उद्योगको क्षमता उपयोग ६० प्रतिशत पुग्यो

July 26, 2019

यज्ञ बञ्चाडे, कान्तिपुर, साउन १०, २०७६ 

पछिल्ला पाँच वर्षमा उद्योगको क्षमता उपयोग ८ प्रतिशत विन्दुले बढेको छ।

काठमाडौँ — नेपाली उद्योगको क्षमता उपयोग ६० प्रतिशत पुगेको छ । यो गत आर्थिक वर्षको पहिलो ६ महिनाको तथ्यांक हो । अघिल्लो वर्षको सोही अवधिको तुलनामा गत वर्ष उद्योगको क्षमता उपयोग २ प्रतिशत विन्दुले बढेको हो ।

विद्युत् आपूर्तिमा आएको सुधार र बन्द हडतालजस्ता अवरोध नभएकाले समग्र उद्योगहरूको क्षमता उपयोग बढेको राष्ट्र बैंकको प्रतिवेदनमा औंल्याइएको छ । आर्थिक वर्ष ०७४/०७५ मा उद्योगको क्षमता उपयोग ५८ प्रतिशत थियो ।

पछिल्ला वर्षमा उद्योगको क्षमता उपयोग निरन्तर रूपमा बढदो छ । यही क्रममा पछिल्ला पाँच वर्षमा उद्योगको क्षमता उपयोग करिब ८ प्रतिशत विन्दुले बढेको छ । आर्थिक वर्ष ०७१/७२ मा उद्योगको क्षमता उपयोग ५२.६७ प्रतिशत थियो । गत वर्षसम्म आइपुग्दा यो ६० प्रतिशत पुगेको छ ।

प्रतिवेदनअनुसार गत वर्ष पस्मिना, बियर, वनस्पति घिउ, फलामको रड, प्रशोधित चिया, खाने तेल र चाउचाउ उद्योगले अधिकतम क्षमता उपयोग गरेको छन् । सोही अवधिमा गार्मेन्ट उद्योगको क्षमता उपयोग सबैभन्दा कम (३२.१ प्रतिशत) मात्र छ ।

बन्द हडताल नहुनुका साथै नियमति विद्युत् आपूर्तिले उद्योगको क्षमता उपयोग बढाउन मद्दत पुगेको उद्योग वाणिज्य महासंघक अध्यक्ष भवानी राणाले बताइन् । ‘प्रविधिको उपयोग बढदो छ,’ उनले भनिन्, ‘यसले पनि वस्तु तथा सेवाको उत्पादन बढाएको छ ।’ केही वर्षयता उद्योगको क्षमता उपयोग र उत्पादन बढे पनि उच्च ब्याजदरका कारण उद्योगले सुचारु रूपले काम गर्न नपाएको उनको गुनासो छ । ‘अझै पनि धेरै सुधार गर्नुपर्नेछ,’ उनले भनिन्, ‘केही क्षेत्रमा नीति नियम निर्माण गर्नुछ भने कही निर्माण भएका ऐन नियमको प्रभावकारी कार्यान्वयन गर्नुछ ।’ त्यसो हुन सकेको खण्डमा नेपाली उद्योगले अर्थतन्त्रमा महत्त्वपूर्ण योगदान दिन सक्ने उनको दाबी छ ।

औद्योगिक उत्पादनमध्ये वनस्पति घिउ तथा तेल, अन्न तथा पशुदाना, प्रशोधित दूध, अन्य खाद्य पदार्थ, चुरोट, सिन्थेटिक कपडा, पस्मिना, गार्मेन्ट, रोजिन, बिजुलीका तार र केबुलको उत्पादन घटेको प्रतिवेदनले देखाएको छ । सोही अवधिमा मदिरा, बियर, हल्का पेय पदार्थ, धागो, जुटका सामान, प्रशोधित छाला, चिरेको काठ, कागज तथा कागजका उत्पादन, प्लास्टिकका सामान, धातुका उपकरणलगायतको उत्पादन बढेको छ ।

‘पेय पदार्थ समूहको उत्पादन ११.४ प्रतिशत, जुटका सामान १३.३ प्रतिशत, चिरेको काठको उत्पादन २६.१ प्रतिशत, कागज तथा कागजका उत्पादन ५०.५ प्रतिशत, प्लास्टिकको सामानको उत्पादन १.५ प्रतिशतले बढेको छ,’ प्रतिवेदनमा भनिएको छ, ‘वनस्पति घिउ तथा तेल ७, दुग्ध पदार्थ ९.८, अन्न तथा पशुदाना समूहको उत्पादन ५.७, अन्य खाद्य पदार्थ समूहको उत्पादन ३.४ र चुरोटको उत्पादन १२.३ प्रतिशतले घटेको छ ।’ सोही अवधिमा तयारी कपडा ५१.४ प्रतिशत, रोजिनको उत्पादन ९९.२ प्रतिशत तथा बिजुलीको तार र केबुल उत्पादनमा१.७ प्रतिशतले घटेको राष्ट्र बैंकलेजनाएको छ ।

गत वर्ष औद्योगिक कर्जा १७.१ प्रतिशतले बढेको छ । गत वर्षको पहिलो ६ महिनामा बैंक तथा वित्तीय संस्थाले औद्योगिक क्षेत्रमा ९ खर्ब ६६ अर्ब ८४ करोड रुपैयाँ कर्जा प्रवाह गरेका छन् ।गत वर्षको सोही अवधिमा यस्तो कर्जा १२.८ प्रतिशतले बढेको थियो । सो अवधिको कुल प्रवाहित कर्जामध्ये औद्योगिक क्षेत्रमा गएको कर्जाको हिस्सा ३५.८ प्रतिशत छ ।

‘कुल औद्योगिक कर्जामध्ये खानीसम्बन्धी उद्योगमा प्रवाहित कर्जा सबैभन्दा बढी ४३.९ प्रतिशतले बढेको छ,’ प्रतिवेदनमा उल्लेख छ, ‘सबैभन्दा कम निर्माण क्षेत्रमा १०.६ प्रतिशतले वृद्धि भएको छ ।’ यस्तै उत्पादनसम्बन्धी उद्योगमा २१.३, विद्युत्, ग्यास र पानीसम्बन्धी उद्योगमा १६.१, धातुका उत्पादन, मेसिनरी तथा इलेक्ट्रोनिक उद्योगमा १८.४ र पर्यटन उद्योग/सेवासम्बन्धी उद्योगमा १४.८ प्रतिशतले कर्जा प्रवाह बढेको देखिन्छ ।

यो अध्ययन प्रतिवेदन राष्ट्र बैंकले तयार पारेको हो । राष्ट्र बैंकका काठमाडौं उपत्यका बाहिरका कार्यालय (विराटनगर, जनकपुर, वीरगन्ज, पोखरा, सिद्धार्थनगर, नेपालगन्ज र धनगढी) बाट तोकिएका ५७ जिल्लामा गरिएको स्थलगत सर्वेक्षण र अन्तर्क्रियाको आधारमा ६/६ महिनामा प्रतिवेदन तयार पारिन्छ ।

स्रोत: https://www.kantipurdaily.com/business/2019/07/26/156410733987158646.html

Explore DevNotes

View More

Explore Nepal History

View More

Explore Datasets

View More