असारमा २२ मेगावाट बिजुली थपिँदै

April 16, 2018

केशव समर्पण, कारोबार, सोमवार, बैशाख ३, २०७५

आगामी असारसम्म २२ मेगावाट बिजुली थप हुने भएको छ । मकवानपुरको भीमफेदी गाउँपालिका–८ इपापञ्चकन्यामा बागमती जलविद्युत् आयोजनाको निर्माणकार्य अन्तिम चरणमा पुगेको छ । 
आयोजना माण्डु हाइड्रोपावर कम्पनीले निर्माण गरिरहेको छ । सुरुङ खन्ने, बाँध निर्माण गर्ने र पावर हाउसको सिभिलतर्फको काम नेपाली कम्पनी साउथ एसियन इन्फ्रास्ट्रक्चर प्रालिले गरिरहेको छ । कम्पनीका प्रोजेक्ट म्यानेजर अनुप न्यौपानेले आयोजनाको ८० प्रतिशत निर्माणकार्य सकिएको बताउँदै आगामी असार महिनासम्ममा बिजुली निकाल्ने लक्ष्य रहेको जानकारी दिए । “आयोजनाको २ हजार ४२४ मिटर लामो मुख्य सुरुङको ‘ब्रेक थु्रु’ को काम भइसकेको छ ।

असारअघि नै काम सक्नका लागि १५० नेपालीसहित ४ सय बढी कामदारले रात÷दिन काम गरिरहेका छन् ।” चाइनिज कम्पनी सिइच्वाङ–हेइच्वाङ र नेपाली कम्पनी साउथ एसियनले २०७२ वैशाखबाट निर्माणकार्य सुरु गरेको थियो । आयोजनामा सिभिलततर्फ १ अर्ब २९ करोडसहित कुल चार सय करोड लगानी रहेको छ । प्रतिसेकेन्ड १२.४ क्युसेक पानी पठाउने गरी ३.७ मिटर चौडा र ३.८ डायोमिटरको सुरुङ निर्माण गरिएको छ । बागमती र कोगटेको पानी इपापञ्चकन्या दोभानमा १० देखि १३ मिटर उचाइको बाँध निर्माण गरी सुरुङमार्फत् बगरबेंसीस्थित पावर हाउसमा पुराउने कम्पनीको योजना छ । निर्माणाधीन बाँधबाट पावर हाउस (विद्युत्गृह) भने २ हजार ४४० मिटरको दूरीमा रहेको छ । आयोजनाले नेपाल विद्युत् प्राधिकरणसँग वर्षायाममा प्रतियुनिट ४ रुपैयाँ ४० पैसामा र हिउँदमा ८ रुपैयाँ ४० पैसामा बिक्री गर्ने सम्झौता गरेको जनाएको छ ।

१० वर्षमा पनि बनेन कुलेखानी
मकवानपुरमै निर्माणाधीन कुलेखानी तेस्रो आयोजनाको १० वर्षको अवधिमा पनि निर्माण सम्पन्न हुन सकेको छैन । छैटौं पटक समय थप गरिए पनि अझै काम सकिएको छैन । गत चैत १७ गतेसम्मका लागि म्याद थप गरेकोमा विद्युत् उत्पादन हुन अझै केही महिना लाग्ने जनाइएको छ । १४ मेगावाट विद्युत् उत्पादन गर्ने लक्ष्यका साथ आयोजना निर्माण भइरहेको छ । आयोजनाका निमित्त प्रमुख वसन्त सिंहले सिभिलतर्फको काम अन्तिम चरणमा रहेको र इलेक्ट्रोमेकानिकलतर्फको काम पनि भइरहेको जानकारी दिए । “ठेकेदार कम्पनीलाई छिटोभन्दा छिटो काम सक्न भनेका छौं, अब म्याद थप्न पर्दैन,” उनले भने । निर्माणकार्य अलपत्र छाडी इलेक्ट्रोमेकानिकलतर्फका चिनियाँ निर्माण कम्पनी झेजियाङ जिल्लुन चीन फर्किएपछि निर्माणकार्यमा ढिलाइ भएको थियो । आयोजनाले झेजियाङ जिल्लुन ठेक्का रकमको १० प्रतिशत हर्जना तिराएर पुनः कामको जिम्मेवारी दिइएको हो । इलेक्ट्रोमेकानिकलतर्फ ८० प्रतिशत र सिभिलतर्फ ९९ प्रतिशत काम सम्पन्न भइसकेको आयोजनाका निमित्त प्रमुख सिंहले बताए । “झेजियाङले जेनेरेटर, टबाईन र केवलहरू जडान गरिरहेको छ, सिभिलतर्फको सडक स्तरीकरणको काम बाँकी छ,” सिंहले भने ।
चार वर्षभित्र सम्पन्न गर्ने लक्ष्यका साथ २०६४ सालमा कुलेखानी तेस्रो निर्माण सुरु भएको थियो । आयोजना निर्माणमा चार अर्ब ६३ करोड रुपैयाँ खर्च भइसकेको आयोजनाले जनाएको छ । एक अर्ब ४७ करोड रुपैयाँमा निर्माण सकाउने गरी आयोजनाको काम सुरु भए पनि समयमा नै काम नसकिएकाले खर्च तेब्बरले बढेको हो । 

स्रोत: https://karobardaily.com/news/development/4227

 

Explore DevNotes

View More

Explore Nepal History

View More

Explore Datasets

View More