सिर्जना हुन सक्छ। सानै उमेरदेखि बच्चा जन्माउने प्रक्रियाले आमा र शिशुको स्वास्थ्यमा प्रतिकुल प्रभाव पार्नुका साथै जनसङ्ख्या व्यवस्थापनमा चुनौती सिर्जना हुन सक्छ। उमेर नपुगी गरिएको विवाह स्वास्थ्य समस्याको प्रमुख कारणको रूपमा उल्लेख गर्दै विश्व स्वास्थ्य संगठनले पनि कम्तिमा १८ वर्ष पुरा गरेपछि मात्र विवाह गर्ने सुझाव प्रस्तुत गरेको छ (WHO, 2011)  । बालविवाहको संवेदनशीलतालाई मध्यनजर गर्दै संयुक्त राष्ट्र संघले अनुमोदन गरेको दिगो विकास लक्ष्य ५ अन्तर्गत बालविवाहसँग सम्बन्धित सूचक समावेश गरी सो को नियमित अनुगमन गरिंदै आएको छ। यही लक्ष्य अन्तर्गत नेपालले सन् २०३० सम्ममा हासिल गर्ने गरी दुई ओटा सूचक तय गरेको छ। पहिलो सूचकमा १५ वर्ष अगावै विवाह भएका वा जोडी भई बसेका २० देखि २४ वर्षका महिलाको प्रतिशत सन् २०३० सम्ममा शून्यमा पुर्याउने र दोस्रो सूचकमा १५ देखि १९ वर्षका विवाहित वा जोडी भई बसेका महिलाको प्रतिशत ४.१ पुर्याउने लक्ष्य राखेको छ। यी सूचक सन् २०१९ मा क्रमशः १.५ प्रतिशत र १८ प्रतिशत रहेको छ। 2 यी सूचक पुरुषको विवाह गर्ने उमेरको सन्दर्भमा भने मौन रहेको देखिन्छ।


२. नेपालमा उमेर नपुगी गरिने विवाहसँग सम्बन्धित कानूनी व्यवस्था

विवाह नामक संस्थालाई विधिवत व्यवस्थित गर्न नेपालमा कानून निर्माणको शुरूवाति चरणदेखि नै यससम्बन्धी प्रावधान समावेश गरिएको पाइन्छ। कानूनले तत्कालिन समाजको चालचलन र संस्कार समेतलाई मध्यनजर गर्ने हुनाले नेपालको पहिलो कानून, सम्वत् १९१० को मुलुकी ऐनमा तागाधारी गैरजातका छोरी विवाह गर्दा ५ वर्ष नपुगेका कन्या कसैले विवाह गर्न नहुने विषय उल्लेख छ। यस ऐनमा ३० महिना नपुगेका कन्या विवाह गर्नेलाई कानूनबमोजिम सजाय तोकेको देखिन्छ । त्यसैगरी, तागाधारी जातका ३० महिना नाघेका र ५ वर्ष मुनिका कन्या विवाह गरिदिनेलाई दण्ड गर्नु भन्ने व्यवस्था गरेको पनि पाइन्छ।3 विवाह गर्ने उमेरलाई व्यवस्थित गर्ने हेतुले मुलुकी ऐन २०२० (एघारौं संशोधन, २०५८) को महल १७ को बुँदा २ मा संरक्षकको मञ्जुरी भए १८ वर्षमा र मञ्जुरी नभए २० वर्ष नपुगी विवाह गर्न गराउन नहुने विषय उल्लेख गरेको पाइन्छ। यस कसुरको सजायँको सन्दर्भमा भने महिलाको उमेर अनुसार सजायँ तोकेको पाइन्छ भने पुरुषको हकमा एउटा मात्र सजायँ तोकेको देखिन्छ।4

