अधिकांश बलात्कृत नाबालिग विपन्न परिवारका

July 08, 2022

कुम्भराज राई, कान्तिपुर, असार २४, २०७९

‘गरिब परिवारको भएपछि कानुनी प्रक्रियामा जान सक्दैनन् भन्ने मनोबल अपराधीहरुमा बढी देखिन्छ’

ओखलढुंगा — –मोलुङ–५ की एक १४ वर्षिया वर्षीया बालिका बलात्कृत भइन् । पीडित बालिकाकी आमा जाहेरी लिएर प्रहरी कार्यालय आउँदा आमा छोरीको हुलियाले उनको आर्थिक अवस्था झल्किन्थ्यो । आरोपित ४४ वर्षीय तारानाथ पोख्रेललाई प्रहरीले पक्राउ गरिसकेको छ । पीडितको तुलनामा पीडक आर्थिक रुपले सम्पन्न छन् ।

  • १२ वर्षीया बालिका करणी गरेको आरोपमा सिद्धिचरण नगरपालिका ३ का चार जना तीनदिन अघि पक्राउ परे । करणी गर्ने मध्ये एक जना पीडित पढ्ने विद्यालयकै प्रधानअध्यापक छन् । पीडित बालिका आर्थिक रुपमा विपन्न परिवारकी हुन् । उनका बुवाआमा अरुको जग्गामा खेती गर्छन् । प्रधानअध्यापककै खाना पकाउने काम गर्थिन् पीडित बालिका । प्रधानअध्यापकले कक्षामा प्रथम बनाईदिन्छु, छात्रवृत्ति पाउँछौ भन्ने जस्ता प्रलोभन देखाएर उनलाई करणी गरे । करणी गर्ने मध्येका अर्का ७६ वर्षिय वृद्ध फडिन्द्रप्रसाद दाहाल उनीहरुले कमाएको जग्गाका मालिक हुन् ।
  • एक महिना अघि सिद्धिचरण नगरपालिका २ ठूलाछापमा शिशु जन्माएर पानीको ट्यांकीमा फाल्ने १७ वर्षिया कुमारी आमा प्रहरी हिरासतमै छिन् । ती किशोरीसँग अवैध सम्बन्ध राख्ने युवक ट्याक्टर चालक थिए । संखुवासभा घर भई ट्याक्टर चालक काम गर्ने ती युवाले बिहे गर्ने प्रलोभनमा शारिरिक सम्बन्ध राखेका थिए । दलित समुदायकी विपन्न परिवारकी ती किशोरीले भविष्य राम्रो हुने आशा गरेकी थिइन् । तर उनले बिहे गरेनन् र अन्तमा अवैध शिशु जन्माएर ट्यांकीभित्र फाल्नुपर्‍यो ।
  • गत महिना मानेभन्ज्याङ गाउँपालिका–५ मा १७ वर्षीया नाबालिकामाथि जबर्जस्ती करणीपश्चात् हत्याको प्रयास भयो । यो घटनाकी पीडित पनि विपन्न परिवारकी हुन् । पीडकले नाबालिकालाई आफू सहरमा बस्ने भएकाले भेट नहुनेलगायतका कारण देखाएर भेट्न बोलाएर जबर्जस्ती करणी गरेको देखिन्छ । नाबालिकाहरू बलात्कारका ४ घटनाका तीन जनालाई पुर्पक्षका लागि कारागार पठाइसकेको र चार जना जिल्ला प्रहरीको हिरासतमा छन् ।

यी केही प्रतिनिधि घटना हुन्, जसमा अधिकांश पीडित आर्थिक रूपमा विपन्न र निम्न वर्गका छन् । ‘कतिपय घटनामा त नाबालिकाहरूलाई दुई/चार सय पैसा दिने, नयाँ कपडा किनिदिन्छु भनेका छन् ।’ जिल्ला प्रहरीका डीएसपी सुकदेव खनालले भने, ‘पीडकको टार्गेट धेरैजसो निम्न वर्गीय परिवारका नाबालिकाहरूमा देखिएको छ ।’

निम्न वर्गीय परिवारका सदस्य कानुनी उपचारका लागि प्रशासनसम्म जान नसक्ने, प्रलोभनमा छिटो पार्न सकिने भएकाले उनीहरू बढी आक्रमणमा परेको अनुमान गरिन्छ । ‘पहिलो कुरा त गरिबी नै हो ।’ महिला अधिकारकर्मी पेमडोमा शेर्पाले भनिन्, ‘गरिब परिवारको भएपछि उनीहरूको पहुँच हुँदैन । कानुनी प्रक्रियामा जान सक्दैनन् भन्ने मनोबल अपराधीहरूमा बढी देखिन्छ । गरिबीका कारण पैसामा बिकी हाल्छन् भन्ने मानसिकता उनीहरूमा देखिएको छ ।’ जिल्ला प्रहरी कार्यालयमा दर्ता भएका जाहेरीअनुसार आर्थिक वर्ष २०७७/०७८ मा मात्रै करणीसँग सम्बन्धित ३७ वटा उजुरी दर्ता भएका थिए । त्यसमध्ये जबर्जस्ती करणीमा २३, बाल यौन दुरुपयोगमा ५, जबर्जस्ती करणी उद्योगमा ८ र अप्राकृतिक मैथुनमा १ छन् । कुल ३७ घटनामा १९ जना पीडित १८ वर्षमुनिका नाबालिका थिए ।

त्यसैगरी चालु आवमा करणीसँग सम्बन्धित २८ वटा उजुरी दर्ता भइसकेका छन् । त्यसमध्ये जबर्जस्ती करणीमै २० वटा उजुरी दर्ता भए । करणी उद्योगमा २, बालयौन दुरुपयोगमा ५, अप्राकृतिक मैथुनमा १ छन् । मैथुन पीडित नाबालक छन् । उजुरी दर्ता भएका घटनाको कुल पीडितमध्ये १६ नाबालिका र एक नाबालक छन् ।

चालु आर्थिक वर्षको २८ वटा करणीसँग सम्बन्धित घटनामा १६ वटा करणीका घटनामा पीडित पक्ष आर्थिक हिसाबमा कमजोर रहेको प्रहरीले जनाएको छ । अधिकांश घटनामा पीडितलाई विभिन्न प्रलोभन देखाएका छन् । विपन्न वर्गका पीडितले कानुनी उपचारसम्म पुग्न सक्छन् भन्ने पीडकले अनुमान नै नगरेको देखिन्छ । उनीहरू कानुनी पहुँचमै पुग्न सक्दैनन् भन्ने सोचेर पीडकहरूले करणी गरेको देखिएको जिल्ला प्रहरीको मुद्दा शाखाका असई शिवशक्ति राईले बताए ।

स्रोत: https://ekantipur.com/pradesh-1/2022/07/08/16572446872899654.html

Explore DevNotes

View More

Explore Nepal History

View More

Explore Datasets

View More