News

उत्पादनमूलक उद्योगमा वैदेशिक लगानी बढ्यो

January 16, 2018

नवीन अर्याल, अन्नपुर्ण पोस्ट,  ०१ माघ २०७४ 

नेपालको उत्पादनमूलक उद्योगमा प्रत्यक्ष वैदेशिक लगानी (एफडीआई) आकर्षित भएको छ । उद्योग विभागमा आएको एफडीआई प्रतिबद्धताले विदेशी लगानीकर्ता उत्पादन क्षेत्रमा आकर्षित भएको देखाएको हो ।

विभागमा चालू आर्थिक वर्षको पहिलो ६ महिनामा १३ अर्ब ७३ करोड रुपैयाँ कुल लगानी प्रस्ताव आएको छ । यसमध्ये पाँच अर्ब ७० करोड उत्पादनमूलक उद्योगमा आएको हो । यो रकम प्रस्तावित कुल विदेशी लगानीको ४१.५१ प्रतिशत हुन आउँछ । गतवर्षको सोही अवधिमा उत्पादनमूलक क्षेत्रमा एक अर्ब नौ करोड लगानी प्रस्ताव आएको थियो । गतवर्ष सेवा र पर्यटन क्षेत्रमा लगानी केन्द्रित थियो । गतवर्षभन्दा यस वर्ष उत्पादनमूलक क्षेत्रमा विदेशी लगानी प्रस्ताव पाँच गुणाले बढेको छ ।

उत्पादनमूलक २९ उद्योगमा विदेशी लगानी आउन लागेको हो । पौने ६ अर्ब लगानीबाट दुई हजार ३५ जनालाई रोजगारी दिने प्रतिबद्धता छ । यसअघि पर्यटन, सेवा र हाइड्रो क्षेत्रमा बढी लगानीको प्रस्ताव आउने गथ्र्यो । खासगरी चिनियाँ लगानीकर्ता पर्यटन तथा होटल व्यवसायमा लगानी गर्न खोज्छन् । भारतीय लगानीकर्ताले उत्पादनमूलक उद्योगमा लगानी भित्याउने उद्योग विभाग आईटी शाखाका सीएम न्यौपानेले बताए । यो वर्ष उत्पादनमूलक उद्योगमा भारतीय लगानी प्रतिबद्धता बढेको छ ।

यो वर्ष समग्र लगानी प्रतिबद्धता पनि ४० प्रतिशतले बढेको छ । गतवर्षको ६ महिनामा आठ अर्ब ३० करोड लगानी प्रतिबद्धता आएको थियो । यो वर्षको सोही अवधिमा लगानी प्रतिबद्धता १३ अर्ब ७३ करोड पुगिसकेको छ । मुलुकमा राजानीतिक स्थिरता आउने संकेत देखिएपछि विदेशी लगानीकर्ता उत्साहित बनेको देखिन्छ । शान्तिपूर्ण रूपमा स्थानीय तह, प्रदेशसभा र प्रतिनिधिसभाको निर्वाचन सम्पन्न भएपछि विदेशी लगानी प्रतिबद्धता पनि बढेको हो । नयाँ संविधान नमान्ने भन्दै आन्दोलित असन्तुष्ट पक्ष पनि निर्वाचनमा सक्रिय सहभागी भयो । सबैको सक्रिय सहभागितामा सम्पन्न निर्वाचनले लगानीकर्तामा उत्साह थपेको विज्ञ बताउँछन् ।

यो वर्ष समग्र लगानी प्रतिबद्धता पनि ४० प्रतिशतले बढेको छ । गतवर्षको ६ महिनामा आठ अर्ब ३० करोड लगानी प्रतिबद्धता आएको थियो । यो वर्षको सोही अवधिमा लगानी प्रद्धिबद्धता १३ अर्ब ७३ करोड पुगिसकेको छ ।

समीक्षा अवधिमा कृषि तथा वनजन्य परियोजनामा एक अर्ब ८६ करोड लगानी प्रतिबद्धता आएको छ । ११ परियोजनामा आउन लागेको लगानीले दुई ८५ जनालाई रोजगारी दिनेछ । यस्तै ऊर्जामा तीन परियोजनामार्फत एक अर्ब ७० करोड लगानीको प्रस्ताव आएको छ । सूचना प्रविधिमा १५ कम्पनीले १७ करोड लगानी गर्ने भएका छन् । यसैगरी खानीजन्य परियोजनामा एउटै कम्पनीले दुई अर्ब लगानी गर्ने प्रस्ताव गरेको छ ।

यस अवधिमा सेवामूलक क्षेत्रमा ५० परियोजनामार्फत एक अर्ब पाँच करोड भित्याउने प्रतिबद्धता छ । पछिल्लो समय लगानीका लागि युनिक क्षेत्र मानिएको पर्यटनमा एक अर्ब २३ करोड लगानी आउने भएको छ । टुरिजम क्षेत्रमा पनि ५० वटा परियोजना आउन लागेका हुन् । ६ महिनाको कुल लगानी प्रतिबद्धताबाट ६ हजार पाँच सय २३ जनाले रोजगारी पाउनेछन् । सेवा र पर्यटन क्षेत्रमा क्रमशः एक हजार ६ सय र एक हजार पाँच सय ४३ जनाले रोजगारी पाउने प्रतिबद्धता छ ।

साउथ कोरियनले नुवाकोटमा कंक्रिट ब्लक उत्पादन गर्ने भएका छन् । भारतको टेक्सटाइल उद्योग एक करोड लगानी गरेर टेक्सटाइल उद्योग खोल्न कस्सिएको छ । वरुण बेभरेजले सफ्टड्रिङस तथा जुस उत्पादनका लागि दुई अर्ब ३९ करोड विदेशी लगानी भित्याउने भएको छ । जापानको बेलटेको इंकले रूपन्देहीमा एक करोड रुपैयाँ लगानी गर्दै छ । भारतको मीनाक्षी पोलिमर्सले पीयू सिट कभर उत्पादन गर्न रूपन्देहीमा डेढ करोड लगानी भित्याउनेछ ।

चिनियाँ लगानीकर्ताले मकवानपुरमा २४ करोड रुपैयाँ लगानी गरेर आयुर्वेदिक मेडिसिन उत्पादन गर्ने भएका छन् । चीनकै झु छेइङले चार करोड ९० लाख लगानीमा प्रि-फेब्रिक उत्पादन गर्ने प्रस्ताव गरेका छन् । यूएईको क्रिप्सी फेज्कोले काठमाडौंमा १० करोड ४० लाख लगानी गर्ने प्रस्ताव गरेको छ । भारतीय व्यवसायीले इलेक्ट्रिक रिक्सा उत्पादन गर्न नवलपरासीमा करिब पाँच करोड लगानी गर्दै छन् ।

अमेरिकी लगानीकर्ताबाट रसुवामा जलविद्युत् उत्पादन गर्न ४१ करोड ६८ लाख लगानी भित्याउने प्रस्ताव गरेका छन् । यो परियोजनामा स्थानीयको ७५ प्रतिशत र विदेशीको २५ प्रतिशत लगानी हुनेछ । चीनको सिचुवान टिन्नी ग्रुपले नवलपरासीमा सिमेन्ट उत्पादनका लागि टिन्नी सिमेन्ट उद्योगमार्फत एक अर्ब ३३ करोड लगानी गर्ने भएको छ । सिमेन्ट उद्योगमा स्थानीयको ३० प्रतिशत र टिन्नी ग्रुपको ७० प्रतिशत लगानी रहनेछ ।

स्रोत: http://annapurnapost.com/news-details/88414