आजदेखि १३ ठाउँमा सुपथ मूल्य पसल

September 01, 2017

कारोबार आर्थिक दैनिक, १६ भाद्र २०७४ 

सरकारले चाडपर्वलाई लक्षित गरेर शुक्रबारदेखि उपत्यकाका विभिन्न १३ ठाउँमा सहुलियत मूल्य पसल सञ्चालन गर्न लागेको छ । चाडपर्वमा उपभोक्तालाई  दैनिक उपभोग्य वस्तुमा राहत दिन सुपथ मूल्य पसल सञ्चालन गर्न लागिएको हो ।

सरकारी स्वामित्वमा सञ्चालित नेपाल खाद्य संस्थान, साल्ट्रटेडिङ कर्पाेरेसन, दुग्ध विकास संस्थानमार्फत उपभोक्तालाई सहुलियत दिन सुपथ मूल्य पसल सञ्चालन गर्न लागिको आपूर्ति मन्त्रालयले जानकारी दिएको छ ।

आपूर्ति मन्त्रालयका सहायक प्रवक्ता बाबुराम भुसालले चाडपर्वमा उपभोक्तालाई राहत दिन शुक्रबारदेखि सुपथ मूल्य पसल सञ्चालन गर्न लागिएको जानकारी दिए । “चाडपर्वमा दैनिक उपभोग्य वस्तुको खपत धेरै हुने भएकाले उपभोक्तालाई राहत दिन सुपथ मूल्य पसल सञ्चालन गरिएको हो,” उनले भने, “चामल, नुन, चिनी, खसीबोका, घिउ र पनिरमा छुट दिएका छौं ।” 

मन्त्रालयका अनुसार काठमाडौंको सतुंगल, कालीमाटी, टेकु, कोटेश्वर, सिंहदरबार, थापाथली, बल्खु, जोरपाटी, ललितपुरको जाउलाखेल र भक्तपुरको सूर्यविनायकमा सुपथ मूल्य पसल सञ्चालन गरिने छ ।

नेपाल खाद्य संस्थानले चामल र गेडागुडी बिक्री गर्ने छ । साल्ट्र टेड्रिङ कर्पाेरेसनले नुन, चिनीसँगै अन्य खाद्यान्न बिक्री गर्ने छ भने दुग्ध विकास संस्थान पनिर र घिउमा प्रतिलिटरमा १० रुपैयाँ छुट दिएको छ ।

सुपथ मूल्य पसलमा दिइने छुट
सामान    छुट रुपैयाँ (प्रतिकेजीमा)
चामल (मोटो)    ५
चामल (मसिनो)    १०
चिनी    ५
गेडागुडी    ५
नुन    २
घिउ    १०
पनिर     १०
खसीबोका र च्याङ्ग्रा    १०
 स्रोतः आपूर्ति मन्त्रालय
 

उपत्यकासँगै बाहिरी जिल्लामा स्थानीय तहको सिफारिसमा सुपथ पसल सञ्चालन गरिने मन्त्रालयले जनाएको छ । उपत्यकामा तीनवटा घुम्ति सेवामार्फत उपभोक्तालाई विभिन्न स्थानमा खाद्यान्न वितरण गरिने छ ।

साल्ट्र ट्रेडिङ कर्पाेरेसन र खाद्य संस्थानका क्षेत्रिय डिपोमार्फत उपभोक्ताई सहुलियत दिइने भएको छ । खाद्य संस्थानले खसीबोका र च्याङ्ग्रामा प्रतिकिलो १० रुपैयाँ छुट दिनेछ । दसंैलाई लक्षित गरेर संस्थानले खसीबोका खरिद प्रक्रिया अगाडि बढाइसकेको छ ।

दसैंमा उपत्यकामा खसीबोकाको खपत धेरै हुँदा निजी व्यवसायीले कालोबजारी गरी उपभोक्ता ठग्न सक्ने भन्दै बजार हस्तक्षेप गर्नका लागि संस्थानले प्रत्येक वर्ष खसीबोका बिक्री गर्दै आएको छ ।

यो वर्ष  एक हजार च्याङ्ग्रा र एक हजार पाँच सय संख्यामा खसीबोका खरिद गर्न लागेको संस्थानले जानकारी दिएको छ । दसैंमा उपत्यकामा ४० देखि ५० हजार संख्यामा खसीबोकाको खपत हुने गर्छ ।

स्रोत: 

https://www.karobardaily.com/news/81991

 

Explore DevNotes

View More

Explore Nepal History

View More

Explore Datasets

View More