संघीय शासन व्यवस्था सञ्चालनमा आएपछि तर्जुमा गरिएको मुलुकी देवानी संहिता तथा मुलुकी अपराध संहितामा विवाह गर्ने उमेर सम्बन्धी विषयलाई थप परिष्कृत गरेको देखिन्छ। यी ऐनहरू मुलुकी ऐनलाई विस्तापित गर्न तर्जुमा गरिएका कानून हुन्। जस अन्तर्गत मुलुकी देवानी संहिता  २०७४ भाग ३ को दफा २ (ङ) नाबालकको परिभाषा उल्लेख गर्दै १८ वर्ष पुरा नभएकालाई बालबालिका सम्झनु पर्दछ भनेको छ। त्यसैगरी यस ऐनको दफा ३२ (१) मा १८ वर्ष पुरा भएका व्यक्तिलाई बालिग भएको मानिने र सक्षमता प्राप्त गर्ने विषय उल्लेख छ। यही दफाको उपदफा २ मा सक्षम व्यक्तिले कानूनको अधिनमा रही जुनसुकै अधिकार उपयोग गर्न, दायित्व निर्वाह गर्न तथा कर्तव्य पालना गर्न सक्नेछ भनी व्यवस्था गरेको छ। तर दफा ७० को १(घ) मा विवाह गर्नका लागि कम्तिमा बीस वर्ष उमेर पुरा भएको हुनुपर्ने विषय उल्लेख गरेको हुनाले १८ देखि २० वर्षका बालिग व्यक्तिको अधिकार, विवाह गर्ने सन्दर्भमा कायम हुन नसकेको देखिन्छ। उमेर नपुगी गरिने विवाहलाई यस ऐनको दफा ७२ (ग) ले स्वतः बदर हुने व्यवस्था गरेको छ। अर्थात् २० वर्ष पुरा नहुँदै गरिएका सबै विवाह स्वतः बदर हुने मौजुदा कानूनी प्रावधान रहेको छ।5 मुलुकी अपराध संहिता २०७४ को दफा १७३ को उपदफा १ मा बीस वर्ष नपुगी कसैले विवाह गर्न गराउन नहुने विषय उल्लेख छ। यही दफाको उपदफा २ मा यसरी विवाह भएमा स्वतः बदर हुने विषय उल्लेख छ भने उपदफा ३ मा यसरी उमेर नपुगी विवाह गर्ने वा गराउनेलाई कसूर गर्ने व्यक्ति मानेर तीन वर्षसम्म कैद र तीस हजार रूपैयासम्म जरिवाना हुने विषय उल्लेख छ।  यही संहिताको दफा २० (ग) मा १८ बर्ष मुनिकाले दिएको मञ्जुरीलाई मञ्जुरी नमानिने विषय उल्लेख छ। त्यसैगरी, दफा २१९ को उपदफा २ मा १८ वर्ष मुनिका बालिकालाई मञ्जुरी लिएकै भएपनि करणी गरेको भएमा जवर्जस्ती करणी गरेको मानिने व्यवस्था छ। यही दफाको उपदफा ४ मा पतिले पत्नीलाई जबरजस्ती करणी गरेमा पाँच वर्षसम्म कैद हुने व्यवस्था गरेको छ। यस हिसाबले १८ वर्ष मुनिका बालिकाको जुनसुकै तरिकाले विवाह गरी शारीरिक सम्बन्ध स्थापित भएमा जबरजस्ती करणी गरेको मानिने कानुनी प्रावधान रहेको देखिन्छ।

जन्म, मृत्यु तथा अन्य व्यक्तिगत घटना (दर्ता गर्ने) ऐन, २०३३ को दफा ६क को १ मा स्वतः बदर हुने विवाहको दर्ता गर्न र सोको प्रमाण पत्र दिन नहुने बरू उपदफा २ मा यस्ता घटनाको अलग्गै अभिलेख राखी कानूनबमोजिम कारवाही गर्न सम्बन्धित निकाय वा अधिकारी समक्ष पेश गर्नुपर्ने व्यवस्था गरेको छ। बीस वर्ष उमेर पुरा नगरी विवाह गर्ने नहुने र नपाइने विद्यमान कानूनी प्रावधानको विपरित पनि नेपालमा यस्ता विवाह भइरहेको विभिन्न स्रोतका तथ्याङ्कले पुष्टि गरेको छ। पहिलो विवाह गर्ने उमेर सम्बन्धी नेपालको पछिल्लो अवस्थाको बारेमा तल चर्चा गरिएको छ।


