बिनोद त्रिपाठी, कान्तिपुर दैनिक, १३ असार २०७४
नेपाल–चीन कोरला नाकामा सञ्चालित मेलामा किनमेल गर्न आउनेको संख्या यसपालि गतवर्षको तुलनामा दोब्बर पुगेको छ । किनमेल गर्ने व्यापारीको संख्या बढेकोले राजस्व असुली दुई गुनाले बढेको भन्सार कार्यालयले जनाएको छ ।
यही असार १ देखि खुलेको नाकामा पुगेर नेपालतर्फका व्यापारी र सर्वसाधारणले सामान किनेर ल्याएका थिए । व्यापारीलाई आवश्यकबमोजिमका सामान खरिद प्रक्रिया सकिएकोले आइतबारदेखि कोरला नाका बन्द गरिएको भन्सार प्रमुख शुक्रदर्शन ढुंगानाले जानकारी दिए । ‘अब मागबमोजिम फेरि भदौमा नाका खोल्न सकिन्छ,’ उनले भने, यसपालि सामान खरिद गर्नेको संख्या गतवर्षको तुलनामा दोब्बर वृद्धि भयो ।’ यो पटक ६ लाख ४१ हजार राजस्व असुली भएको उनले जानकारी गराए । ‘हामीले लक्ष्य ५ लाख गरेका थियौं’ उनले भने, 'लक्ष्यभन्दा बढी राजस्व महसुल उठ्नुमा सामान आयात वृद्धि हुनु नै हो ।’ गतवर्ष यस्तै खालको मेलामा ३ लाख २७ हजार राजस्व उठेको थियो । भन्सार महसुलमा कडाइ र व्यापारीको संख्या बढेकोले राजस्व उठतीमा वृद्धि भएको उनले बताए । यो नियमित सञ्चालन नभएको नाका भएकोले भन्सार महसुलको नीतिगत प्रक्रिया खुकुलो थियो, तर यसपालि अघिल्लोपटक भन्दा केही परिवर्तन गरेर महसुल उठाउने काममा कडाइ गरिएको उनको भनाइ छ ।
नेपालका व्यापारीलाई सामान खरिद गर्न चीनका स्थानीय अधिकारीले दुवै देशको सहमतिमा वर्षको दुई पटक नाकाको गेट खोलेर यहाँ मेला लगाउने गर्दे आएका छन् । मेला सिमानाबाट १५ किमि चीनतर्फको भूभागमा अवस्थित खुल्ला चौरमा लाग्ने गर्छ । चीनको ढुंग्वासेन बजारका व्यापारीले यही चौरमा सामान ल्याएर राख्ने गर्छन् र यही किनमेल चल्दै आएको छ । चीनको ढुंग्वासेन बजार सिमानाबाट ३० किमि टाढा पर्छ । यो बजार पोखरा सहर जत्रै ठुलो रहेको छ । यहाँबाट चीनको अर्को ठुलो सहर सिगात्से ६ सय ५० किमि टाढा पर्छ । मोटरबाट सिगात्से पुग्न ३ घण्टा लाग्ने व्यापारीहरु बताउँछन् । मेलामा सिगात्सेदेखि व्यापारीहरुले सामान ल्याएर नेपालीलाइ बेच्दै आएका छन् ।
भन्सार कार्यालयका अनुसार यसपालि पनि निर्यात शुन्य रहेको छ । गतवर्षदेखि चीनका व्यापारीले नेपालतर्फको उत्पादन खरिद गर्न बन्द गरेकोले निर्यात शुन्य भएको भन्सार कार्यालयले जनाएको छ । नेपालको उत्पादन कमसल र गुणस्तरहीन भएकोले त्यहाँको सरकारले नेपालको सामान किन्न बन्द गरिदिएको थियो । पहिले पहिले नेपालबाट फापर पिठो, उनी गलैंचा, पश्मिना, धागो, आलुलगायत कृषिजन्य सामान निर्यात हुने गरेको थियो । अहिले निर्यात बन्द भए पनि चीनको स्थानीय प्रशासनले नेपालीका लागि सामान खरिदकै लागि भए पनि वर्षको दुईपटक कोरला नाका खुलाउने गरेको छ ।
स्रोत: http://kantipur.ekantipur.com/news/2017-06-27/20170627121315.html