News

अर्थतन्त्रको बाह्य क्षेत्र कमजोर

October 31, 2018

कृष्ण रिजाल, नयाँ पत्रिका, कार्तिक १४,२०७५ 

रेमिट्यान्स बढ्यो, तर व्यापार, सेवा, आय र चालू खाता घाटामा, एफडिआई घट्यो

मुलुकको अर्थतन्त्रको बाह्य क्षेत्र कमजोर देखिएको छ । मुलुकले विदेशबाट आर्जन गर्ने आयको तुलनामा विदेशमा हुने व्यय बढी भएपछि बाह्य क्षेत्रका अधिकांश सूचक नकारात्मक देखिएका छन् ।

नेपाल राष्ट्र बैंकका अनुसार चालू आर्थिक वर्षको पहिलो दुई महिनामा व्यापार घाटा र सेवा आय उल्लेखीय दरमा बढेको छ भने खुद्रा ट्रान्सफर र विदेशी लगानी आप्रवाह घटेको छ । पर्यटन, आय र निर्यात उत्साहप्रद रूपमा बढेका छैनन् । रेमिट्यान्स उच्चदरमा बढे पनि अन्य सूचक नकारात्मक हुँदा चालू खाता घाटा उच्चदरमा बढेको छ ।

आयात उच्चदरमा बढेपछि व्यापार घाटा झनझन चुलिएको छ । चालू आवको भदौ महिनासम्ममा नेपालको कूल निर्यात ८ प्रतिशतले बढेर १४ अर्ब ७० करोड रुपैयाँ पुगेको छ । तर, आयात भने ३८.५ प्रतिशतले बढेर २ खर्ब ३२ अर्ब ३५ करोड रुपैयाँ पुगेको छ । निर्यातको तुलनामा आयात उच्च हुँदा व्यापार घाटा २ खर्ब १७ अर्ब रुपैयाँ पुगेको छ । यो व्यापार घाटा अघिल्लो आवको सोही अवधिको तुलनामा ४१.२ प्रतिशतले बढी हो ।

समीक्षा अवधिमा खुद सेवा आयसमेत घाटामा गएको छ । समीक्षा अवधिमा कूल सेवा आयमा २६.९ प्रतिशत र कूल सेवा खर्च ३५.८ प्रतिशतले बढेका कारण खुद सेवा आय ११ अर्ब २ करोडले घाटामा गएको छ । अघिल्लो वर्षको सोही अवधिमा खुद सेवा आय ६ अर्ब ७० करोडले घाटामा रहेको थियो ।

चालू खाता साढे ३५ अर्ब घाटामा
व्यापार र सेवा आय घाटा उच्च भएसँगै चालू खाता घाटा उच्चदरमा बढेको छ । आयातमा भएको उच्च वृद्धिका कारण समीक्षा अवधिमा चालू खाता घाटा ३५ अर्ब ५६ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो घाटा १९ अर्ब ७४ करोड रहेको थियो । अघिल्लो वर्षको पहिलो महिनामा ५ अर्ब ८७ करोडले घाटामा रहेको समग्र शोधनान्तर स्थिति समीक्षा अवधिमा २५ अर्ब ४५ करोडले घाटामा रहेको छ ।

विदेशी लगानी घट्यो
समीक्षा अवधिमा विदेशबाट सहयोग र लगानीसमेत घटेको छ । राष्ट्र बैंकका अनुसार भदौसम्ममा पुँजीगत ट्रान्सफर २ अर्ब ८० करोड र प्रत्यक्ष वैदेशिक लगानी आप्रवाह १ अर्ब २३ करोड रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा पुँजीगत ट्रान्सफर १ अर्ब ८४ करोड र प्रत्यक्ष वैदेशिक लगानी ५ अर्ब १० करोड रहेको थियो ।

तर, रेमिट्यान्स  आय उच्चदरमा बढ्यो
अर्थतन्त्रको समग्र बाह्य क्षेत्र कमजोर हुँदा रेमिट्यान्स भने उच्चदरमा बढेको छ । वैदेशिक रोजगारीमा जाने नेपालीको संख्या घट्दै गए पनि नेपालको रेमिट्यान्स आय भने उच्चदरमा बढेको हो ।

नेपाल राष्ट्र बैंकका अनुसार चालू आर्थिक वर्षको पहिलो दुई महिनामा वैदेशिक रोजगारीमा जानेको संख्या ४१ प्रतिशतले घटेको छ । तर, रेमिट्यान्स आय भने ३३.४ प्रतिशतले बढेको छ । राष्ट्र बैंकका अनुसार साउन र भदौ महिनामा नेपालमा १ खर्ब ५४ अर्ब २० करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको छ । डलरको भाउ बढेसँगै रेमिट्यान्स आय बढेको हो । अझ खाडीमा रहेका नेपालीको पारिश्रमिकसमेत बढेका कारण रेमिट्यान्स आय उच्चदरमा बढेको नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक नरबहादुर थापा बताउँछन् ।

स्रोत: http://www.nayapatrikadaily.com/2018/10/31/109924/