३. नेपालमा उमेर नपुगी गरिने विवाहको पछिल्लो अवस्था

राष्ट्रिय जनगणना २०७८ अनुसार नेपालमा बसोबास गर्ने १० देखि १९ वर्षका कुल ५८,७५,५७७ व्यक्ति मध्ये २,८१,०३० जना (४.८%) विवाहित रहेको देखिन्छ (अनुसूची १, चित्र १)। जसमध्ये पुरुष दुई प्रतिशत र महिला ७.६ प्रतिशत रहेका छन्। अर्थात्, नेपालमा हालसम्म पनि करिब पाँच प्रतिशत विवाह उमेर नपुगी हुने गरेको छ र त्यो मध्ये पनि महिलाको हिस्सा ज्यादै ठूलो छ। प्रदेशगत रूपमा हेर्दा उमेर नपुगी विवाह गर्ने व्यक्तिको सबैभन्दा धेरै प्रतिशत कर्णाली (७.९%) मा र सबैभन्दा कम प्रतिशत बागमती (३.४%) मा रहेको देखिन्छ (चित्र १)। जिल्लाहरूमा उमेर नपुगी भएको विवाहको सबैभन्दा धेरै प्रतिशत रूक्कुम (पूर्व ८.८%, पश्चिम ८.७७%) मा र सबैभन्दा कम प्रतिशत काठमाडौँ (१.८%) मा रहेको देखिन्छ। लैङ्गिक रूपमा हेर्दा उमेर नपुगी विवाह गर्ने पुरुषको प्रतिशत सबैभन्दा धेरै रूक्कुम पश्चिम (५.१%) मा र सबैभन्दा कम प्रतिशत काठमाडौँ (०.७%) मा रहेको देखिन्छ। त्यसैगरी, उमेर नपुगी विवाह गर्ने महिलाको प्रतिशत सबैभन्दा धेरै सुर्खेत (१२.७९%) मा र सबैभन्दा कम प्रतिशत काठमाडौँ (३.१%) मा रहेको देखिन्छ (अनुसूची १)। कानूनी आँखाबाट यी सबै विवाह बदर योग्य हुन्।

चित्र १: १० देखि १९ वर्षका विवाहित व्यक्तिको प्रतिशत

स्रोतः राष्ट्रिय जनगणना, २०७८

नेपालको मौजुदा कानूनले १८ वर्षभन्दा कम उमेरका व्यक्तिलाई बालबालिका मानेको छ। उक्त उमेर समूहका बालिकाले मञ्जुरी दिए तापनि कानूनत मञ्जुरी मान्न नसकिने अवस्थालाई हेर्दा १८ वर्ष मुनि गरिएका विवाह र त्यसपछिका शारीरिक सम्बन्ध सबै जबरजस्ती करणी अन्तर्गत पर्दछन्। राष्ट्रिय जनगणना २०७८ ले हाल १० देखि १७ वर्ष उमेर भएका देशभरका कुल ४६,६३,८७३ जनामध्ये १,९२,१०४ (४.१२%) जनाले १८ वर्ष नपुग्दै विवाह गरेको देखाएको छ। जसमध्ये पुरुष ३५,३७३ (१.४९%) जना र महिला १,५६७,३१ (६.८६%) जना रहेका छन्। विवाह भए लगत्तै शारीरिक सम्बन्ध स्थापित भएको मान्ने हो भने १,५६७,३१ जना बालिका कानूनत वैवाहिक जबरजस्ती करणीको शिकार भइरहेका छन्। देशका सात प्रदेशमध्ये १८ वर्ष मुनिको बालविवाह सबैभन्दा धेरै मधेश प्रदेशमा (४७,३४७ जना) रहेको देखिन्छ भने तुलनात्मक रूपमा १८ वर्ष मुनिको बालविवाह सबैभन्दा कम गण्डकी प्रदेशमा (१५,१०० जना) रहेको देखिन्छ। सबै प्रदेशहरूमा १८ वर्ष उमेर नपुग्दै विवाह गर्नेमा बालकभन्दा बालिकाको सङ्ख्या अति उच्च रहेको देखिन्छ (चित्र २)। यस हिसाबले बालिकाहरू बालविवाह र तत्पश्चातको जबरजस्ती करणीको प्रमुख शिकार भएको पुष्टि हुन्छ।

