अब साझा यातायातमा यात्रा गर्ने बालबालिका र जेष्ठ नागरिकलाई भाडा नलाग्ने

June 27, 2017

अन्नपुर्ण पोस्ट दैनिक, १३ असार २०७४

साझा यातायातले अब ७० वर्ष उमेर पुगेका जेष्ठ नागरिकलाई निशुल्क यात्रा गराउने भएको छ। साझाले काठमाडौँ महानगरपालिकासँग गरेको सम्झौता अनुसार अब जेष्ठ नागरिकले निशुल्क यात्रा गर्न पाउने भएका हुन्। महानगरपालिकाको १५ करोड सेयर रहेको साझाले ५ वर्ष मुनिकाबालबालिकालाई पनि निशुल्क सेवा दिने भएको छ।

काठमाडौँ महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यकै उपस्थितिमा महानगरले मंगलबार एक कार्यक्रम गरी यस्तो सम्झौतामा हस्ताक्षर गरेको हो। सम्झौता अनुसार साझालाई नाफामूखी भन्दा पनि सेवामूखी संस्थाका रुपमा विकास गर्ने लक्ष्यसहित महानगरपालिकाले मंगलबार साझा सहकारीलाई ५ करोड रुपैयाँको चेक हस्तान्तरण गरेको छ।

सम्झौता अनुसार नै साझाले क र ख वर्गका अपाङ्गता भएका र अति गरिबीको परिचयपत्र प्राप्त गरेको नागरिकलाई पनि निशुल्क सेवा दिनुपर्ने छ।

‘महानगरवासीले सुरक्षित, सहज र सर्वसुलभ यातायातको अनुभूत गर्न सकून भनेर हामीले साझासँग यस्तो सम्झौता गरेका हौँ,’ कार्यक्रममा बोल्दै मेयर शाक्यले भन्नुभयो, ‘साझाले थप सेवाको योजना बनाएर हामी सहयोग गर्न तयार छौ तर, उहाँहरुको योजना नाफामूखी होइन सेवामूखी हुनुपर्छ।’

मेयर शाक्यले महानगरमा केबुलकार, मोनोरेल, मेट्रोरेल निर्माणका लागि प्रस्ताव आएको भन्दै सेवामूखी प्रस्तावलाई स्वीकार गर्ने जानकारी दिनुभयो । सुन्दर, सुरक्षित र जीवन्त सहर हाम्रो योजना हो,’ शाक्यले भन्नुभयो, ‘महानगरमा सय बढी साझा सञ्चालन गर्ने हाम्रो तयारी छ, यो सुरुवात हो ।’ उहाँले साझाले मात्र होइन अन्य निजी संस्थाहरुले पनि सहज र सर्वसुलभ सेवा दिन तयार भए महानगर सहयोग गर्न तयार रहेको बताउनुभयो । उहाँले अब राजधानी स्मार्ट सिटी बन्ने पनि जानकारी दिनुभयो । ‘स्माटकार्डको सुरुवात हामीले साझाबाट सुरु गरेको छौँ,’ उहाँले भन्नुभयो, ‘अब यो सबै ठाउँमा लागु गर्नुपर्छ ।’

स्रोत: http://annapurnapost.com/news/74164

Explore DevNotes

View More

Explore Nepal History

View More

Explore Datasets

View More