आन्तरिक घुमफिर गर्ने बढे

October 13, 2017

विमल खतिवडा, चितवन, २७ असोज २०७४ 

केही वर्षयता आन्तरिक रूपमा घुम्ने पर्यटक बढदै गएका छन् । घुम्नका लागि अधिकांशको रोजाइ मनाङ, मुस्ताङ, रारा ताल, इलाम, पोखरा र सौराहा हुने गरेको छ । 

विशेष गरेर चाडबाडको समयमा परिवारसँग मुलुकभित्रकै पर्यटकीय गन्तव्य घुमेर रमाउने बढदै गएका हुन् । गत वर्षझैं यस वर्ष पनि दसैंमा टीका थापेर घुम्न जानेको लर्को लाग्यो । मुलुकभित्रका नाम चलेका गन्तव्यमा पुग्ने धेरै भए । कोही गाडी रिजर्भ गरेर त कोही मोटसाइकलममा पुगे । सार्वजनिक सवारी साधन प्रयोग गरेरसमेत कतिपयले मन परेको ठाउँ पुग्न छुटाएनन् । अझै घुम्न जाने क्रम जारी छ ।

यस बेला कार्यालय, विद्यालय, कलेज छुट्टी हुने भएकाले घुम्न जानका लागि प्रतिस्पर्धा नै चल्छ । प्रत्येक दसैं मनाएर घुम्न जान रुचाउने शिक्षक तथा साहित्यकार सुरेन्द्र अस्तफलले यसपटक पनि घुम्न जाने अवसर गुमाएनन् । उनले गन्तव्य मुस्ताङ बनाए । घुम्न जाने उनी एक्ला थिएनन् । परिवारसहित सार्वजनिक गाडी चढेर मुस्ताङ पुगे । पहिलोपटक मुस्ताङ पुग्दा दंग परेको सुनाए । त्यहाँको सौन्दर्यताले उनलाई निकै लोभ्यायो । 

‘सोचेभन्दा सुन्दर रहेछ मुस्ताङ,’ उनले भने,‘ सामान्य खर्चमा सुन्दर ठाउँहरू घुम्न पाइयो ।’ जोमसोम, कागबेनी, मुक्तिनाथ, लेतेलगायत ठाउँ पुगेको सुनाए । बेनी हुँदै मुस्ताङ पुगेका उनलाई सडकमा पर्ने रूप्से झरनाले तान्यो । उनले तातोपानीमा बसेर रमाउने अवसर गुमाएनन् । ‘सामान्य खर्चमा यात्राको तिर्सना मेटाइयो,’ उनले भने,‘ हिमाल पारिको जिल्ला पुग्ने ठूलो चाहना थियो, त्यो पूरा भयो ।’ उनका अनुसार एक जनालाई ७ हजार रुपैयाँ खर्चमा लाग्यो । 

मुस्ताङमा घुम्न आउनेको ठूलै भीड थियो । होटल खचाखच थिए । बाह्य पर्यटकभन्दा आन्तरिक पर्यटक बढी थिए । निजी सवारी साधनमा आउनेको संख्या धेरै भएको अस्तफलले सुनाए । मनाङ हुँदै मुस्ताङ निस्कनेको जमात छुट्टै थियो । पैदल यात्रामा रमाउने पनि कमी थिएनन् । उता पहिलोपटक साथीहरूसँग मुगुको रारा ताल पुगेका युवा व्यवसायी दाताराम घिमिरेलाई त्यहाँको सौन्दर्यताले मोहित बनायो । ‘रारा तालको फोटो भिडियोमा मात्र हेरेको थिएँ,’ उनले भने,‘ प्रत्यक्ष हेर्दा झनै सुन्दर लाग्यो ।’ उनको रारा घुम्ने पहिलादेखिको चाहना यसैपालि पूरा भएको सुनाए । उनको ५ जनाको टोली गएको थियो ।

पछिल्लो समय परिवारका सदस्य घरमा भेला भएर गफ गर्नभन्दा मुलुकका विभिन्न ठाउँ घुमेर रमाउन थालेका छन् । दसैंका बेला विभिन्न जिल्लाबाट चितवन घुम्न आउने पर्यटक धेरै भए । पूर्व पश्चिमबाट सौराहा, मेघौली, पटिहानी, देवघाटलाई गन्तव्य बनाउने बढेका छन् । ‘बिदाको समय सदुपयोग गर्दै नयाँ ठाउँ घुमेर रमाउने नेपालीको संख्या बढदो छ,’ क्षेत्रीय होटल संघ सौराहाका अध्यक्ष सुमन घिमिरेले भने,‘ यसरी घुम्दा नयाँ ठाउँ देखिन्छ, रिफ्रेस भइन्छ ।’ उनका अनुसार पछिल्लो समय नेपालीहरूमा घुमफिरमा खर्च गर्ने ट्ेरनसमेत बढेको छ । 

स्रोत: http://kantipur.ekantipur.com/news/2017-10-13/20171013080828.html

Explore DevNotes

View More

Explore Nepal History

View More

Explore Datasets

View More