उन्तति परियोजनाका सडक अधुरा

March 09, 2018

प्रकाश पाक्साँवा, कारोबार, शुक्रवार, फाल्गुन २५, २०७४

उन्नति परियोजनाको लगानीमा निर्माण भइरहेको ग्रामीण सडकहरू ठेकेदारको लापरबाहीका कारण लथालिंग भएको छ । जिल्लाको विभिन्न क्षेत्र गरी नौवटा सडक निर्माणका लागि करिब ५० करोड बजेट स्टिमेट गरिए पनि उद्देस्यअनुसारको काममात्र होइन बजेटसमेत खर्च हुन नसकेको उन्तति परियोजनाका कृषि व्यवसाय विज्ञ रमेश भण्डारीले बताए । “टेन्डर आव्हान गर्दा ठेकेदारहरूको छेकाछेक हुन्छ,” भण्डारीले भने “निर्माणका लागि जिम्मा पाएकाहरूले काम भने सन्तोषजनक गरेनन् ।”
उन्नतिको आर्थिक सहयोगमा सिधुवा–शुक्रबारे सडक (९किमि) निर्माणको जिम्मा पाएको वाईपी कन्ट्रक्सनले लामो समयसम्म पनि काम पूरा गरेन । छथर गाउँपालिका जोड्ने एकमात्र उक्त सडक निर्माणका लागि गाउँपालिकाले पटकपटक ताकेता गरेपछि अहिले निर्माणकार्य भइरहेको छ तर सम्झौता मिति सकिन केही महिनामात्र बाँकी रहेकाले काम सम्पन्न हुने सम्भावना कम रहेको गाउँपालिकाका अध्यक्ष सन्तोष तिगेलाले बताए ।
उन्नतिको सहयोगमा निर्माणाधीन चित्रे–फुलेक सडक (१० किमि) पनि अलपत्र छ । निर्माणको जिम्मा पाएको बिरुवा एटेक कन्ट्रक्सनले समेत सम्झौताअनुसार काम पूरा गर्न नसकेको परियोजनाका भौतिक पूर्वाधार विज्ञ मोहन श्रेष्ठले बताए । उनका अनुसार टेन्डर ढिलो परेकोे सेर्मा–नेवाई (५किमि) कृषि सडक खण्डको निर्माण जिम्मा पाएको कान्छाराम कन्ट्रक्सनले समेत सम्झौता मितिसम्म काम सम्पन्न गर्न नसक्ने देखिएको छ । 
ग्रामीण भेगमा उत्पादन हुने कृषिजन्य उत्पादन निकासीका लागि सडक आवश्यक भएको भन्दै उन्नतिको सहयोगमा निर्माण सुरु गरिएका आधा दर्जन बढी सडक ठेकेदारकै कारण पलपत्र परेका छन् । कृषि सडक निर्माणका लागि सम्झौता सकिन केही महिनामात्र बाँकी रहँदा १० प्रतिशतमात्र काम भएका सडक अधिकांश छन् । परियोजनाले निर्माण गर्ने भनिएको लशुने–मंगलबारे कृषि सडक, फलाइचा–मुसाङखेल सडक, शुक्रबारे–जोडी सल्ला र लिखुवा–सिकिदिम सडक निर्माण गर्ने अख्तियारी प्राप्त भएपछि टेन्डर निस्किए पनि सडक निर्माणका लागि टेन्डर नपरेपछि निर्माणकार्य अन्योलमा परेको छ । 
स्थानीय जनप्रतिनिधिहरूको अनुरोधमा टेन्डर नपरेका सडकका लागि स्थानीय उपभोक्ता समितिमार्फत सडक निर्माण गर्ने अख्तियारी प्राप्त भएपछि अहिले धमाधम उपभोक्ता समिति गठनकार्य भइरहेको जिल्ला समन्वय समितिका प्रमुख शिवप्रसाद ढुंगानले बताए । जिल्ला समन्वय समितिका प्रमुख ढुंगानाले दाताको सहयोगमा सञ्चालित योजना स्थानीय जनप्रतिनिधिहरूले निगरानी गर्नुपर्ने धारणा राखेका छन् ।

उन्नतिले प्रदेश नम्बर एकका पूर्वीपहाडका सात जिल्लालाई मुख्य थलो बनाई बजार विकासको माध्यमद्वारा गरिबी निवारणमा टेवा पुराउने उद्देस्यले अदुवा, चिया, अलैंची र दूधमा समेत लगानी गरेको छ । परियोजनाअन्तर्गत उन्नति कोष, सिधा सहयोग र सडक निर्माणको काम सञ्चालनमा छ ।

स्रोत: https://karobardaily.com/news/country/3002

Explore DevNotes

View More

Explore Nepal History

View More

Explore Datasets

View More