News

अर्थतन्त्रमा उद्योगको योगदान घट्दो

May 29, 2017

Ekantipur, Krishna Acharya, 29th May 2017, Kathmandu

मुलुकको कुल गार्हस्थ उत्पादन (जीडीपी) मा औद्योगिक क्षेत्रको योगदान क्रमश: घट्दै गएको छ । योगदान घट्दो क्रममा रहेको पुष्टि आर्थिक सर्वेक्षणले गरेको छ । सर्वेक्षणअनुसार अर्थतन्त्रमा महत्त्वपूर्ण मानिने औद्योगिक क्षेत्रको योगदान बढ्नुपर्नेमा नेपालमा क्रमश: घट्दै गएको हो । 

व्यवस्थापिका संसद्मा आइतबार अर्थमन्त्री कृष्णबहादुर महराले पेस गरेको ०७३/७४ को आर्थिक सर्वेक्षणअनुसार विगत ५ वर्षमा अर्थतन्त्रमा उद्योग क्षेत्रको योगदान ०.७० प्रतिशत विन्दुले घटिसकेको छ । सर्वेक्षणअनुसार आयातमा आधारित अर्थतन्त्रलाई उत्पादन र निर्यातमुखी अर्थतन्त्रमा रूपान्तरण गरी व्यापार घाटा कम गर्न उद्योग क्षेत्रको योगदान महत्त्वपूर्ण हुन्छ । उद्योगको स्थानीय स्रोत, साधन र प्रविधिको उपयोगले वस्तु तथा सेवाको उपलब्धता र रोजगारी सिर्जना गर्न सहयोग पुर्‍याएको छ । तर, नेपालको सन्दर्भमा जीडीपीमा यसको योगदान घट्दो रहेको छ ।

आर्थिक वर्ष ०६९/७० मा कुल गार्हस्थ उत्पादनमा यस क्षेत्रको योगदान ६ दशमलव ३५ प्रतिशत भएकोमा त्यसपछि घट्दै गई आर्थिक वर्ष ०७२/७३ मा ५ दशमलव ७२ प्रतिशत पुगेको छ,’ सर्वेक्षणमा उल्लेख छ । आर्थिक वर्ष ०७०/७१ मा उद्योग क्षेत्रको योगदान ६ दशमलव २ मा सीमित थियो । त्यसपछि ६ दशमलव ०३ र ५ दशमलव ७२ योगदान रहेको पनि सर्वेक्षणमा छ । यो योगदान चालु आर्थिक वर्षमा झनै घट्ने अनुमान गरिएको छ । 

‘आर्थिक वर्ष ०७३/७४ मा जीडीपीमा यस क्षेत्रको योगदान ५ दशमलव ६७ प्रतिशत हुने अनुमान छ,’ सर्वेक्षणमा उल्लेख छ । यो प्रतिशत दुई दशकअघिको योगदानभन्दा झन्डै ६० प्रतिशत कम हो । १५ वर्षअघिसम्म जीडीपीमा उद्योग क्षेत्रको योगदान झन्डै १५ प्रतिशतसम्म थियो । पूर्वाधार, श्रम सम्बन्ध र पर्याप्त ऊर्जा अभाव तथा प्रतिस्पर्धी र गुणस्तरीय वस्तुको उत्पादन अभ्यास नसक्नुलगायतका कारणले अर्थतन्त्रमा औद्योगिक क्षेत्रको योगदान घटदो क्रममा रहेको सर्वेक्षणले औंल्याएको छ ।

यी विषयहरूलाई आगामी दिनमा सुधार गर्नुपर्ने महत्त्वपूर्ण चुनौती ठानिएको छ । अगामी दिनमा यी चुनौतीहरूले उद्योग क्षेत्रमा लगानी र रोजगारी सिर्जना क्षेत्रमा समेत समस्या खडा गर्नेछ । ‘स्वदेशभित्रै अग्र तथा पृष्ठ सम्बन्ध कायम हुने गरी औद्योगिक कच्चा पदार्थ र तयारी वस्तु उत्पादन गर्ने उद्योग स्थापना गरेर रोजगारी सिर्जना गर्ने कार्य चुनौतीपूर्ण छ,’ सर्वेक्षणमा भनिएको छ, ‘औद्योगिक पूर्वाधार, सुमधुर श्रम सम्बन्ध, ऊर्जाको उपलब्धता, प्रतिस्पर्धी र गुणस्तरीय वस्तुको उत्पादनद्वारा आन्तरिक उत्पादनमा वृद्धि गर्ने र उद्योग क्षेत्रमा अपेक्षित रूपमा स्वदेशी तथा विदेशी लगानी वृद्धि गर्न लगानीमैत्री वातावरण सिर्जना गर्नु चुनौतीपूर्ण रहेको छ ।’