चित्र २: १० देखि १७ वर्षका विवाहित बालबालिकाको जनसङ्ख्या

स्रोतः राष्ट्रिय जनगणना, २०७८

(नोटः चित्र २ मा प्रस्तुत आँकडामा पहिलो विवाह गर्दाको उमेर उल्लेख नगरेका व्यक्तिको सङ्ख्या समावेश गरिएको छैन।)


४. उमेर नपुगी गरिने विवाहको असर

दुई व्यक्तिबीचको सम्बन्ध स्थापित गर्ने संस्था हुनुका अतिरिक्त विवाहका आर्थिक, सामाजिक तथा राजनीतिक असर र प्रभाव रहेका हुन्छन्। पारिवारिक संरचना खडा गरेर मानव सृष्टिको निरन्तरता सहित सभ्य समाज निर्माणमा विवाहले ठूलो भूमिका निर्वाह गरेको हुन्छ। तर उमेर नपुगी गरिने विवाहका भने वर्गेल्ती अवगुणहरू छन्। जसमध्ये सबैभन्दा संवेदनसिल विषय स्वास्थ्य हो। बालविवाह भएपश्चात हुने गर्भधारण र यसबाट सिर्जित हुने जटिल स्वास्थ्य समस्याले व्यक्ति, परिवार, समाज र राष्ट्रलाई ठूलो चुनौती खडा गरिदिएको छ। स्वास्थ्य सेवा विभागको वार्षिक प्रतिवदेनबमोजिम आर्थिक वर्ष २०७९/८० मा गर्भवती आमाहरूले पहिलो पटक गर्भजाँच गर्न आएका कुल ७,१२,२१३ जनामध्ये ७९,९५८ (११.२%) जना २० वर्ष मुनिका रहेको देखिन्छ। विगत सात वर्षको तथ्याङ्क केलाउँदा बीस वर्ष उमेर नपुगी गर्भवती हुने आमाहरूको  हिस्सामा क्रमिक रूपमा कमी आउँदै गएको देखिन्छ (चित्र ३)। यद्यपी यी तथ्याङ्क प्रशासनिक अभिलेखमा आधारित भएको हुनाले स्वास्थ्य संस्थाको दायरा बाहिरको सबै आँकडा प्रस्तुत भएको हुदैन। त्यसैगरी, गर्भाधान गरेका तर गर्भजाँच नगराई गर्भपतन गराएका समूहको पनि यो तथ्याङ्कमा प्रतिनिधित्व छैन। अतः चित्र ३ मा प्रस्तुत तथ्याङ्कले मात्र उमेर नपुगी गर्भाधान गर्ने महिलाको वास्तविक अवस्था चित्रण नभएको हुन सक्छ। अर्कोतर्फ, २० वर्ष उमेर नपुगी गर्भाधान गर्न नहुने विषयको गाम्भिर्यतालाई मध्यनजर गर्दा यो किसिमको प्रतगिलाई सन्तोषजनक मान्न सकिने अवस्था पनि देखिंदैन।

चित्र ३: पहिलो गर्भजाँच गर्ने गर्भवतीमध्ये २० वर्ष मुनिका महिलाको प्रतिशत

स्रोतः स्वास्थ्य सेवा विभाग, विभिन्न वर्षका वार्षिक प्रतिवेदन

राष्ट्रिय जनगणना, २०७८ सँगै गरिएको मातृ मृत्युसम्बन्धी अध्ययन अन्तर्गत विश्लेषण गरिएका कुल ६११ मातृ मृत्युमध्ये ६३ (१०.३%) जना १५ देखि १९ वर्षका रहेको देखिन्छ (तालिका १)। यो तथ्याङ्कले उमेर नपुगी गरिने विवाह र त्यसबाट सिर्जित गर्भसम्बन्धी समस्या कति भयावह हुन्छ भन्ने विषय समेत चित्रण गर्दछ।

