अन्तर्राष्ट्रिय हवाई यात्रु साढे दुई लाख बढे

November 15, 2017

उत्तम काप्री, अन्नपुर्ण पोस्ट, २९ कार्तिक २०७४

काठमाडौं : त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भएर नेपाल भित्रिने र बाहिरिने हवाई यात्रुको संख्या सन् २०१७ को नौ महिनामै गत वर्षभन्दा झन्डै साढे दुई लाखले बढेको छ। यस अवधिमा २७ लाख ४८ हजार तीन सय ३८ यात्रुले त्रिभुवन विमानस्थलबाट अन्तर्राष्ट्रिय हवाई यात्रा गरेका छन्। यो संख्या अघिल्लो वर्षको सोही अवधिको तुलनामा दुई लाख ४० हजार ६ सय ६४ जनाले बढी हो। गत वर्षको जवनरीदेखि सेप्टेम्बरसम्म २५ लाख सात हजार ६ सय ७४ जना अन्तर्राष्ट्रिय हवाई यात्रुले विश्वका विभिन्न देशमा आवातजावत गरेका थिए।

यो वर्ष नेपाल भित्रिने पर्यटकको संख्या ह्वात्तै बढेकाले हवाई यात्रुको संख्या पनि बढेको छ। सन् २०१७ को १० महिनामै सात लाख ५७ हजार विदेशी पर्यटक नेपाल भ्रमणमा आएको छन्। १० महिनामा आउने विदेशी पर्यटकको संख्या पनि साढे दुई लाखको हाराहारीमा नै बढी थियो। साथै, रोजगारी तथा अध्ययनका लागि बिदेसिने नेपालीको संख्या पनि बढेपछि अन्तर्राष्ट्रिय हवाई यात्रु बढेको विमानस्थल कार्यालयका प्रवक्ता प्रेमनाथ ठाकुर बताउँछन्।

सन् २०१७ को यस अवधिमा त्रिभुवन विमानस्थल भएर बाहिरिने यात्रुको संख्या १४ लाख ८३ हजार तीन सय ७४ छ। यस्तै, सोही अवधिमा नेपाल भित्रिने यात्रुको संख्या १२ लाख ६४ हजार नौ सय ६४ रहेको छ। गत वर्षको सोही अवधिमा बाहिरिने यात्रु १२ लाख ८७ हजार ६१ जना थियो भने भित्रिने यात्रु १२ लाख २० हजार ६ सय १३ जना थियो। २०१५ मा कुल ३२ लाख १७ एक सय ६२ जना यात्रुले त्रिभुवन विमानस्थल भएर अन्तर्राष्ट्रिय हवाई यात्रा गरेको थियो। यो संख्या २०१६ मा बढेर ३५ लाख १० हजार सात सय ४२ पुगेको थियो। निरन्तर बढ्दो हवाई यात्रु सन् २०१७ को अन्त्यसम्ममा ३७ लाख को हाराहारीका पुग्ने विमानस्थल कार्यालयको अनुमान छ।


सन् २०१७ को नौ महिनामा २७ लाख ४८ हजार तीन सय ३८ यात्रुले त्रिभुवन विमानस्थलबाट अन्तर्राष्ट्रिय हवाई यात्रा गरेका छन्।

पर्यटन क्षेत्रमा आएको सुधारसँगै विदेशी पर्यटकको आगमन बढुन नै हवाई यात्रुको संख्या बढ्नु प्रमुख कारण रहेको विमानस्थल कार्यालयको भनाइ छ। नेपाली आकाश हुँदै अन्तर्राष्ट्रिय उडान भर्ने एयरलाइन्सको संख्या पनि २९ वटा भइसकेको छ। यसमा तीनवटा नेपाली कम्पनी सामेल छन्। राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम, हिमालय एयरलाइन्स र बुद्ध एयरले अन्तर्राष्ट्रिय उडान भर्दै आएका छन्। बुद्धले भारतको वनारसमा सातामा दुईवटा उडान भर्दै आएको छ। नेपालको हवाई भाडा विश्वकै महँगो पर्छ।

तर, पनि हवाई यात्रा गर्ने यात्रुको संख्या भने बढ्दै गइरहेको छ। पर्यटकीय मुलुक नेपालले आफ्नै पर्याप्त विमान उडाउन नसक्दा भाडादर विश्वकै महँगो पर्न गएको हो। नेपालबाट अन्तर्राष्ट्रिय उडानमा विदेशी कम्पनीको एकाधिकार रहेकाले ती कम्पनीले मनलाग्दी भाडा असुल्दै आएका छन् र नेपालको पर्यटन व्यवसायका लागि यो दुःखद हो। कुल एक खर्बको कारोबारमा नेपाली विमान कम्पनीले १० प्रतिशत पनि हिस्सा लिन सकेका छैनन्। ९० प्रतिशभन्दा बढी हिस्सा विदेशी एयरलाइन्स कम्पनीकै छ।

हवाई ‘मुभमेन्ट' बढ्दो

अन्तर्राष्ट्रिय हवाई यात्रुको संख्या बढेसँगै त्रिभुवन विमानस्थलमा हुने विमान अवतरण र उडानमा पनि बढोत्तरी आएको छ। सन् २०१७ को नौ महिनामा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट विश्वका विभिन्न देशमा भएको प्रस्थान र अवतरणको उडान २४ हजार दुई सय ४२ छ। यो संख्या सन् २०१६ सोहीको अवधिभन्दा पाँच हजार दुई सय ३४ ले बढी हो। गत वर्षको नौ महिनामा जम्मा १९ हजार १२ वटा अवतरण तथा उडान भएको थियो। विमानस्थलमा बढ्दो मुभमेन्टका कारण उडान तालिक मिलाउने समेत विमानस्थल कार्यालयलाई सास्ती भएको ठाकुरले बताए।

सीमित नौवटा अन्तर्राष्ट्रिय उडान भर्ने जहाज पार्किङ वेका कारण पनि विमानस्थलको उडान अझै बढ्न नसकेको ठाकुरले बताए। जति धेरै उडान बढ्दै गएको छ त्यही अनुपातमा विमानस्थल स्तरोन्नति हुन नसक्दा विमानस्थलको व्यवस्थापनमा असहज अवस्था सिर्जना भएको उनले बताए। मौसक प्रतिकूलता र पार्किङ वे समस्याका कारण कतिपय अवस्थामा भने जहाजलाई आकाशमै होल्ड गर्न पर्ने अवस्था पनि सिर्जना हुने विमानस्थल कार्यालयको भनाइ छ।

हवाई यात्रु २०१७ २०१६
महिना संख्या जनवरी ३१८८३८ २६९८५४
फेब्रअरी २६६१४३ २६६०४५
मार्च ३५३८६२ २८०१४०
अप्रिल ३५६२६२ ३०२८९२
मे ३१५३२३ २७६१८४ जुन २६२७७१ २६५६६६
जुलाई २७२५६६ २६३६५१
अगष्ट २८९१३४ २८५८३३
सेप्टेम्बर ३१३४३९ २९७४०९

स्रोत: http://annapurnapost.com/news-details/84054

Explore DevNotes

View More

Explore Nepal History

View More

Explore Datasets

View More