News

अर्घाखाँचीमा भित्रिन्छ साढे ७ अर्ब रेमिट्यान्स

January 22, 2019

प्रेमनारायण आचार्य, अन्नपुर्ण पोष्ट, ०८ माघ २०७५ 

सन्धिखर्क : अर्घाखाँचीमा भित्रिने रेमिट्यान्सको रकम अधिकांश विलासी र अनुत्पादक क्षेत्रमा खर्च हुने गरेको छ। जिल्लाको सक्षम जनशक्ति विदेश पलायन भएर कमाएर पठाएको पैसा उत्पादनशील क्षेत्रमा लगाउनुपर्ने भए पनि अनुत्पादक क्षेत्रमै सकिएको हो।

५ नम्बर प्रदेशको पहाडी जिल्ला अर्घाखाँची रेमिट्यान्स धेरै भित्रिने जिल्लामध्ये अग्रपंक्तिमा आउँछ। तर, त्यो पैसा उत्पादनशील क्षेत्रमा लगाउने वातावरण नहुँदा श्रम बेच्ने मानिस उत्पादन गर्ने काम मात्र भइरहेको छ।

अर्घाखाँचीबाट झन्डै ४५ हजार युवा भारत, कतार मलेसिया, साउदी अरब, दुबईलगायत देशमा गएका छन्। साथी बचत तथा ऋण सहकारी र अर्घाखाँची जिल्ला बचत तथा ऋण सहकारी संस्थाले गरेको अनौपचारिक सर्वेक्षणमा जिल्लामा भित्रिएको रेमिट्यान्सको ८० प्रतिशत रकम विलासी र अनुत्पादक क्षेत्रमा खर्च भएको देखिएको छ।

अर्घाखाँचीमा १५ बैंक र तिनका शाखा गरी २० वटा छन्। ती बैंकहरूमध्ये १८ वटाले रेमिट्यान्स कारोबार गर्छन्। विभिन्न नौवटा सहकारी र चारवटा रेमिट प्रालिले समेत रेमिट्यान्स कारोबार गरिरहेका छन्।

वार्षिक रूपमा झन्डै साढे सात अर्ब रुपैयाँ जिल्लामा भित्रिने गरेको छ। जसमध्ये तीन अर्ब अर्थात ४० प्रतिशत रकम दैनिक उपभोग्य सामग्री, खानपान, मोटरसाइकल, कार, प्युल, फेसनअनुसारका कपडा, मोबाइल, सञ्चार तथा टेलिफोनमा खर्च हुने गरेको छ।

४० प्रतिशत अर्थात तीन अर्ब रकम अनुत्पादक क्षेत्र अर्थात घडेरी र घरखर्चमा हुने देखिएको अर्घाखाँची जिल्ला बचत सहकारी संस्थाका अध्यक्ष तथा साथी बचत तथा ऋण सहकारीका कार्यकारी निर्देशक प्रकाश भुसालले बताए। उनले भने, ‘जिल्ला सदरमुकाम, कपिलवस्तुका विभिन्न भाग तथा रूपन्देहीको बुटबल, भैरहवा, दाङका विभिन्न भाग, चितवनदेखि काठमाडौंमा समेत घडेरी र घरहरू किन्ने काम भइरहेको पाइएको छ।’

बाँकी २० प्रतिशत रकम मात्र उत्पादनशील क्षेत्रमा खर्च भएको पाइएको छ। जसबाट कृषि फर्म, साना होटल, किराना पसल र ट्याक्सी तथा बस किन्न खर्च भएको पाइएको छ। तर तिनीहरूले पनि बिचैमा व्यवसाय छाड्ने गरेका छन्।

बैदेसिक रोजगारीमा गएका युवाले कमाएको पैसा विलासी र दैनिक उपभोग्य सामग्रीमा खर्च भएकाले उक्त रकम उत्पादनमूलक क्षेत्रमा खर्च गर्नुपर्ने खालको नियम बनाएर अगाडि बढ्न सकेमा मात्र उत्पादनशील क्षेत्रमा खर्च हुने उद्योग वाणिज्य संघका केन्द्रीय सदस्य कृष्णप्रसाद श्रेष्ठले बताए।

विदेशमा एक जनाले दुःख गरेर पैसो कमाउने त्यहीँ पैसोले घरपरिवार पालिनु पर्ने, विलासी जीवनशैली, खनापान तथा आनीबानीमा भएको परिवर्तनका कारण रेमिट्यान्स उत्पादनशील क्षेत्रमा खर्च हुन नसकेको हो।

बैदेसिक रोजगारीमा गएका युवाले आफ्नै गाँउमा उत्पादनमूलक काम गर्नुपर्ने अहिलेको आवश्यकता रहेको बताउँदै स्वरोजगारका लागि र विदेशबाट कमाएर पठाएको पैसाबाट उत्पादनशील व्यवसाय सञ्चालन गर्ने खालको नीति ल्याउन थालिएको पाणिनी गाउँपालिकाका अध्यक्ष अच्युत गौतमले बताए।

सोर्त: http://annapurnapost.com/news/118363