तालिका १: उमेर र अवस्थाअनुसारको मातृ मृत्यु

उमेर समूह

गर्भावस्थामा भएको मृत्यु

बच्चा जन्माउँदा भएको मृत्यु

सुत्केरी अवस्थामा भएको मृत्यु

जम्मा

सङ्ख्या

प्रतिशत

सङ्ख्या

प्रतिशत

सङ्ख्या

प्रतिशत

सङ्ख्या

प्रतिशत

१५ देखि १९ वर्ष

२५

१२.६

५.६      

३६

९.६

६३

१०.३

२० देखि ३४ वर्ष

१४४

७२.४

३१

८६.१

२८३

७५.३

४५८

७५

३५ देखि ४९ वर्ष

३० 

१५.१  

८.३

५७

१५.२

९०

१४.७

जम्मा

१९९

१००.०

३६

१००.०

३७६

१००.०

६११

१००.०

स्रोतः राष्ट्रिय जनगणना, २०७८, (https://censusnepal.cbs.gov.np/results/downloads/national)


५. विवाह गर्ने न्यूनतम उमेर र यसका निर्धारक तत्वहरु

व्यक्तिको नितान्त निजि मामला भए तापनि विवाह गर्ने उमेरको पछाडि कैयौं तत्वहरूले प्रत्यक्ष वा अप्रत्यक्ष प्रभाव पारिरहेका हुन्छन्। उमेर नपुगी विवाह गर्न हुदैन भन्ने ज्ञान प्राप्त गरी कार्यान्वयन गराउने प्रमुख भूमिका समाजको चेतना र शैक्षिक अवस्थाले खेलेको हुन्छ। व्यक्तिको आर्थिक अवस्था, समाजमा प्रचलित परम्परा, धर्म, संस्कृती, परिवारको चाहना, श्रमशक्तिको आवश्यकता जस्ता विषयले विवाह गर्ने उमेरलाई प्रभाव पारिरहेका हुन्छन्। यीमध्ये एउटा महत्वपूर्ण तत्व शैक्षिक स्तर भएकोले उमेर नपुगी विवाह गर्ने व्यक्तिको प्रतिशत र साक्षरता दरबीचको सहसम्बन्धको अवस्था तालिका २ मा प्रस्तुत गरिएको छ। प्रस्तुत तथ्याङ्कले उमेर नपुगी विवाह गर्ने व्यक्तिको प्रतिशत र साक्षरता दरबीच ऋणात्मक सम्बन्ध देखाएको छ।यसको अर्थ, साक्षरता बढ्दा उमेर नपुगी विवाह गर्ने व्यक्तिको प्रतिशत घट्दै जान्छ भन्ने हो। यो सहसम्बन्धले यी दुई चरबीच विपरित दिशाको परिवर्तनको  संकेत त गरेको छ तर परिमाणात्मक रूपमा यो सहसम्बन्ध ज्यादै कमजोर देखिन्छ। सहसम्बन्धले दुई चरबीचको सम्बन्धको स्तर स्पष्ट व्यक्त गर्न नसके तापनि -१ भन्दा टाढा भएका कारण यो सहसम्बन्ध कमजोर अवस्थामा छ भन्न सकिन्छ। महिलाको सन्दर्भमा त यो सहसम्बन्ध न्यादै नै नगण्य (-०.०८) रहेको देखिन्छ। यसबाट नेपालको शिक्षा प्रणालीले विवाह गर्ने न्यूनतम उमेर बढाउनमा ठूलो र प्रमुख भूमिका खेल्न सकेको देखिंदैन।

तालिका २: १० देखि १९ वर्षका विवाहित व्यक्तिको प्रतिशत र साक्षरता दरबीचको सहसम्बन्ध

