उत्कृष्ट २० विद्यालय छनोट

September 03, 2017

सुर्यप्रसाद पाण्डे, अन्नपुर्ण पोस्ट, १७ भाद्र २०७४ 

शिक्षा मन्त्रालयले देशभरका सामुदायिक तथा निजी (संस्थागत) विद्यालयमध्ये उत्कृष्ट २० लाई पुरस्कृत गर्ने भएको छ। अघिल्ला तीन वर्षका परीक्षामा प्राप्त नतिजा विश्लेषण, परीक्षामा सहभागी विद्यार्थी संख्या तथा तहअनुसार अध्यापन गराइएका विषयका आधार मानेर विद्यालय छनोट गरिने मन्त्रालयले जनाएको छ।

देशका करिब ३० हजार सामुदायिक र करिब ७ हजार निजी विद्यालयमध्ये २० छानिएका हुन्। मन्त्रालयका अनुसार सामुदायिकतर्फ ११ र निजीतर्फ ९ लाई छनोट गरिएको हो। कक्षा ११ र १२ को उत्कृष्ट नतिजाका आधारमा सामुदायिकतर्फ त्रिपुरेश्वरस्थित विश्व निकेतन मावि र निजीतर्फ बागबजारस्थित काठमाडौं मोडेल मावि छनोट भएका छन्। विश्व निकेतनका प्राचार्य हेरम्बराज कँडेलले भने, ‘विद्यालयले गरेको मिहिनेतअनुसार प्रतिफल पाउँदा खुसी लागेको छ। यसको श्रेय सम्पूर्ण मिहिनेती र इमानदार सहकर्मी, व्यवस्थापन समिति, अभिभावक र शुभचिन्तकलाई दिन चाहन्छु।’

कक्षा १० को पुरस्कारका लागि राष्ट्रिय स्तरमा सामुदायिकतर्फ बुटवलको कालिका मावि र निजीतर्फ विराटनगरको बालकल्याण विद्यामन्दिर छनोट भएका छन्। दुवै विद्यालयलाई सिल्ड, प्रमाणपत्र र नगद २ लाख रुपैयाँ प्रदान गरिनेछ।

प्रदेश स्तरमा उत्कृष्ट प्रदर्शन गरेबापत सामुदायिकतर्फ प्रदेश नम्बर १, २ र ३ बाट क्रमशः ओखलढुंगाको वरुणेश्वर मावि, रौतहटको ओम मावि र चितवनको नारायणी मोडेल मावि छन्। सामुदायिकतर्फ नै प्रदेश नम्बर ४, ५, ६ र ७ बाट क्रमशः कास्कीको बालमन्दिर मावि, बुटवलको कान्ति मावि, कालिकोटको मस्टो सरस्वती मावि र डोटीको सीताराम मावि छन्। दुर्गमबाट सामुदायिकतर्फ हुम्लाको महाबुद्ध मावि छनोट भएको छ। पुरस्कार राशि १ लाख रुपैयाँ छ।

यसपटक निजीतर्फ प्रदेश स्तरमा दिइने पुरस्कारका लागि प्रदेश नम्बर १, २, ३ र ४ बाट क्रमशः विराटनगरको एभरेस्ट बोर्डिङ स्कुल, रौतहटको मुनलाइट एकेडेमी, ललितपुरको जेम्स एकेडेमी र पर्वतको नमुना मावि परेका छन्। निजीतर्फ नै प्रदेश नम्बर ५, ६ र ७ बाट क्रमशः गोरखा युनाइटेड पब्लिक स्कुल, सुर्खेतको छिन्छु इङलिस बोर्डिङ स्कुल र कञ्चनपुरको इन्टरनेसनल पब्लिक स्कुल छन्। प्रदेश स्तरमा छानिएका सबै विद्यालयलाई सिल्ड, प्रमाणपत्र र नगद १ लाख रुपैयाँ प्रदान गरिनेछ।

कक्षा ९ देखि नै प्राविधिक शिक्षा अध्यापन गरिरहेका विद्यालयमध्ये पनि बुटवलको कालिका मावि नै छनोटमा परेको छ। यो विद्यालय सामुदायिकतर्फ पनि राष्ट्रिय पुरस्कारका लागि छनोटमा परेको छ। पुरस्कार भदौ २३ गते राष्ट्रिय शिक्षा दिवस तथा अन्तर्राष्ट्रिय साक्षरता दिवसका अवसरमा प्रदान गरिने मन्त्रालयका सहसचिव हरिप्रसाद लम्सालले बताए।

स्रोत: 

http://annapurnapost.com/news/79242

 

Explore DevNotes

View More

Explore Nepal History

View More

Explore Datasets

View More