गोपीकृष्ण ढुंगाना, अन्नपूर्ण पोस्ट, १३ कार्तिक २०७४
काठमाडौं :सरकारले देशभर आठवटा सहरी करिडोर निर्माण गर्ने भएको छ। नजिकका सहरबीच अव्यवस्थित बसोबास बढ्न थालेपछि सहरी करिडोरका लागि सरकारले काम सुरु गरेको हो। सहरी विकास मन्त्रालयले धरान-इटहरी-विराटनगर, जनकपुर-ढल्केबर, बुटवल-भैरहवा-लुम्बिनी, जनकपुर-ढल्केबर-बर्दिबास, वीरगन्ज-पथलैया, पोखरा-लेखनाथ-दुलेगौंडा, सुर्खेत-दशरथपुर-छिन्चु र धनगढी-अत्तरिया-महेन्द्रनगर करिडोर निर्माण गर्ने भएको हो।
सहरी विकास तथा भवन निर्माण विभागका महानिर्देशक रमेशप्रसाद सिंहले देशमा आठवटा सहरी करिडोर विकास गर्न लागेको जानकारी दिए। ‘हालसम्म सहर केन्द्रीत गरेर पूर्वाधार विकास भए तर पछिल्लो समय जनसंख्या वृद्धिसँगै सहर आसपासका सडकमा बसोबास बढ्दै गयो', उनले आइतबार भने, ‘तिनले अर्को सहरको त्यस्तै लहर छुने अवस्था भयो तर व्यवस्थित नहुँदा विकास अस्तव्यस्त हुने भएकाले सहरी करिडोर अघि बढाएका हौं।' आसपासमा बस्ती विकास हुँदै जाँदा भविष्यमा व्यवस्थित पूर्वाधार विकासमा ठूलो चुनौती हुने देखिएपछि सहरी करिडोरको अवधारणा अघि सारिएको उनको भनाइ छ।
पहिलो चरणमा धरान-इटहरी-विराटनगर र बुटवल-भरहवा-लुम्बिनी करिडोरको काम अघि बढाइने भएको हो।
सरकारले एडीबीको ऋण लगानीमा आठवटा सहरी करिडोर बनाउने भएको हो। सरकारले अध्ययनपछि आठवटा करिडोर बनाउने निर्णय गरेलगत्तै पहिलो चरणमा धरान-इटहरी-विराटनगर र बुटवल-भैरहवा-लुम्बिनी करिडोरको काम अघि बढाउने भएको हो। यी दुई करिडोरको विस्तृत सम्भाव्यता अध्ययन एसियाली विकास बैंक (एडीबी)ले अन्तर्राष्ट्रिय परामर्शदातामार्फत गरिरहेको छ। बैंकले चैत दोस्रो साता अध्ययन प्रतिवेदन सरकारलाई बुझाउँदै छ।
विभागको सहरी विकास महाशाखा प्रमुख पदम मैनालीले एउटा करिडोरले चार÷पाँचवटासम्म स्थानीय तह समेट्ने भएकाले ऋण र लगानीको पाटो कसरी व्यवस्थित गर्ने विभागले गृहकार्य गरिरहेको जानकारी दिए। ‘अध्ययन प्रतिवेदनले लगानी कस्तो र के-कति मात्रामा लगायत विषय प्रस्ट पारेपछि करिडोरमा लगानी र कति वर्षमा कस्तो परिणाम आउँछ भन्न सकिनेछ', उनले भने, ‘नेपालमा प्रशासनअनुसार पूर्वाधार निर्माणको काम भइरहेकाले देशभर नयाँ र पुराना सहर अव्यवस्थित भएका हुन् तर पूर्वाधार निर्माणअनुसार प्रशासन हुने हो भने सहरी करिडोरलगायत आयोजनाबाट व्यवस्थित सहर निर्माण गर्न सकिन्थ्यो।'
भारतले नयाँदिल्लीदेखि मुम्बईसम्म लगायत अन्य धेरै करिडोर निर्माण गरेको छ भने युरोपेली संघका ग्य्राभस् र ब्लू बनाना मोडेलका सहरी करिडोर विश्वका केही देशमा चर्चामा छन्। उनले भने, ‘पहिलोपटक गर्न लागिएको सहरी करिडोरलाई सही आकार दिन सक्यौं भने यसले नेपाललाई नयाँ दिशा दिनेछ।'