त्यस्तै तुलनात्मक लाभ र प्रतिस्पर्धी क्षमताका वस्तु र सेवाको उत्पादन वृद्धि तथा गुणस्तरमा सुधार गरी निर्यात बढाउने विषयलाई पनि सर्वेक्षणले चुनौती मानेको छ । ‘बन्द, हडताल, कार्टेलिङ, फितलो अनुगमन, खाद्यान्नको मागअनुरूप उत्पादनमा कमीलगायतका कारणले वस्तु तथा सेवाको आपूर्तिमा समस्या देखिएको छ,’ सर्वेक्षणमा छ, ‘बजारको नियमित र प्रभावकारी अनुगमन गरी स्वच्छ, प्रतिस्पर्धी र सक्षम बजार संयन्त्रमार्फत आपूर्ति व्यवस्था सहज बनाई उपभोक्ताको हकहित संरक्षण गर्नु, खाद्य वस्तुको सहज आपूर्ति बनाइराख्नु चुनौतीका रूपमा रहेको छ ।’ आर्थिक वर्ष ०७२/७३ मा भूकम्पको प्रभाव र सीमा नाकामा भएको अवरोधले उद्योग क्षेत्र संकुचन भएको दाबी गरिएको छ । तर, त्यसपछिको वर्षमा पनि उद्योग क्षेत्रको योगदान घट्ने निश्चितप्राय: भएको छ ।

‘स्वदेशमा रोजगारीको सिर्जना हुन नसक्दा युवा जनशक्ति रोजगारीका लागि विदेश जानुपरेको छ । यस्तो अवस्थामा स्वदेशमा उद्योगको स्थापना एवं सञ्चालन हुने वातावरण तयार गरी आर्थिक समृद्धिको लक्ष्य हासिल गर्न उद्योग क्षेत्रको विकास र विस्तारमा जोड दिनु जरुरी छ,’ सर्वेक्षणमा छ । पछिल्ला वर्षहरूमा औद्योगिक क्षेत्रको पुँजी लगानीको अनुपातसमेत बढ्न नसकेको आंैल्याइएको छ । सर्वेक्षणअनुसार आर्थिक वर्ष ०६३/६४ देखि ०६७/६८ सम्म उद्योगमा पुँजी लगानीको अवस्था बढ्दो क्रममा थियो । ‘आर्थिक वर्ष ०६८/६९ मा २ सय ७९ उद्योगमा ८५ अर्ब ४२ करोड ७० लाख रुपैयाँ लगानी भएकामा आब २०६९/७० मा ४ सय ४६ उद्योगमा १ सय ४२ प्रतिशतले वृद्धि भई लगानी २ खर्ब ८९ अर्ब ३० करोड ८० लाख रुपैयाँ पुगेको थियो,’ सर्वेक्षणमा उल्लेख छ, ‘त्यसपछिका आर्थिक वर्षमा सोही अनुपातमा पुँजी बढ्न सकेको छैन ।’

