आरोहण दस्तुर पाँच करोड १० लाख

October 15, 2019

मिनराज भण्डारी, नागरिक, असोज २८, २०७६ 

काठमाडौं – यस वर्षको शरद ऋतु (अटम सिजन)मा हिमाल आरोहीबाट शनिबारसम्म पाँच करोड १० लाख ५९ हजाररुपैयाँ दस्तुर संकलन भएको छ।

पर्यटन विभागले सार्वजनिकगरेको तथ्यांक अनुसार यो सिजनमा ५४ देशका सात सय ७१ आरोहीले विभिन्न हिमाल आरोहणका लागि अनुमति लिन उक्त दस्तुर बुझाएका हुन्। सरकारले आरोहणका लागि खुला गरेको हिमालमध्येबाट ३९वटा आरोहण गर्न उक्त संख्यामा नाम दर्ता भएको विभागले जनाएको छ।

हालसम्म नाम दर्ता गराउने एक सय आठ आरोहण दलका सदस्यमा पाँच सय ९६ पुरुष र एक सय ७८ महिला रहेको विभागले जनाएको छ। नाम दर्ता गराउनेमध्ये सबैभन्दा बढी २७ समूहका दुई सय ६४ आरोहीले मनास्लु आरोहणमा रुची देखाएका छन्। सबैभन्दा कम सुरा पिक तथा अमोलसाङ्मा आरोहण गर्न एक–एक समूहका दुईआरोहीले नाम दर्ता गराएका छन्।

बोर्डको तथ्यांक अनुसार ६ हजार एक सय १० मिटर उचाइका ४७ हिमालमध्ये अपी, भृकुुटी, डाँफे सेल, धौलागिरि, गौगिरि, हिमलुङ हिमाल, सगरमाथा, लोत्से, लाङटाङ, लुबुला, मनास्लु, मकालु, नुप्से, पाङपोचे पहिलो तथा दोस्रो, सरिबङ,थोरङ पिक लगायत छन्।

विभागको तथ्यांक अनुसार यस सिजनमा मनास्लु आरोहणका लागि २७समूहका दुई सय ६४ले अनुमति लिएका छन्। सन् २०१८ मा मनास्लु आरोहणमा १८समूहका एक ९० आरोही गएका थिए।सन् २०१९को सेप्टेम्बर १५ को तथ्यांक अनुसार मनास्लु आरोहणको लागि सबैभन्दा बढी चिनियाँले अनुमति लिएका छन्। ५७ जना चिनियाँले मनास्लु आरोहणअनुमति लिएका छन्। अनुमति लिनेमा ३८ पुरुष र १९ महिला रहेको विभागले जनाएको छ। मनास्लु आरोहणको लागि इटालीका १९ पुरुष र दुई महिला, जर्मनीका १५ पुरुष र दुई महिलाले अनुमति लिएका छन्। त्यस्तै, जापानका ११ पुुरुष तथा तीन महिला र अमेरिकाका ११ पुरुष र तीन महिलाले आरोहणमा रुची देखाएका छन्। उक्त क्षेत्रमा आरोहण टोलीसँग दुई सय ६९ पुरुष र एक महिला गरी नेपाली सहयोगी र भरिया पनि आरोहणमा संलग्न हुने बताइएको छ।

यो वर्ष शरद ऋतुमा सगरमाथा आरोहणका लागि दुईजनाले अनुमति लिएपनि सो क्षेत्रमा आरोहणका लागि आवश्यक पूर्वाधार विकास नभएका कारण उनीहरु आरोहण गर्न नसकि फर्किएको विभागले जनाएको छ। अहिलेको मौसममा आरोहणको हिसाबले मनास्लु उपयुक्त भएकोले आरोहीको बढी चाप रहेको विभागले जनाएको छ।

त्यस्तै, धौलागिरि हिमाल आरोहणका लागि तीन आरोही समूहका ३१ जनाले अनुमति पाएका छन्। विभागले उपलब्ध गराएको विवरण अनुसार सन् २०१८ को शरद ऋतुमा एक सय ६३ आरोही समूहले सगरमाथासहितका हिमाल आरोहणअनुमति लिएका थिए। पर्यटकीय सिजन अझै बाँकी रहेकाले अनुमति लिनेको संख्यामा बढ्ने विभागको अनुमान छ।

स्रोत: https://nagariknews.nagariknetwork.com/news/96841/

Newsletter

Submit your details below to receive Newsletters

Newsletter