News

अण्डामा मासिक २१ करोड घाटा

September 04, 2019

दिलीप पौडेल, नागरिक, भदौ १८, २०७६ 

काठमाडौं – उत्पादन लागतको आधारमा मूल्य नपाएकाले करोडौं रुपैयाँ क्षति बेहोर्नु परेको कुखुरापालक किसानले गुनासो गरेका छन्। प्रतिअण्डा उत्पादन लागत साढे १० रुपैयाँ पुगे पनि आठ रुपैयाँमा अण्डा बेच्नु पर्दा किसानले घाटा बेहोरेको अण्डा उत्पादक संघले जनाएको छ।

संघका अनुसार अण्डा उत्पादक कुखुरापालक किसानले अहिले मासिक करिब २१ करोड रुपैयाँ घाटा बेहोरिरहेका छन्। दैनिक २८ लाख गोटा अण्डा उत्पादन गर्दै आएकामा प्रतिगोटा साढे दुई रुपैयाँ किसानले घाटा बेहोरिरहेको संघका अध्यक्ष शिवराम केसीको भनाइ छ। यसरी हिसाब गर्दा दैनिक ७० लाख रुपैयाँ र मासिक २१ करोड रुपैयाँ घाटा हुन्छ। दाना, कामदारको ज्याला, ढुवानी, औषधिको मूल्य वृद्धि हुँदा लागत बढेको केसीले बताए। ‘गत वर्ष ४५ रुपैयाँको दाना अहिले किलोको ५६ रुपैयाँ पुगेको छ,’ केसीले भने, ‘उत्पादन लागत वृद्धि भए पनि अण्डाको भाउ बढेन।’

मुलुक अण्डामा आत्मनिर्भर छ। अण्डा आयातमा आत्मनिर्भर भइरहेको अवस्थामा आगामी आर्थिक वर्ष ०७७/७८ सम्ममा एक अर्ब ८३ करोड अण्डा उत्पादन गर्ने राष्ट्रिय योजना आयोगले मध्यकालीन लक्ष्य तयार गरको हो। पौष्टिक तत्वको रुपमा कुखुराका अण्डा प्रयोग हुने भएकाले उत्पादन पनि वृद्धि हुँदै गएको छ। कुखुरा र अण्डाको बजार विस्तार भएसँगै पोल्ट्री व्यवसायमा लगानी बढेको छ। किसानले उत्पादन गरेको कुखुराको मासु तथा अण्डाले सजिलै बजार पाएर मनग्य मुनाफा हुने आसमा लगानी गरेका भए पनि अहिले किसान निरास भएका छन्। पोल्ट्री क्षेत्रमा एक खर्ब रुपैयाँभन्दा बढी लगानी पुगेको पुगेको पोल्ट्री व्यवसायी मञ्चले जनाएको छ।

पौष्टिक तत्वको रुपमा कुखुराका अण्डा र मासुको प्रयोगको लोकप्रियतासँगै नेपालमा ‘पोल्ट्री’ व्यवसायले  फड्को मारेको छ। नेपालमा दैनिक करिब २८ लाखभन्दा बढी अण्डा उत्पादन हुने गरेको केसीले बताए। ‘हामीलाई चाहिने अण्डा स्वदेशमै उत्पादन भएको छ,’ केसीले भने, ‘अण्डामा हामी आत्मनिर्भर भइसकेका छौं।’ ह्याचरीमा नयाँ प्रविधि भित्रिएसँगै व्यापकता पाएको व्यवसायी बताउँछन्। सरकारले समेत यो व्यवसायलाई प्राथमिकतामा राखेर विभिन्न अनुदानका कार्यक्रम सञ्चालन गरेको छ।

 

अण्डा उत्पादक संघका अनुसार अण्डा उत्पादक कुखुरापालक किसानले अहिले मासिक करिब २१ करोड रुपैयाँ घाटा बेहोरिरहेका छन्।

कुखुरापालनअन्तर्गत ह्याचरीमा नयाँ प्रविधि भित्रिएसँगै यो व्यवसाय फस्टाएको हो। चितवन, नवलपरासी, झापा, काठमाडौं, धादिङ, कास्कीलगायत जिल्लामा करोडौंको लगानीमा कुखुरा फार्म सञ्चालन गर्ने लहर नै चलेको छ।

सरकारी तथ्यांकअनुसार देशभर २१ हजार नौ सय ५६ फर्म व्यावसायिक रूपमा सञ्चालित छन्। यी फर्ममध्ये ९३.२९ प्रतिशत ब्रोइलर उत्पादक, ६.९ प्रतिशत लेयर्स उत्पादक र ०.५८ प्रतिशत ह्याचरी (चल्ला उत्पादक) छन्।

पछिल्ला केही वर्षमा कुखुराको मासु र अन्डा उपभोगसमेत ह्वात्तै बढेको छ। यससँगै व्यावसायिक प्रयोजनले कुखुरापालन गर्ने क्रम पनि तीव्र छ। एक वर्षमा देशभर ६ करोड आठ लाख २६ हजार आठ सय ८० वटा कुखुरा व्यावसायिक प्रयोजनले पालिएका छन्।

नेपाल व्यावसायिक कुखुरापालन सर्वेक्षणको पछिल्लो प्रतिवेदनअनुसार किसानले एक वर्षमा कुखुराको मासु, अण्डा, चल्ला बिक्रीबाट वार्षिक ३३ अर्ब ७२ करोड ४० लाख २३ हजार रुपैयाँ कमाउँछन्। त्यसमा कुखुराबाट २० अर्ब ५२ करोड ८८ लाख ९१ हजार, अण्डाबाट नौ अर्ब १३ करोड ३७ लाख ३६ हजार, चल्लाबाट तीन अर्ब ६० करोड ७६ लाख ७४ हजार, सुली मलबाट ४५ करोड ३७ लाख २२ हजार रुपैयाँ हुन आउँछ।

किसानले ब्रोइलर पाँच करोड २६ लाख ६६ हजार २९, लेयर्स ६९ लाख आठ हजार पाँच सय ९५ र अन्य जातका १२ लाख ५२ हजार दुई सय ५५ कुखुरा पालेका छन्। तथ्यांकअनुसार सबै फार्मबाट गरी एक वर्षमा एक लाख १४ हजार ५८ मेट्रिक टन मासु उत्पादन हुन्छ। मुलुकभरका एक सय २८ ह्याचरीले एक वर्षमा आठ करोड ३३ लाख ६२ हजार चल्ला उत्पादन गरेका छन्। पछिल्ला केही वर्षयता ह्याचरी उद्योगमा मेसिनले चल्ला कोरल्न थालेपछि बोइलर्स, लेयर्स कुखुरापालन गर्नेको संख्या बढेको हो ।

ग्रामीण क्षेत्रका किसानलाई आन्तरिक खपत एवं पाहुना सत्कारका लागि ‘ग्रामीण कुखुरापालन कार्यक्रम’ सञ्चालन गर्न कुखुराका चल्ला, ह्याचरी र खोर निर्माण गर्न अनुदान उपलब्ध गराएको थियो। पोल्ट्री व्यवसायमा वार्षिक करिब एक खर्ब रुपैयाँको कारोबार हुने बताउँछन्। पोल्ट्री व्यवसायमा मेसिनले अण्डाबाट चल्ला कोरल्ने प्रविधि भित्रिएसँगै किसानले सजिलै चल्ला पाउन थालेपछि यसमा आकर्षण बढेको थियो।

स्रोत: https://nagariknews.nagariknetwork.com/news/90257/