अर्जुन अधिकारी, नयाँ पत्रिका, फागुन १६, २०७४
स्वास्थ्य उपचार गर्न भन्दै मन्त्रालयको काम छाडी दर्जनौँ कर्मचारी अस्पताल जान थालेपछि सरकारले सिंहदरबारभित्रै हेल्थ डेस्क सञ्चालनमा ल्याएको छ । उपचारका नाममा दिनहुँ कर्मचारी स्वास्थ्य परीक्षणका नाममा काम छाड्दै हिँड्न थालेपछि सरकारले स्वास्थ्य मन्त्रालयलाई सिंहदरबारभित्रका कर्मचारीलाई लक्षित गरी हेल्थ डेस्क सञ्चालन गर्न निर्देशन दिएको थियो । सोही निर्देशनअनुसार छैटौँ स्वास्थ्य सेवा दिवसको अवसर पारेर सिंहदरबारभित्रका सात हजार कर्मचारीलाई लक्षित गरी डेस्क सञ्चालनमा ल्याइएको मुख्यसचिव लोकदर्शन रेग्मीले जानकारी दिए । मुख्यसचिव रेग्मी र स्वास्थ्य सचिव पुष्पा चौधरी संयुक्त रूपमा हेल्थ डेस्कको उद्घाटन गरे।
सिंहदरबारभित्र अति आवश्यक पर्यो
मुख्यसचिव रेग्मीले सिंहदरबारभित्र अति आवश्यक ठानेर स्वास्थ्य मन्त्रालयसँग आवश्यक सहयोग मागेको बताए । ‘हामी निरन्तर काममा व्यस्त भएका हुन्छौँ,’ उनले भने, ‘कुन समयमा के समस्या हुन्छ थाहा हुँदैन । त्यसैले, सिंहदरबारभित्रका कर्मचारीको स्वास्थ्यलाई ध्यानमा राखेर हेल्थ डेस्क सञ्चालनमा ल्याइएको हो ।’
सरकारी कर्मचारी, ड्राइभर, क्यान्टिनमा काम गर्ने विभिन्न निकायका कर्मचारी गरी सात हजार कर्मचारी सिंहदरबारभित्र रहेको भन्दै रेग्मीले उनीहरूको स्वास्थ्यमा देखापर्ने जोखिमलाई मध्यनजर गरेर डेस्क सञ्चालनमा ल्याएको बताए । ‘हाल सानो कोठाबाट सुरु भएको छ । यसलाई केही समयभित्र अन्तै सारेर बेग्लै अफिसको व्यवस्था गर्नेछौँ,’ रेग्मीले भने । हेल्थ डेस्क सञ्चालनसँगै अब सिंहदरबारभित्रका कर्मचारीले सामान्य उपचारका लागि बाहिर जानुपर्ने बाध्यता हटेको छ । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको भवनमा दुई कोठा हेल्थ डेस्कका लागि छुट्याइएको छ ।
के–के छ हेल्थ डेस्कमा ?
स्वास्थ्य मन्त्रालयले हेल्थ डेस्कलाई नमुना डेस्कका रूपमा विकास गर्ने भएको छ । स्वास्थ्य मन्त्रालयले सञ्चालनका लागि आवश्यक बजेट छुट्याउनेछ भने कर्मचारी वीर अस्पतालले व्यवस्थापन गर्नेछ । तत्काल स्वास्थ्य परीक्षणका लागि चाहिने उपकरण, सरकारले उपलब्ध गराउँदै आएका निःशुल्क औषधि, अक्सिजन र सुरुवातमा एक बेड उपलब्ध छ । केही समस्या भए तत्काल रोकथाम सिंहदरबारभित्रै हुने र त्यहाँ उपचार हुन नसके सीधै अस्पताल रिफर गरिनेछ । मन्त्रालयले सिंहदरबारका कर्मचारीलाई लक्षित गरेर सुविधासम्पन्न एम्बुलेन्स पनि २४सै घन्टा तयारी अवस्थामा राख्नेछ । हेल्थ डेस्कमा तत्कालका लागि एक डाक्टर, एक नर्स र एकजना पारामेडिक्स रहनेछन् ।
वीर अस्पतालमा क्यान्सर परीक्षण सुरु
देशकै जेठो वीर अस्पतालले क्यान्सर रोगको निःशुल्क परीक्षण सुरु गरेको छ । स्वास्थ्य सेवा दिवसका अवसर पारेर अस्पतालले मंगलबारदेखि परीक्षण सुरु गरेको हो । सरकारले उपलब्ध गराएको एक करोड रुपैयाँबाट सेवा सुरु गरिएको चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानका उपकुलपति प्रा.डा. गणेश गुरुङले बताए । ‘स्वास्थ्य कर कोषबाट प्राप्त एक करोडबाट सेवा सुरु गरेका छौँ,’ गुरुङले भने, ‘यो सेवालाई चाँडै फराकिलो बनाएर लैजानेछौँ ।’
क्यान्सर परीक्षण सेवा सुरु हुनुले वीर अस्पतालले पुनर्जन्म पाएको उनको भनाइ थियो । ‘यो कार्य प्रारम्भ भएसँगै सरकारले दिएको पैसाको सदुपयोग भएको छ,’ गुरुङले भने । अस्पतालले वीरमा कार्यरत प्रा.डा. आरती शाहको संयोजनमा सेवा सुरु गरेको हो । डा. शाहले वीर अस्पतालमा क्यान्सर परीक्षणको सेवा सुरु हुनु गर्वको कुरा भएको बताइन् । वीर अस्पतालमा क्यान्सर रोगको परीक्षण सेवा सुरु गर्न उपकुलपतिस्तरीय निर्णय भएको थियो । सेवा सुरु भएसँगै बिरामीले पाठेघर क्यान्सर, ब्रेथ क्यान्सर, कोलोरेक्टनल क्यान्सर, सर्जरी, लिबर क्यान्सर परीक्षणलगायतका सेवा सजिलै प्राप्त गर्न सक्नेछन् ।
स्रोत: www.enayapatrika.com/2018/02/28/27949/