Kantipur, Krishna Thapa, Nuwakot, 26th March 2017
खानीगाउँका किसान एक दशक अघिसम्म गहुँ र तोरी खेतीमा सीमित थिए । आलुखेतीमा लागेपछि उनीहरूको जीवनस्तर नै फेरिएको छ ।
‘पहिले तोरी लगाइन्थ्यो, आम्दानी थोरै थियो,’ लिखु गाउँपालिका १ का मोहन राई भने, ‘अहिले तोरीभन्दा चौबर आलुबाट फाइदा पाइएको छ ।’ उनको ६ जनाको परिवार यसैले धानेको उनले सुनाए । उनले सुरुमा ५ बोरा फलाउन थालेको आलु हाल २४ हजार केजी पुर्याएका छन् । ‘गहुँ र तोरी लगाउँदा ज्याला पनि उठ्थेन,’ उनले भने, ‘अहिले घर खर्चदेखि छोराछोरी पढाउने खर्च सबै यसैले धानेको छ ।’ उनी ३० रोपनीमा हिउँदे आलुखेती गर्छन् । उनलाई आलुखेती गर्न कृषि सेवा केन्द्रले सिकाएको हो । उनको यसैको आयआर्जनले जीवन फेरिएको छ ।
यस्तै यहाँका भरत राईले पनि आलुबाटै मनग्ये आम्दानी गरेका छन् । अन्य बालीभन्दा आलु खेतीमा फाइदा रहेको उनले बताए । यहाँका सबैजसो किसानहरू वर्षे धान भित्र्याएपछि आलुखेती गर्छन् । यहाँ नीलो एमएस पोट्री टु प्वाइन्ट थ्री जातका आलुखेती बढी हुन्छ । आलुखेतीले स्थानीय किसानको जीवन सुधार भएको जिल्ला कृषि विकास कार्यालय प्रमुख डा. कमलराज गैरेले बताए । ‘यो नगदेबाली भएकाले सामान्य किसानले पनि अन्य बालीको तुलनामा राम्रो फाइदा पाएका छन्,’ उनले भने, ‘त्यसैले खानीगाउँलाई आलुको पकेट क्षेत्र घोषणा गरिएको छ ।’ जिल्लाको ९ वटा गाउँपालिका र एउटा नगरपालिकामा आलुखेती लगाउने गरिएको छ ।
बिउबिजन प्रमाणीकरण नुवाकोटमा
नुवाकोट आलुको बिउबिजन प्रमाणीकरण गर्ने पहिलो जिल्ला भएको छ । आलुबालीका लागि पूर्वमूल बिउ राष्ट्रिय आलुबाली विकास कार्यक्रम खुमलटार र जिल्ला विकास कार्यालयले जागरुक कृषि सहकारी संस्था थानपतिमार्फत बिउ उत्पादन गरेको हो ।
आर्थिक वर्ष ०७०/७१ देखि आलुको बीज वृद्धि कार्यक्रम सञ्चालन गरी चालु आवमा ४ हेक्टरमा ३६ टन बिउ आलु उत्पादन गरेको कार्यालयका सूचना अधिकारी छविप्रसाद शर्माले बताए । एमएस पोट्री टु प्वाइन्ट थ्री, जनकदेव, कार्डिनल र खुमल रातो जातका बिउ छन् । बिउबिजन गुण नियन्त्रण केन्द्र हरिहरभवनको सहयोगमा नेपालमा पहलिोपटक बिउ प्रमाणीकरण गर्न सकिएको कार्यालय प्रमुख गैरेले बताए । आलुको गुणस्तरीय बिउ किसानलाई उपलब्ध गराई उत्पादन र उत्पादकत्व वृद्धिमा मद्दत पुग्ने उनले बताए ।
नुवाकोटमा एक अर्बको उत्पादन
चालु आर्थिक वर्ष ०७३/७४ मा हिउँदे र वर्षे गरी ७५ हजार ९ सय २० टन आलु उत्पादन भएको कृषि विकास कार्यालयले जनाएको छ । बजार मूल्य प्रतिकिलो न्यूनतम १३ रुपैयाँका दरले ९८ करोड ६९ लाख ६० हजार रुपैयाँ हुन आउने सूचना अधिकारी शर्माले बताए । हिउँदे आलुखेती ३ हजार ५ सय ६० हेक्टर र बर्खे ७ सय ४५ हेक्टर गरी ४ हजार ३ सय ५ हेक्टरमा लगाइने गरेको छ । गत आव ०७२/७३ मा हिउँदे र बर्खे गरी ७३ हजार ६ सय ६९ टन आलु उत्पादन भएको कार्यालयले जनाएको छ ।
यस वर्ष ३.१ प्रतिशतले आलु उत्पादनमा वृद्धि भएको कार्यालयले जनाएको छ ।
Source: http://kantipur.ekantipur.com/news/2017-03-27/20170327085905.html