अर्थका कर्मचारी हुलका हुल विदेश भ्रमणमा, २७ जनालाई १ करोड ८० लाख

February 25, 2018

भिषा काफ्ले, कान्तिपुर दैनिक, १३ फागुन २०७४

संघीयताबारे अध्ययन गर्न भन्दै अर्थ मन्त्रालयले राज्यकोषबाट लाखौं खर्च गरी हुलका हुल कर्मचारीलाई विदेश भ्रमणमा पठाएको पाइएको छ । 

संघीय प्रणाली अवलम्बन गरेका देशको आर्थिक प्रणाली अध्ययनका लागि भन्दै मन्त्रालयले कर्मचारी र अधिकारीहरुलाई विदेश भ्रमण गराउँदै आएको हो ।

 

मन्त्रालय स्रोतकाअनुसार हाल २ टोली अस्ट्रेलिया र एक टोली बेल्जियम र स्वीडेन भ्रमण छ। २ वटा टोली अस्ट्रेलियाको एक साता लामो भ्रमण सकेर फर्केको छ। बहाल छँदै अस्ट्रेलिया गएका पूर्व अर्थराज्यमन्त्री उदयशम्सेर राणा ६ सदस्यीय टोलीसहित ४ फागुनमा स्वदेश फर्केका थिए।

९ जनाको अर्को टोली गत मंगलबार अस्ट्रेलियकाबाटै फर्केको छ। पुस तेस्रो साता ९ जनाको टोली ब्राजिल र अर्जेन्टिना पुगेर स्वदेश फर्केको थियो। मन्त्रालयको रेकर्डअनुसार १३ जनाको २ टोली अस्ट्रेलिया भ्रमणमा छ। ८ जनाको एउटा टोली बेल्जियम र स्वीडेन भ्रमणमा छ। आउँदो १५ दिनभित्र २१ जना भारत र १२ जना अमेरिका जाने तयारीमा छन्।

निर्वतमान अर्थराज्यमन्त्री राणाको टोली काठमाडौं नफर्कंदै मन्त्रालयका तीन टोली अस्ट्रेलिया हिँडेका थिए। तीमध्ये अन्तर्राष्ट्रिय वैदेशिक समन्वय महाशाखाको ९ सदस्यीय टोली मंगलबार आइपुगेको हो। अहिले अस्ट्रेलियामा रहेको एउटा टोलीको नेतृत्व कर्मचारी प्रशासन शाखाका उपसचिव बाबुराम भण्डारीले गरेका छन्।

 

६ जनाको उक्त टोलीमा वरिष्ठ तथ्यांक शास्त्री डा. डिल्लीराज अर्याल, उपसचिव रमेश अर्यालसहित तीन अधिकृत छन्। ७ सदस्यीय अर्को टोलीमा राजस्व व्यवस्थापन महाशाखाका उपसचिव चण्डीप्रसाद घिमिरे र देवीप्रसाद शर्माले गरेका छन्। टोली शुक्रबारसम्म उतै हुनेछ।

 

सरकारको नियमित वार्षिक कार्यक्रमभित्र रहेर कर्मचारी र पदाधिकारीलाई भ्रमणमा पठाएको अर्थ मन्त्रालयका प्रवक्ता अर्जुनप्रसाद पोख्रेलले बताए। ‘अन्तर्राष्ट्रिय सिकाइको लागि कर्मचारीलाई विदेश पठाउनु सामान्य हो,’ प्रवक्ता पोखरेलले भने, ‘अन्तर्राष्ट्रिय सिस्टम जान्न पनि यस्ता भ्रमण अवश्यक हुन्छन्, त्यहाँ सिकेर आएर फाइदा भयो भएन प्रमुख कुरा हो।’

 

विदेश घुम्न २७ जनालाई १ करोड ८० लाख

रुस, बेल्जियम र स्वीडेन भ्रमणमा उपसचिव इश्वरीप्रसाद अर्याल र जगदीश्वर उपाध्यायको नेतृत्वमा ६ जना अधिकृत छन्। टोलीलाई ती मुलुकको बजेट प्रणाली अध्ययन गर्न पठाइएको मन्त्रालयले जनाएको छ। टोली फर्केपछि उपसचिवहरु चन्द्रकुमार श्रेष्ठ, गौरीशंकर उपाध्याय, तीर्थराज चिलवाल र सुशीलकुमार शर्मासहित १० जना अमेरिका र क्यानडाको १० दिने भ्रमणमा जाने तयारीमा छन्।

 

संघीय संरचनामा चलेका मुलुकको बजेट अध्ययन गर्नको लागि पुस तेस्रो साता उपसचिव आनन्दकुमार भट्टराई र युगजगत गुरागाईंको नेतृत्वमा ७ अधिकृत एक साता ब्राजिल र अर्जेन्टिनाको भ्रमण गरेर स्वदेश फर्किएका छन्। यी ३ टोलीका लागि मन्त्रालयले १ करोड ८० लाख रुपैयाँ निकासा गरिसकेको छ।

 

२ महिनायता ६५ जना फर्के, २ सातामा ३० बढी जाँदै

अर्थ मन्त्रालयबाट पुस र माघमा ६५ जना अधिकारी विदेश भ्रमणबाट फर्केका छन्। उपसचिवद्वय डोलिन्द्रप्रसाद शर्मा र राजेन्द्र ढुंगानको नेतृत्वमा ६ जना स्टोनिया र चेक गणतन्त्र पुगेर फर्केका थिए। उपसचिवद्वय होमकान्त भण्डारी र आनन्दकुमार भट्टराईसहित ७ जना ब्राजिल गएका थिए।

 

माघ दोस्रो साता उपसचिव रामप्रसाद मैनाली, हेमकान्त भण्डारी र युगराज पाण्डेको नेतृत्वमा ११ जना स्वीजरल्यान्ड गएका थिए। यी बाहेक २ महिनायता राजस्व सचिव शिशरकुमार ढुंगाना स्वीजरल्यान्ड, सहसचिव हरिप्रसाद बस्याल क्यानडा, शोभाकान्त पौडेल सिंगापुर, निर्मलहरि अधिकारी अस्ट्रेलिया र जापान, उत्तरकुमार खत्री अमेरिका, उदयराज सापकोटा सिंगापुर र अस्ट्रेलिया, सुशील पाण्डे स्टोनिया र चेक गणतन्त्र र विष्णुप्रसाद नेपालको टोली दक्षिण कोरिया भ्रमण गरी फर्किसकेको छ।

 

मन्त्रालय स्रोतकाअनुसार फागुन अन्तिम साता १० जना अमेरिका र क्यानडाको आर्थिक प्रणालीको अध्ययन गर्न जाँदैछन्। चैत पहिलो साता सहसचिव हरिप्रसाद बस्यालको नेतृत्वमा २१ जना भारत भ्रमणमा जाँदैछन्। उनीहरुको भ्रमण पूर्वअर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीको १८ माघको निर्णयअनुसार तयार भएको हो।

स्रोत:https://www.kantipurdaily.com/business/2018/02/25/20180225142410.html

Explore DevNotes

View More

Explore Nepal History

View More

Explore Datasets

View More