उपकरण र ब्यान्डविथमा साढे ४ अर्ब बिदेसियो

March 14, 2017

Kantipur, 13th March 2017

दूरसञ्चार सेवाको उपकरण र ब्यान्डविथ खरिदका लागि गत वर्ष करिब साढे ४ अर्ब रुपैयाँ बिदेसिएको छ । नेपाल दूरसञ्चार प्राधिकरणका अनुसार गत वर्ष १ खर्ब आम्दानी गरेका कम्पनीहरूले त्यसको करिब साढे ४ प्रतिशत रकम उपकरण र ब्यान्डविथमा खर्चेका हुन् । 

प्राधिकरणका अनुसार गत वर्ष दूरसञ्चार कम्पनीले उपकरण खरिदका लागि २ अर्ब ८३ करोड रुपैयाँ खर्चेका छन् । ब्यान्डविथ खरिदका लागि भने नेपालबाट गत वर्ष १ अर्ब ६३ करोड रुपैयाँ बाहिरिएको छ ।

दूरसञ्चार सेवा विस्तार र मर्मतका लागि उपकरण आयात हुने गर्छ भने इन्टरनेट सेवाका लागि ब्यान्डविथ आवश्यक पर्छ । नेपाली दूरसञ्चार सेवा प्रदायकले अधिकांश उपकरण चीनबाट खरिद गर्ने गरेका छन् । ब्यान्डविथ भने भारतीय कम्पनीसँग सम्झौता गरेर सिंगापुर तथा हङकङबाट ल्याउने गरिन्छ । 

केही महिनाअघि मात्र नेपाल टेलिकमले पहिलोपटक चीनसँग ब्यान्डविथ खरिदको सम्झौता गरे पनि हालसम्म चिनियाँ बाटोबाट ब्यान्डविथ भित्रिएको भने छैन । ‘नेपाली कम्पनीले वर्षको साढे ४ देखि ५ अर्ब रुपैयाँ उपकरण र ब्यान्डविथका लागि खर्चेको देखिएको हो,’ प्राधिकरणका प्रवक्ता मीनप्रसाद अर्यालले भने, ‘सेवा विस्तार तीव्र भएका वर्षहरूमा उपकरण आयातको रकम भने योभन्दा धेरै हुने गथ्र्यो ।’ प्राधिकरणको वार्षिक प्रतिवेदनमा गत वर्ष उपकरण र ब्यान्डविथ गरी कम्पनीहरूले कुल ४ अर्ब ४६ करोड रुपैयाँ खर्चेको देखिएको छ । 

उपकरण र ब्यान्डविथ दुवैमा सबैभन्दा धेरै रकम खर्चनेमा सरकारी स्वामित्वको नेपाल टेलिकम रहेको छ । टेलिकमले गत वर्ष कुल २ अर्ब ५८ करोड रुपैयाँका उपकरण खरिद गरेको छ । यो कुल उपकरण आयातको ९१.२२ प्रतिशत हो । यसैगरी टेलिकमले गत वर्ष ७० करोड ७३ लाख रुपैयाँको ब्यान्डविथ खरिद गरेको छ । 

यो नेपाली सेवा प्रदायकले खरिद गरेको कुल ब्यान्डविथमध्ये ४३ दशमलव ३० प्रतिशत हो । नेपाल टेलिकमपछि एनसेलले उपकरण र ब्यान्डविथमा रकम खर्चेको देखिएको छ । एनसेलले गत वर्ष ३२ करोड ३९ लाख रुपैयाँका उपकरण खरिद गरेको हो । यो कुल उपकरण खरिदको ८.४४ प्रतिशत हो । यसैगरी एनसेलले गत वर्ष ४३ करोड ७२ लाख रुपैयाँको ब्यान्डविथ खरिद गरेको छ । यो कुल ब्यान्डविथ खरिदको २६ दशमलव ७६ प्रतिशत हो । 

टेलिकम र एनसेलपछि युनाइटेड टेलिकम लिमिटेड (यूटीएल), एसआईटीए, आइफोर टेक्नोलोजिज र कन्स्याटलेसन प्रालिले धेरै उपकरण खरिद गरेका छन् । यसैगरी टेलिकम र एनसेलपछि ब्यान्डविथका लागि धेरै रकम खर्चिनेमा कम्युनिकेसन्स एन्ड कम्युनिकेट प्रालि, लुम्बिनी नेट, वल्र्डलिंक, स्मार्ट टेलिकम, मर्कन्टाइल, नेपाल स्याटलाइटलगायतका कम्पनी छन् । 

प्राधिकरणका अनुसार अघिल्लो वर्षको तुलनामा गत वर्षको उपकरण एवं ब्यान्डविथको आयात घटेको हो । अघिल्लो वर्ष कुल ५ अर्ब ३८ करोडको उपकरण र ब्यान्डविथ आयात भएको थियो । त्यस वर्ष ३ अर्ब ८२ करोडका उपकरण र १ अर्ब ५६ करोडको ब्यान्डविथ आयात भएको थियो । ब्यान्डविथको आयात बढेको देखिए पनि उपकरणको घटेको देखिएको हो । ‘धेरै कम्पनीले सेवा विस्तार गर्ने काम सकेकाले पनि उपकरण आयात घटेको हुन सक्छ,’ अर्यालले भने ।



Source: http://kantipur.ekantipur.com/news/2017-03-14/20170314083142.html

Explore DevNotes

View More

Explore Nepal History

View More

Explore Datasets

View More