सूचक

जम्मा साक्षरता दर

पुरुष साक्षरता दर

महिला साक्षरता दर

जम्मा (१० देखि १९ वर्षका विवाहितको प्रतिशत)

-०.१३

 

 

पुरुष (१० देखि १९ वर्षका विवाहितको प्रतिशत)

 

-०.१७

 

महिला (१० देखि १९ वर्षका विवाहितको प्रतिशत)

 

 

-०.०८

स्रोतः राष्ट्रिय जनगणना, २०७८ को प्रतिवेदनका आधारमा ७७ जिल्लाका तथ्याङ्कबाट निकालिएको।


६. उपसंहार

विवाह एउटा यस्तो संस्था हो, जसले मानव सृष्टिलाई  निरन्तरता दिनुका साथै महिला र पुरुषबीचको सम्बन्धलाई युगौंयुगदेखि हालसम्म जीवन्त राख्न मदत गरेको छ। विवाहलार्इ व्यक्तिको स्वतन्त्रतासँग जोडेर हेरिए तापनि यसले समाजसँग अन्योन्याश्रित सम्बन्ध राख्छ। आर्थिक, सामाजिक तथा राजनीतिक आयामसँगै विवाहले जनसाङ्ख्यिक व्यवस्थापन समेतमा सरोकार राख्दछ। यस अन्तर्गतको एउटा महत्वपूर्ण विषय विवाह र विवाहित दम्पत्तिको स्वास्थ्य अवस्था भएको हुनाले यस लेखमा विवाह गर्न उपयुक्त हुने न्यूनतम उमेर र उमेर नपुगी विवाह गर्दाको भयावह अवस्थाको लेखोजोखो गरिएको छ। नेपालको सन्दर्भमा मौजुदा कानूनले २० वर्ष पुरा नगरी विवाह गर्न नहुने व्यवस्था गरेको भए तापनि व्यवहारत यसको कार्यान्वयन निकै चुनौतीपूर्ण देखिएको छ। उमेर नपुगी विवाह गर्ने चुनौतीलाई विश्वले नै सामना गरिरहेको सन्दर्भमा विश्व स्वास्थ्य संगठन लगायतका अन्तराष्ट्रिय संगठनहरूले कम्तिमा १८ वर्ष पुरा गरेर मात्र विवाह गर्न सुझाएको पाइन्छ। अन्तराष्ट्रिय सुझावभन्दा पनि एक कदम अगाडि बढेर विवाह गर्ने न्यूनतम उमेर २० वर्ष कायम गरिएकोले पनि यसको कार्यान्वयनमा कठिन भएको हुनसक्छ। यद्यपी, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रयासका बाबजुद पनि विवाह गर्ने न्यूनतम उमेरमा उल्लेख्य प्रगति हासिल हुन नसक्नुमा समाजमा विद्यमान चेतनाको स्तर, परम्परा, धर्म, संस्कृती, आर्थिक अवस्था लगायतका तत्वहरू जिम्मेवार छन्। अतः नेपालमा पहिलो विवाह गर्दाको उमेरको निर्धारक तत्वहरूका बारेमा थप अध्ययन, अनुसन्धानबाट ठोस सुझाव पेश गर्नुपर्ने आवश्यकता देखिन्छ।


स्रोतः 

[1] https://www.un.org/en/about-us/universal-declaration-of-human-rights 

[2] https://npc.gov.np/images/category/231120105017SDG%20%20Indicators_16%20Aug%202023%20updated.pdf

[3] https://lawcommission.gov.np/np/wp-content/uploads/2021/08/ मुलुकी-ऐन-१९१०.pdf

[4] https://www.lawcommission.gov.np/np/wp-content/uploads/मुलुकी-ऐन-२०२०.pdf

[5] https://www.lawcommission.gov.np/np/wp-content/uploads/2021/01/मुलुकी-देवानी-संहिता-ऐन-२०७४.pdf


Explore DevNotes

View More

Explore Nepal History

View More

Explore Datasets

View More