आजदेखि ८ देशको अनअराइभल भिसा रोक

March 10, 2020

सुनिता कार्की, अन्नपूर्ण पोष्ट, फाल्गुन २७ , २०७६ 

काठमाडौं : नोभेल कोरोना भाइरस (कोभिड-१९) अतिप्रभावित ८ देशको अन अराइभल भिसामा सरकारले रोक लगाइएको छ। मार्च १० तारिखदेखि लागू हुने गरी र अर्को आदेश नआएसम्मका लागि ती ८ देशको अन अराइभल भिसा राकिएको हो। यसअघि सरकारले चीन, इरान, इटाली, कोरिया, जापान गरी ५ देशलाई मात्र प्रतिबन्ध लगाउने तयारी गरेको थियो।

विश्व स्वास्थ्य संगठनले उच्च शतर्कता अपनाउन सुझाव दिएसँगै सरकारले चीन, इरान, इटाली, कोरिया, जापान, फ्रान्स, जर्मनी र स्पेनका नागरिकलाई अन अराइभल भिसा रोकेको अध्यागमन विभागका प्रवक्ता रामचन्द्र तिवारीले जानकारी दिए। यसअघि सरकारले युद्धग्रस्त १३ मुलुकबाहेक सबै देशको अन अराइभल भिसामा रोक लगाउने तयारी गरेको भए पनि अहिलेलाई ८ देशलाई मात्र रोकेको छ।

प्रतिबन्धित देशका नागरिक नेपाल आउन चाहे सम्बन्धित देशमा रहेको नेपालको दूतावास र नियोगमार्फत भिसा आवदेन दिन भने सक्नेछन्। उनीहरूले भिसा आवेदनसँगै स्वास्थ्य परीक्षणको रिपोर्ट पनि पेस गर्नुपर्ने हुन्छ। त्यही आधारमा नै सम्बन्धित निकायले भिसा दिन वा नदिन सक्नेछन्। भिसा पाएप्छि हवाई मार्गबाट नेपाल आउने विदेशी नागरिक स्वास्थ्य जाँचको प्रमाणपत्रको जाँच त्रिभुवन विमानस्थलस्थित अध्यागमन र सडकमार्गबाट आउनेको सिमानामा रहेको अध्यागमनबाट गरिनेछ।

प्रतिबन्धित देशका नागरिकलाई त्रिभुवन विमानस्थलबाट नै नेपाल प्रवेश गर्न निर्देशन दिइएको छ। अर्को सूचना जारी नभएसम्मका लागि सिमा नाका पूर्ण रूपमा बन्द गरिएको विभागद्वारा जारी विज्ञप्तिमा उल्लेख छ। नेपालमा सञ्चालित वायुसेवा सञ्चालक र ट्राभल तथा टुर कम्पनीले सरकारको यो निर्णयलाई पूर्ण पालना गर्न पनि निर्देशन दिइएको छ।

सम्बन्धित देशका नागरिकले नेपालको भिसा पाइसकेको सन्दर्भमा भने स्वास्थ्य जाँचको प्रमाण लिएर आउन भनिएको छ। उक्त स्वास्थ्य जाँचको प्रमाणपत्र नेपाल भित्रिँदा बढिमा ४ दिन अघिमात्र जारी भएको हुनुपर्नेछ। यी मुलुकबाहेक अन्य मुलुकका नागरिकले भने पूर्वअभ्यासमा रहेको प्रक्रियाबाट नै भिसाका लिन सक्नेछन्। विश्व स्वास्थ्य संगठनको पछिल्लो तथ्यांकअनुसार विश्वभर १ लाख ५ हजार ५ सय ८६ जनामा कोरोना संक्रमण देखिएको छ। चीनमा मात्रै ८० हजार ८ सय ५९ जनामा कोरोना संक्रमण देखिएको छ। विश्वभर ३५ सय ८४ जनाको कोरोनाका कारण मृत्यु भएको छ।

स्रोत: http://annapurnapost.com/news/149956

Explore DevNotes

View More

Explore Nepal History

View More

Explore Datasets

View More