उपत्यकाबाटै हराउँछन् बालबालिका

April 27, 2017

Kantipur, Kantipur Report, 27th April 2017, Kathmandu

बालबालिका खोजतलास समन्वय केन्द्रको तथ्यांकअनुसार सबभन्दा बढी बालबालिका मध्यमाञ्चल क्षेत्रको उपत्यकाका तीनै जिल्लाबाट हराउने गरेको पाइएको छ । खोजमा सुदूर पश्चिमबाट हराउने बालबालिकाको संख्या सबभन्दा कम देखिएको छ । 

आर्थिक वर्ष २०७३/७४ को चैत्र मसान्त सम्ममा देशभरिबाट ७ सय ६२ बालक र १ हजार २ सय १४ बालिका हराएको उजुरी केन्द्रमा परेको छ । जसमध्ये २ सय २७ बालक र २ सय १३ बालिका भेटिएका छन् । यो संख्या क्रमश: हराएका बालक र बालिकाको ३० र १७ प्रतिशत हुन आउँछ । 

उपत्यकासहित मध्यमाञ्चलबाट सबभन्दा बढी ७ सय २८ बालबालिका हराएका छन् । यसमध्ये २ सय ८० बालक र ४ सय ४८ बालिका छन् । त्यसमा लगभग ४० प्रतिशत अर्थात् १ सय ३७ बालक र २३ प्रतिशत अर्थात् १ सय ५ बालिका भेटिएको तथ्यांक छ । 

मध्य पश्चिमाञ्चल र पूर्वाञ्चलमा यस वर्षको चैतसम्ममा ४ सय २९ र ४ सय २६ बालबालिका हराएका छन् । हराउनेमा मध्य पश्चिमाञ्चलमा २ सय २५ र पूर्वाञ्चलमा ३ सय ४ बालिका छन् । यसमा मध्य पश्चिमाञ्चलमा ७५ बालबालिका भेटिएका छन् । पूर्वाञ्चलमा ४६ जना मात्रै भेटिएका छन् । 

पश्चिमाञ्चलमा १ सय ५४ बालिकासहित २ सय २५ जना हराएको उजुरी केन्द्रमा परेको छ । यसमा २१ प्रतिशत फेला परिसकेका छन् । सुदूरपश्चिमबाट हराउने बालक–बालिकाको संख्या लगभग उस्तै छ । त्यहाँबाट यस आवको चैतसम्म ८५ बालक र ८३ बालिका हराइसकेका छन् । यसमा ३० प्रतिशत मात्र फेला परेको तथ्यांक छ । 

बालबालिका हराए प्रहरीसम्म पुग्ने तर फेला परेपछि जानकारी नगराउने प्रवृत्तिले गर्दा पनि नभेटिनेको संख्या बढेको केन्द्रका डीएसपी विश्वराज खड्काले बताए । यो समन्वय केन्द्र नेपाल प्रहरी र केन्द्रीय बालकल्याण समितिको मातहतमा छ ।



 Source: http://kantipur.ekantipur.com/news/2017-04-27/20170427082419.html

Explore DevNotes

View More

Explore Nepal History

View More

Explore Datasets

View More