हालसम्म ६ हजार ८ सय ३४ वटा ठूला उद्योग दर्ता भएका छन् । यी उद्योगमा १२ खर्ब ७४ अर्ब १८ करोड ९० लाख रुपैयाँ लगानी प्रतिबद्धता आएको छ । यी उद्योगमा ५ लाख ३६ हजार १ सय ८१ जनाले रोजगारी प्रप्त गर्ने अनुमान गरिएको छ । यसैगरी ती उद्योगहरूमध्ये आर्थिक वर्ष ०७३/७४ को प्रथम आठ महिनासम्म नेपालमा ९० देशका ३ हजार ९ सय ५ वटा उद्योग दर्ता भएका छन् । जसमा २ खर्ब ८ अर्ब ४ करोड प्रत्यक्ष वैदेशिक लगानी (एफडीआई) को प्रतिबद्धता छ । ‘यसबाट २ लाख २४ हजार २ सय ८६ जनाले रोजगारी पाउने देखिन्छ,’ सर्वेक्षणमा छ, ‘प्रथम आठ महिनासम्ममा विदेशी लगानीको ३९ दशमलव १२ प्रतिशत हिस्सा भारतले ओगटेको छ । 

दोस्रो स्थानमा चीन (१६ दशमलव २३ प्रतिशत) र तेस्रो स्थानमा हङकङ (१३ दशमलव ०६ प्रतिशत ) रहेको छ ।’ उद्योग संख्याको आधारमा विदेशी लगानी गर्नेमा चीन पहिलो हो । उसका १ हजार ९३ उद्योग दर्ता भएका छन् । यसैगरी भारत दोस्रो स्थानमा छ । भारतीय लगानीकर्ताले ६ सय ६२ उद्योग दर्ता गरेका छन् ।
नेपालमा लगानी गर्ने देशहरू ९० वटा भए पनि दुई पक्षीय लगानी प्रवद्र्धन तथा संरक्षण सम्झौता (बिप्पा) भने ६ वटा मुलुकसँग मात्रै भएको छ ।

यसमध्ये सबैभन्दा बढी लगानी रहेको भारततर्फको बिप्पा कार्यान्वयनमा आउन सकेको छैन । लगानीको सुरक्षा र लगानी फिर्ता लैजाने सहज व्यवस्थाका लागि यस्तो सम्झौता गरिन्छ । तर, लगानी गर्ने मुलुकहरूमध्ये करिब साढे ५ प्रतिशत मुलुकहरूसँग मात्रै बिप्पा सम्झौता भएको छ । लगानी नबढ्नुमा एउटा कारण यसलाई पनि मान्ने गरिएको छ । कम्पनी दर्ता भने उल्लेखनीय देखिन्छ ।

सर्वेक्षणअनुसार चालु आर्थिक वर्षको यो आठ महिनासम्म १ लाख ६६ हजार ६ सय ९४ कम्पनी दर्ता भएका छन् । ‘दर्ता भएका कम्पनीहरूमध्ये पब्लिक लिमिटेड १ हजार ४ सय २, प्राइभेट लिमिटेड कम्पनी १ लाख ६३ हजार ७ सय ८३, मुनाफा वितरण नगर्ने कम्पनी १ हजार ३ सय ५४ र विदेशी कम्पनी १ सय ५५ रहेका छन्,’ सर्वेक्षणमा उल्लेख छ ।


घट्नुका कारणहरू

    - पूर्वाधार, श्रम सम्बन्ध र पर्याप्त ऊर्जा अभाव, प्रतिस्पर्धी र गुणस्तरीय वस्तु उत्पादन अभ्यास नहुनु 
    - नेपालमा लगानी गर्ने ९० देशमध्ये बिप्पा सम्झौता भने ६ वटा मुलुकसँग मात्रै हुनु 
    - आर्थिक वर्ष ०७२/७३ मा भूकम्प र सीमा नाका अवरोधले उद्योग क्षेत्र संकुचनमा पर्नु 
    - स्वदेशभित्रै औद्योगिक कच्चा पदार्थ र तयारी वस्तु उत्पादन गर्ने उद्योग स्थापना गर्न नसक्नु 

समाधानका उपाय
    - स्वदेशमा रोजगारीको सिर्जना गरी युवा जनशक्तिलाई विदेश जानबाट रोक्ने 
    - स्वदेशमा उद्योगको स्थापना एंव सञ्चालन हुने वातावरण तयार गर्ने 
    - आर्थिक समृद्धिको लक्ष्य हासिल गर्न उद्योग क्षेत्रको विकास र विस्तारमा जोड दिने 
     - ऊर्जा संकट निवारण गर्ने 



 Source: http://kantipur.ekantipur.com/news/2017-05-29/20170529084059.html