News

उपत्यकामा नेपाली प्रविधिका ट्राफिक बत्ती

February 26, 2018

हिमाल लम्साल, नागरिक दैनिक, फाल्गुन १४, २०७४

राजधानीको बानेश्वर र महाराजगन्जमा नेपाली प्रविधिमा आधारित ट्राफिक बत्ती जडान सुरु भएको छ । सडक विभाग र काठमाडौँ महानगरपालिकाको अगुवाइमा यी स्थानमा ट्राफिक बत्ती जडान थालिएको हो । ट्राफिक बत्ती जडान अन्तिम चरणमा पुगेको छ।

विभाग अन्तर्गत सडक सुरक्षा तथा ट्राफिक शाखाका प्रमुख दीप बाराही बानेश्वर र महाराजगन्जमा केही समयभित्रै ट्राफिक बत्ती सञ्चालन हुने बताउँछन् । ‘बानेश्वर चोक र महाराजगन्जमा नयाँ ट्राफिक बत्ती जडान गरिरहेका छौँ,’ उनले भने, ‘सिंहदरबार र दरबारमार्गमा पुरानै ट्राफिक बत्ती मर्मत सम्भार गरेर सञ्चालन गर्न योग्य बनाएका छौँ ।’

उनका अनुसार बानेश्वर चोक, सिंहदरबार र दरबारमार्गमा ट्राफिक बत्ती परीक्षण तयारी अवस्थामा छ । महाराजगन्जको ट्राफिक बत्ती निर्माण अन्तिम चरणमा पुगेकाले चार वटै स्थानमा एकैचोटी ट्राफिक बत्ती सञ्चालन गर्ने तयारी विभागको छ।

ठेकेदार कम्पनीका अनुसार सोलारबाट चल्ने ट्राफिक बत्ती जडान गरिएको हो । ट्राफिक बत्ती पाँच वर्षसम्म सञ्चालन गर्न सकिने छ । ‘ट्राफिक बत्ती अटोमेटिक तथा रिमोट कन्ट्रोलबाट सञ्चालन गर्न सकिने बनाएका छौँ,’ ठेकेदार कम्पनीका सञ्चालक रामचन्द्र खड्काले भने, ‘बानेश्वरको ट्राफिक बत्तीलाई महानगरीय ट्राफिक प्रहरी महाशाखाको कन्ट्रोल रुम बगीखाना र बानेश्वर दुवै स्थानबाट व्यवस्थापन गर्न सकिने  ।’  

उनका अनुसार राष्ट्राध्यक्ष तथा सरकार प्रमुखलगायत भिभिआइपी सवारी हुँदा, एम्बुलेन्स, दमकललगायत अत्यावश्यक सवारीसाधन पास गराउन चोकमा बस्ने ट्राफिक प्रहरीका लागि रिमोट कन्ट्रोलबाट ट्राफिक बत्ती सञ्चालन गर्न सक्ने व्यवस्था मिलाइएको छ ।हाल जडान गरिएका ट्राफिक बत्तीहरू एक स्थानबाट अर्को स्थानमा लिंक गरिएका छैनन् । ