उपत्यकाभित्रका जग्गाको मूल्य प्रतिआना ६६ लाख रुपैयाँसम्म

September 06, 2022

मुना कुँवर, नयाँ पत्रिका, भदौ २१, २०७९

सरकारले उपत्यकाको मुटु मानिने क्षेत्रवरपरको जग्गाको मूल्य प्रतिआना ६६ लाख रुपैयाँ तोकेको छ । चालू आर्थिक वर्ष ०७९/८० का लागि डिल्लीबजार मालपोत, कलंकी मालपोत र चाबहिल मालपोत कार्यालयले जग्गाको मूल्यांकन गरी मूल्य तोकेका छन् । डिल्लीबजार मालपोत कार्यालयले हनुमानढोकापूर्व नयाँसडक, पुरानो नगरपालिका भवनको दक्षिण चोकबाट जूद्धशमशेर सालिक हुँदै इन्द्रचोकसम्म, न्युरोड पीपलबोट, आरबी कम्प्लेक्स, खिचापोखरी, धरहरालगायत वरपरका जग्गाको मूल्य ६६ लाख रुपैयाँ प्रतिआना तोकेको छ । त्यस्तै, माइतीघर, सिंहदरबार पश्चिमगेट, पुतलीसडक कृष्ण पाउरोटी, हात्तीसार, जय नेपाल कान्तिपथ, जमल, दरबारमार्ग, कमलादी, रत्नपार्क, पुरानो बसपार्क, सहिदगेट, भद्रकालीलगायतका क्षेत्रका जग्गाको मूल्य पनि ६६ लाख रुपैयाँ प्रतिआना तोकिएको छ । 

त्यस्तै, डिल्लीबजार मालपोत कार्यालय बालकुमारी पुलदेखि कोटेश्वर हुँदै तीनकुने, मीनभवन, नयाँ बानेश्वर, बिजुलीबजार, थापाथली, त्रिपुरेश्वर हुँदै विष्णुमती पुलसम्मका मूलसडकसँग जोडिएका जग्गा, नयाँ बानेश्वर चोकदेखि कान्तिपुर डेन्टल चोक, पुरानो बानेश्वर चोकदेखि गौशाला चोक, माइतीघर मण्डला पुरातत्व विभागपूर्व सिंहदरबार दक्षिणगेट, हनुमानस्थानवरपरको जग्गाको मूल्य प्रतिआना ३९ लाख ६० हजार रुपैयाँ तोकेको छ । 

त्यस्तै, वनस्थली, बालाजु, गोंगबु, महाराजगन्ज, धुम्बाराही, नयाँ बानेश्वर, कान्तिपुर डेन्टल हस्पिटल चोक, रत्नराज्य स्कुल, पुरानो बानेश्वर चोकवरपर ३५ लाख २० हजार प्रतिआना तोकिएको छ । पुरानो बानेश्वर चोकदेखि भीमसेनगोला चोक, सिनामंगल बागमती पुल हुँदै केएमसी चक्रपथसम्मका मूलबाटोसँग जोडिएका जग्गाको ३७ लाख ४० हजार रुपैयाँ प्रतिआना तोकिएको छ । 

 चक्रपथसँग जोडिएको जग्गाको प्रतिआना ३८ लाख ५० हजार 
रिङरोड चक्रपथ ट्र्याकसँग जोडिएको दायाँ–बायाँको (बल्खुदेखि वनस्थलीसम्म) जग्गा प्रतिआना ३८ लाख ५० हजार रुपैयाँ तोकिएको छ । कलंकी मालपोत कार्यालयले आफ्नो मातहतका क्षेत्रको मूल्यांकन गर्दै मूल्य तोकेको छ । विष्णुमती खोला पुलदेखि रविभवनको सीमासम्म र कालिमाटी चोकदेखि दक्षिणतर्फ कालिमाटी–बल्खु मूल सडकमा ३६ लाख ३० हजार रुपैयाँ प्रतिआना तोकिएको छ ।कालिमाटी टंकेश्वर परोपकार विद्यालयको विष्णुमती पुलपश्चिम हुँदै शिक्षा क्याम्पस ताहाचाल चोकबाट छाउनी म्युजियम हुँदै सीतापाइला रिङरोड चोकसम्मको पक्की सडक भएको जग्गाको प्रतिआना दुई लाख ३० हजार रुपैयाँ तोकिएको छ । 

त्यस्तै, सोल्टीमोडदेखि हिमालय हाइट र छिन्नलता पुस्तकालयसम्मको पक्की सडकको एक लाख ८० हजार तोकिएको छ । तर, कच्ची मोटर बाटो भएको एक लाख ६५ हजार, गोरेटो बाटो भएको एक लाख १० हजार, बाटो नभएको ६६ लाख रुपैयाँ कलंकी मालपोतले मूल्य तोकेको छ । कीर्तिपुर नगरपालिकाअन्तर्गतको सीता पेट्रोलपम्प ट्याङला चोक, कीर्तिपुर स्विमिङ पुल कीर्तिपुर चक्रपथ, खसीबजार, रमितेडाँडा, कीर्तिपुर चक्रपथ छुने बाटो, कलंकी मितेरी पुल, मैत्रीनगर, कलंकी चक्रपथको बल्खुपुलदेखि बल्खुखोला करिडोरवरपरको जग्गाको प्रतिआना सात लाख ७० हजार तोकिएको छ । 

कीर्तिपुर चक्रपथ तथा त्यसभित्रको क्षेत्रमा अधिकतम सात लाख २६ हजार मूल्य तोकिएको छ । पाँगा चोकदेखि हनुमानघाटसम्म १३ लाख २० हजार तोकिएको छ । पाँगा दोबाटोदेखि भाजंगल चिखुसम्म नौ लाख ६८ हजार तोकिएको छ । चन्द्रगिरि नगरपालिका साबिक तीनथाना गाविसमा त्रिभुवन राजपथले छोएको दायाँबायाँको क्षेत्रमा प्रतिआना १८ लाख १५ हजार तोकिएको छ । साबिकको सतुंगल गाविस, साबिक थानकोट गाविस, थानकोट महादेवस्थान गाविस, बाडभञ्ज्याङ गाविसमा भने त्रिभुवन राजपथले छोएको नागढुंगासम्म सडक दायाँ–बायाँ १२ लाख १० हजार रुपैयाँ तोकिएको छ । 

बुढानीलकण्ठ नगरपालिकाभित्र अधिकतम ५० लाख रुपैयाँका जग्गा
मालपोत कार्यालय चाबहिलले हाल बुढानीलकण्ठ नगरपालिकाभित्र पहिला गाविस र अहिले नगरपालिका भएका क्षेत्रमा अधिकतम १२ लाख रुपैयाँ प्रतिआना तोकेको छ । बुढानीलकण्ठ नगरपालिकाको मुख्य सडकसँग जोडिएका जग्गा अधिकतम १८ लाख ७० हजार रुपैयाँसम्म तोकिएको छ । गोकर्णेश्वर नगरपालिकाका जग्गाको १९ लाख ८० हजार रुपैयाँसम्म छ । मूलपानीमा १९ लाख ८० हजार रुपैयाँसम्म छ । गोठाटारमा १९ लाख ८० हजार रुपैयाँसम्म तोकिएको छ । तर, चक्रपथसँग जोडिएका गौशालादेखि धोबीखोलासम्मका जग्गा ४९ लाख ५० हजार तोकिएको छ । महाकाल क्षेत्रका गोरेटो बाटोसँग जोडिएका जग्गा प्रतिआना तीन लाख ८५ हजार रुपैयाँ तोकिएको छ । बाटो नभएका जग्गाको प्रतिआना दुई लाख ७५ हजार रुपैयाँ तोकिएको छ । चक्रपथ नारायणगोपाल चोकबाट बुढानीलकण्ठसम्म जाने मूलसडकमा प्रतिआना १८ लाख ७० हजार रुपैयाँ तोकिएको छ । 

त्यस्तै, गोल्फुटार, धुम्बाराही जाने मूल सडकमा प्रतिआना १६ लाख ५० हजार रुपैयाँ तोकिएको छ । तेन्जिङ चोक आनि गुम्बा सडकमा पनि १६ लाख ५० हजार रुपैयाँ मूल्य तोकिएको छ । तर, साततले मिलन चोक तरकारी बजार जाने सडकमा १४ लाख ३० हजार रुपैयाँ मूल्य तोकिएको छ । चक्रपथसँग जोडिएका गौशालादेखि धोबीखोलासम्मका जग्गाको ४९ लाख ५० हजार रुपैयाँ मूल्य तोकिएको छ । मित्रपार्क, कालोपुल, गौशाला चोकदेखि रातोपुलवरपरका जग्गाको मूल्य प्रतिआना ४४ लाख रुपैयाँ तोकिएको छ ।

स्रोत: https://www.nayapatrikadaily.com/news-details/95182/2022-09-06

Explore DevNotes

View More

Explore Nepal History

View More

Explore Datasets

View More