उद्योगमा विदेशी लगानी घट्यो

January 31, 2019

तुलसी सुवेदी, अन्नपूर्ण पोष्ट, माघ १७, २०७५ 

चालु आवको पुससम्म एक सय ९५ वटा उद्योगमा १० अर्ब २४ करोड ३० लाख रुपैयाँ विदेशी लगानी स्वीकृत गरिएको छ।तुलसी सुवेदी÷काठमाडौं सरकारले विदेशी लगानीको वातावरण बनेको दाबी गरिरहेकै बेला उद्योगमा विदेशी लगानी घटेको छ। चालु आर्थिक वर्षको ६ महिना (साउन–पुस) मा गत वर्षको यसै अवधिको तुलनामा औद्योगिक क्षेत्रमा विदेशी लगानी चार अर्बभन्दा बढी घटेको छ। उद्योग विभागका महानिर्देशक विनोदकुमार सिंहले उद्योगको संख्या बढे पनि पुँजी घटेको जानकारी दिए।

उद्योग विभागका अनुसार चालु आवको पुससम्म एक सय ९५ वटा उद्योगमा १० अर्ब २४ करोड ३० लाख रुपैयाँ विदेशी लगानी स्वीकृत गरिएको छ। तर, गत वर्षको सोही अवधिमा एक सय ६८ वटा उद्योगमा १४ अर्ब विदेशी लगानी आएको थियो। तर, ती उद्योगमा विदेशीले थोरै मात्रै लगानी गरेका कारण पुँजी घटेको हो। उद्योग विभागका तथ्यांक अधिकृत सीएम न्यौपानेका अनुसार ठूला उद्योगमा विदेशी लगानी घटेको छ। चालु आवमा पाँचवटा उद्योगमा मात्रै विदेशी लगानी आएको छ। गत वर्ष आठवटा ठूला उद्योगमा विदेशी लगानी थियो।

गत आर्थिक वर्षमा आठवटा ठूला उद्योगमा नौ अर्ब ९५ करोड लगानी भएको थियो तर चालु वर्षको ६ महिनामा पाँच ठूला उद्योगमा पाँच अर्ब १२ करोड ७० लाख लगानी भएको छ। ठूला उद्योगमा विदेशी लगानी घटे पनि मझौलामा विदेशी लगानी बढेको छ। लगानीको पर्याप्त वातावरण नभएकाले विदेशी लगानी गर्न उत्साहित नदेखिएको जानकारहरू बताउँछन्। उद्योग विभागका अनुसार पुसमसान्तसम्म १० वटा मझौला उद्योगमा एक अर्ब ७६ करोड ६० लाख रुपैयाँ विदेशी लगानी भएको छ।

गत वर्ष सोही अवधिमा चारवटा मझौला उद्योगमा ८२ करोड ७० लाख लगानी भएको थियो। यस्तै साना उद्योगमा पनि विदेशी लगानी भित्रिएको छ। विभागका अनुसार चालु आवको पुससम्म एक सय ८० वटा साना उद्योगमा तीन अर्ब ३४ करोड ९० लाख लगानी आएको छ। सोही अवधिमा गत वर्ष एक सय ५६ साना उद्योगमा तीन अर्ब २२ करोड ७० लाख लगानी भएको थियो।

विभागका महानिर्देशक सिंहले विदेशी लगानी आकर्षित गर्न उद्योग दर्ता गर्ने क्रममा एकल बिन्दु सेवा सुरु गर्न लागिएको बताए। ‘निर्देशिका बनाएर सबै सेवा एकै ठाउँबाट दिने तयारी गरेका छौं’, उनले भने। सरकारले विदेशी लगानी भित्र्याउन प्रत्येक्ष वैदेशिक लगानी तथा प्रविधि हस्तान्तरण ऐनसमेत परिमार्जन गर्ने तयारी गरेको छ। औद्योगिक व्यवसाय ऐनसमेत परिमार्जन गरी विदेशी लगानी सहज बनाउने सरकारको तयारी छ। ‘नीतिगत सुधार गरी विदेशी लगानी ल्याउने माध्यम खुकुलो बनाउने तयारीमा छौं’, सिंहले भने, ‘त्यसपछि उद्योगमा विदेशी लगानी बढ्नेछ।’

लगानी बोर्ड नेपालका प्रवक्ता उत्तमभक्त वाग्लेले उद्योगमा विदेशी लगानी घटेको देखिए पनि समग्रमा नेपालमा विदेशी लगानी बढेको बताए। ‘लगानी सम्मेलन, स्थिर सरकारलगायत कारण पछिल्लो समयमा विदेशी लगानी आकर्षित भएको सरकारी अधिकारीहरू बताउँछन्। ‘परियोजनाका आधारमा पनि विदेशी लगानी भर पर्छ’, उनले भने, ‘गत वर्ष होङसी सिमेन्टमा लगानी भित्रिएकाले यस वर्षभन्दा गत वर्ष विदेशी लगानी बढी देखिएको हो।’

महानिर्देशक सिंहले गत वर्ष हाइड्रोपावर कम्पनी दर्ता भए पनि यस आवमा अझै आइनसकेको जानकारी दिए। ‘केही ठूला उद्योग दर्ता हुने क्रममा छन्, ‘उनले भने,‘आवको अन्तमा गत वर्षको तुलनामा लगानी बढ्न सक्छ।’

सोर्त: http://annapurnapost.com/news/119162

Explore DevNotes

View More

Explore Nepal History

View More

Explore Datasets

View More