कान्तिपुर दैनिक, २४ भाद्र २०७४
उपत्यकामा साता दिनदेखि थुप्रिएको फोहोर आइतबारदेखि उठ्ने भएको छ । ललितपुर, काठमाडौं महानगरपालिका र ओखरपौवाका स्थानीयबासीबीच ५ बुँदे सहमतिपछि फोहोरमाथिको अवरोध हटेको हो ।
स्थानीयबासीसँग सिसडोल ल्याण्ड फिल्ड साइटबाट प्रभावित क्षेत्रमा दुर्गन्ध नफैलिने गरी केमिकल नियमित हाल्ने, फोहोरलाई व्यवस्थित तरिकाले बिसर्जन गरी माटोले पुर्ने, स्थानीयबासी बिरामी परेमा काठमाडौंको अस्पतालसम्म पुर्याउन चार महिनाभित्रमा नयाँ एम्बुलेन्सको व्यवस्था गर्ने सहमति भएको ललितपुर महानगरपालिकाले जनाएको छ ।
फोहोरमैलाको व्यवस्थापन गर्न स्थानीयस्तरमा अधिकार सम्पन्न समिति बनाउने र समितिले मुआब्जालगायत अन्य मागबारेमा सम्बोधन गर्ने, सरकारले छुट्याएका मुआब्जा तत्काल विरतण गर्ने र काठमाडौं–ओखरपौवा सडकका खाल्डाखुल्डी पुर्नुपर्ने सहमति भएको हो ।
ललितपुर महानगरपालिकाका प्रवक्ता राजु महर्जनले विदेश भ्रमणमा रहेका ललितपुर महानगरपालिका मेयर स्वदेश फर्केपछि उनलाई जानकारी गराइ तत्काल सहमति कार्यान्व्यनतर्फ अगाडी बढ्ने बताए । ‘मेयर सर शनिबार बेलुका आइपुग्नु हुन्छ,’ उनले भने, ‘त्यसपछि तत्काल ओखरपौवा, ललितपुर र काठमाडौं महानगरपालिकाका निर्वाचित प्रतिनिघिलाई बोलाएर बैठक राखिनेछ ।’
उनले स्थानीयस्तरको अधिकार सम्पन्न समितिमा फोहोर प्रभावित क्षेत्रका ५/५ जना जननिर्वाचित वडाध्यक्ष र अन्य प्रतिनिघि, ललितपुर र काठमाडांै महानगरपालिकाका प्रतिनिधी रहने बताए । ‘नयाँ ल्याण्ड फिल्ड साइट बन्चरे डाँडाको कुरा पनि अगाडी बढाइनेछ,’ उनले भने, ‘काठमाडौंदेखि ओखरपौवाको सडकका खाल्डा खुल्डी पुर्न ठेक्का भइसकेको छ । त्यसैले ठेकेदारलाई काम चाँडै गर्न निर्देशन दिने कुरा भएको छ ।’
स्रोत:http://bit.ly/2wR7fAf