आयल निगमलाई १५ दिनमा ९९ करोड नाफा, पेट्रोलियम पदार्थको मूल्य नघट्ने

January 03, 2023

हिमालखबर, पुस १८, २०७९

भारतबाट आएको नयाँ मूल्य सूची अनुसार, नेपाल आयल निगमलाई आगामी १५ दिनमा ९९ करोड नाफा हुने भए पनि पेट्रोलियम पदार्थको मूल्य नघट्ने भएको छ।

आयल निगमले इन्डियन आयल कर्पोरेशन लिमिटेडसँग खरीद गरेर नेपालमा पेट्रोलियम पदार्थ बिक्री गर्दै आएको छ। इन्डियन आयल कर्पोरेशनले हरेक १५ दिनमा नयाँ मूल्य सूची पठाउने गरेको छ।

इन्डियन आयल कर्पोरेशनले १ जनवरी अर्थात् पुस १७ गते पठाएको नयाँ मूल्य सूची अनुसार, आगामी १५ दिनमा निगमलाई ९९ करोड नाफा हुने भएको हो। निगमले प्रेस विज्ञप्ति जारी गरी भनेको छ, ‘निगमलाई हाल एलपी ग्यासमा ३५९ रुपैयाँ ५० पैसा प्रति सिलिन्डर घाटा भई पेट्रोल, डिजेल, हवाई इन्धन र मट्टीतेलमा हुने केही नाफालाई गणना गर्दा समग्रमा निगमलाई आगामी १५ दिनमा अनुमानित ९९ करोड रुपैयाँ नाफा हुने अवस्था देखिएको छ।’

अहिले नाफा हुने अवस्था भए पनि ऋण तिर्न बाँकी रहेकाले तत्काल पेट्रोलियम पदार्थको मूल्य नघट्ने निगमले जनाएको छ। निगमले भनेको छ, ‘इन्डियन आयल कर्पोरेशन लिमिटेडको बक्यौता एवं नेपाल सरकारद्वारा उपलब्ध गराइएको ऋणको व्यवस्थापन गर्न निगमलाई अझै चुनौतीपूर्ण अवस्था रहेकाले हाललाई पेट्रोलियम पदार्थको खुद्रा बिक्री मूल्य यथावत् राखिएको छ।’

यसअघि पुस १ गते तय गरेको मूल्यमै पेट्रोलियम पदार्थको बिक्री हुने भएको छ। जसअनुसार, पेट्रोलको प्रति लिटर १७८ तथा डिजेल र मट्टीतेलको प्रति लिटर १७५ रुपैयाँ रहेको छ।

त्यस्तै, खाना पकाउने एलपी ग्यास प्रति सिलिन्डर एक हजार आठ सय, हवाई इन्धन आन्तरिकतर्फ प्रति लिटर १९० रुपैयाँ र बाह्यतर्फ १.६४५ डलर रहेको छ।

स्रोत: https://www.himalkhabar.com/news/133770

Newsletter

Submit your details below to receive Newsletters

Newsletter