News

अपराध बढ्यो, कारागार भरियो

July 08, 2019

कान्तिपुर, असार २३, २०७६ 

पाँचथर — पाँचथरमा आपराधिक घटनामा वृद्धि भएसँगै कारागार कैदीले भरिएको छ । कारागारमा हत्या, बलात्कार, चोरी, मानहानी, बहुबिवाह, गालीबेइज्यती लगायतका आरोपीहरू राखिएका छन् । जिल्ला कारागार पाँचथरमा क्षमताभन्दा ६ दोब्बर कैदी राखिएको छ । २५ जनाको क्षमता भएको कारागारमा अहिले १ सय ४८ जना बन्दी पुगेका छन् ।

कारागारमा २ जना बालबालिका सहित १८ महिला र १ सय २८ जना पुरुष राखिएको छ । क्षमताभन्दा झन्डै ६ गुणा बढी कैदी कोचाकोच गरेर बस्न बाध्य छन् ।
प्रमुख जिल्ला अधिकारी मुरारी वस्ती कैदीको चाप बढेकाले अन्यत्र सरुवा गर्न खोज्दा पनि जान नमानेको बताउँछन् । यहाँका कैदीहरूले आयआर्जनका काम समेत गरेका छन् । जसका कारण उनीहरू अन्यत्र सरुवा जान नखोजेको प्रजिअ वस्तीले बताए ।
अत्यधिक कैदी भएका कारण सुत्न समस्या हुने गरेको छ । कैदीहरूको स्वास्थ्यमा समेत समस्या देखिएको छ । कारागारमा कैदीको चाप बढेसँगै भौतिक संरचना थप गर्ने तयारी गरिएको छ ।

३ सय ५० जना क्षमता भएको कारागार निर्माणका लागि आवश्यकप्रकृया अघि बढाएको वस्तीले बताए । पछिल्लो समय कैदीको चाप बढेसँगै सुरक्षालाई मध्यनजर गरी सीसी क्यामरा जडानगरिएको छ ।

स्रोत: https://www.kantipurdaily.com/pradesh-1/2019/07/08/156256037327482965.html