News

आलिताल मौरीपालनको पकेट क्षेत्र बन्दै

February 05, 2018

करन ताम्राकार, नयाँ पत्रिका, २२ माघ २०७४

डडेल्धुरा जिल्लाको भित्री मधेस क्षेत्रसँग जोडिएको आलिताल गाउँपालिका मौरीपालनको पकेट क्षेत्र बनेको छ । नेपाल सरकाले युवालक्षित मौरीपालन कार्यक्रमले थोरै मिहिनेतमा मनग्य आम्दानी हुन थालेपछि युवाहरू मौरीपालनतिर आकर्षित भएको जिल्ला कृषि विकास कार्यालय डडेल्धुराले जनाएको छ ।

जिल्लामा झन्डै २ हजार परिवारले मौरीपालन गर्दै आएका छन् । जसमध्ये आलिताल क्षेत्रमा मात्र ५ सय किसानले मौरीपालन गर्दै आएको तथ्यांक छ । पर्याप्त चरन क्षेत्र भएका कारण आलितालमा मौरीपालन फस्टाउँदै गएको जिल्ला कृषि विकास कार्यालय डडेल्धुराका वरिष्ठ कृषि विकास अधिकृत दिनेशप्रसाद सापकोटाले बताए ।

दैनिक ज्याला र मजदुरी गर्ने दलित महिलाहरू युवालक्षित मौरीपालन कार्यक्रमबाट अनुदान पाएपछि व्यावसायिक मौरीपालनमा सक्रिय भएका छन् । डडेल्धुरामा कुल जनसंख्याको १४ प्रतिशत दलित समुदाय रहेका छन् ।

वर्षौँदेखि गर्दै आएको परम्परागत पेसाबाट गुजारा चल्न कठिन भएपछि मौरीपालन व्यवसाय रोजेको आलिताल जालटुडाकी पुनादेवी कामी बताउँछिन् । जिल्ला कृषि विकास कार्यालयले सञ्चालन गरेको युवालक्षित कार्यक्रमबाट १ लाख ८० हजार रकम अनुदान लिएर उनले व्यावसायिक मौरीपालन सुरु गरेकी हुन् ।

अहिले उनीसँग २० घार सेरेना जातका मौरी छन् । एक वर्षमा एक घारबाट ५ देखि ७ केजीसम्म मह उत्पादन हुन्छ । २० घारमा १ क्विन्टल मह उत्पादन गर्ने लक्ष्य लिएको उनले बताइन् ।

आलिताल घरेलुका कर्णबहादुर बोहराले ३२ घार मौरी व्यावसायिक रूपमा पालन गरिरहेका छन् । उनले १ लाख ८० हजार युवालक्षित मौरीपालन र १ लाख आफ्नै लगानी गरी मौरीपालन सुरु गरेको बताए । त्यस्तै अमरबहादुर बोहराले पनि अनुदान र व्यक्तिगत लगानीमा २५ घार मौरीपालन गरिरहका छन् ।

पहिलेदेखि नै मुढे घारमा दुई–तीन घार मौरीपालन गर्दै आएका बोहराले अनुदान पाएपछि गाउँमै व्यावसायिक मौरीपालन गरिरहेको बताए । सरकाले दिएको अनुदानको सफल सदुपयोग गर्ने र उत्कृष्ट व्यवसायी बन्ने उनको लक्ष्य छ ।

स्रोत: www.enayapatrika.com/2018/02/05/21287/