नारायण खड्का, कान्तिपुर दैनिक, असार १५, २०७४
अष्ट्रेलियामा करिब ५५ हजार नेपालीहरु बसोबास गरिरहेको तथ्यांक सार्वजनिक भएको छ । तथ्यांकमा बालबालिकादेखि ८४ बर्षसम्मका नेपालीहरु अष्ट्रेलियामा बसोबास गरिरहेको देखिएको छ ।
हिजो मंगलबार अष्ट्रेलिया सरकारको तथ्यांक बिभागले सार्वजनिक गरेको जनगणना अनुसार ३० हजार ४८ पुरुष र २४ हजार ७ सय १५ जना नेपाली महिला समेत ५४ हजार ७ सय ६३ नेपालीहरु यहाँका बिभिन्न राज्यहरुमा बसोबास गरिरहेका छन् ।
अष्ट्रेलियाले प्रत्येक पाँच बर्षमा जनगणना गर्ने गरेको छ । गतबर्षको डिसेम्बरसम्मलाई आधार मानेर निकालिएको तथ्यांक अनुसार अष्ट्रेलियाको कुल जनसंख्या २ करोड ३४ लाख रहेको छ जुन सन २०११ को जनसंख्याभन्दा १९ लाखले बढी हो । सार्वजनिक गरिएको तथ्यांक अनुसार सबैभन्दा धेरै २५ देखि ४४ बर्षसम्मका २८ हजार ९ सय ५६ जना नेपालीहरु अष्ट्रेलियामा बसोबास गरिरहेका छन भने भर्खरै जन्मिएदेखि ४ बर्षसम्मका ३ सय ९१ बालबालिकाहरु रहेका छन् ।
यसैगरि अष्ट्रेलियालाई आफ्नो घर बनाउने विदेशीहरुको अनुपातमा अन्य देशका नागरिकभन्दा नेपालीहरु अग्रपंक्तिमा रहेको समेत तथ्यांक सार्वजनिक गरिएको छ । जनसंख्या बृद्धिको अनुपात अन्य मुलुकका नागरिहरुको भन्दा नेपालीहरुको सबैभन्दा धेरै २७ दशमलव ८ प्रतिशतले बृद्धि हुने गरेको रिर्पाेटमा बताइएको छ ।
अष्ट्रेलियाको तथ्यांक शाखाले सार्वजनिक गरेको तथ्यांक अनुसार सन २००६ देखि २०१६ सम्म २७ दशमलव ८ प्रतिशतले नेपालीहरुको संख्या बृद्धि हुदै गएको हो । सन २००६ मा जम्मा ४ हजार ४ सय रहेको यो संख्या बर्षेनी सोही अनुपातमा बढ्दै गएको तथ्यांकमा उल्लेख गरिएको छ ।
अष्ट्रेलिया जनगणनाको केही रोचक पक्ष
मंगलबार जारी जनगणनाको तथ्यांक अनुसार अष्ट्रेलियामा ३० दशमलव १ प्रतिशतले कुनैपनि धर्ममा नभएको मत ब्यक्त गरेका छन भने जम्मा ५२ दशमलव १ प्रतिशत क्रिस्चियन रहेका छन् ।
अष्ट्रेलियाको कुल जनसंख्याको २६ प्रतिशत विदेशमा जन्मिएकाहरु छन भने पुरुषको तुलनामा महिलाहरुको जनसंख्या करिब २ प्रतिशतले बढी छ ।
अष्ट्रेलियाको राजधानी क्यानबेरा (एसिटी) राज्यका नागरिकहरुको साताको आम्दानी ९ सय ९८ डलर छ भने सबैभन्दा थोरै तास्मानियाका नागरिकहरुले ५ सय ७३ डलर कमाउछन् । यसैगरि अष्ट्रेलियाको औसत परिवार २ दशमलव ६ जनाको दरले छ ।
अष्ट्रेलियामा ४४ दशमलव ७ प्रतिशत जोडीको बच्चा छ भने ३७ दशमलव ८ प्रतिशत बालबच्चाबिना बसेका छन् । यहाँ रहेका १५ दशमलव ८ प्रतिशत एकल अभिभावक छन जसमा पनि एकल महिला अभिभावको संख्या ८१ दशमलव ८ प्रतिशत छ । यसैगरि कुल जनसंख्यामा ४६ हजार ८ सय समलिङ्गी जोडी रहेको तथ्यांक देखाइएको छ जुन सन २०११ को जनगणनाभन्दा ३९ प्रतिशतले बढी हो ।
स्रोत: http://kantipur.ekantipur.com/news/2017-06-29/20170629203146.html