जितेन्द्र साह, कान्तिपुर राष्ट्रिय दैनिक, ०८ कार्तिक २०७४
चार दिनसम्म मनाइने सूर्य उपासनाको महापर्व छठको आज दोस्रो मुख्य दिन हो । तराई–मधेसलगायत मुलुक भर छरिएर रहेका छठ ब्रतालुहरुको घरघरमा साँझ ‘खरना’ पुजा गरिन्छ ।
यो विधिमा पूर्णरुपले उपवास बसेका छठका ब्रतालु एवं सहयोगी परिवारजनले साँझ खिरपुरी पकाउँछन् । मधेसतिर यो पर्वकै प्रयोजनकोलागि निर्मित माटोको एक छुट्टै चुल्होमा मुख्य उपासक महिलाको नेतृत्वमा ती चढावा तयार पारिन्छ ।
ब्रतालुले घरको एक कोठालाई लिपपोत गर्छन् । त्यसपछि भूइमा केराको पात फिजाएर त्यसमाथि खिरपुरी र केरा राख्छन् । धुपदीप बालेर चन्द्र, सूर्य र भगवान सूर्यकै भगवती रुप मानिने छठी मैयाँको मौन पुजा गर्छन् । होहल्लाले पुजा भंग हुने आस्थाका कारणले ब्रतालुले कोठाको ढोका थुनेरै आराधना गर्छन् । घरको आँगन र बरन्डामा बसेर परिवारजन, छरछिमेक एवं पाहुनाले पुजा समाप्तिको प्रतिक्षा गर्छन् ।
यो पुजा सम्पन्न भएपछि ब्रतालुले सबैभन्दा पहिले स्वयं प्रसाद खान्छन् । उपस्थित सबैलाई बाँडछन् । छठ पुजाको मुख्य दिन अगाडीको यो एक महत्वपूर्ण धार्मिक विधि हो । यो पुजापछि ब्रतालुको ३६ घण्टे निर्जल उपवास सुरु हुन्छ ।
ब्रतालुले मंगलबार बिहान स्नानपछि शुद्ध शाकाहारी भोजन ग्रहण गरी यो पर्व सुरु गरेका हुन् । लोक आस्थाको यो पर्वको तेस्रो दिन बिहीबार साँझ एवं चौथो दिन शुक्रबार बिहान झिलिमिली सिंगारिएको जलाशय किनारमा घरबाट लगेको सम्पूर्ण पवित्र सामग्रीसहित सूर्यदेवलाई अर्घय दिएपछि पुजाको समापन हुन्छ ।
अन्तिम दुई दिन नदी, पोखरी एवं नहर किनारमा उत्सवकै माहोल हुन्छ । अर्घय दिने, ब्रतालुको आशिर्वाद लिने एवं बिहानीको पुजापछि प्रसाद थाप्न आउनेको घाटमा ओइरो लाग्छ । भरपुर आस्थाकासाथ प्रसाद माग्न आउने, बाँडने एवं मुख्य उपासकलाई ढोकेर आशिष लिने क्रम घरदेखि घाटसम्म चल्छ ।
स्रोत: http://bit.ly/2yKwDsq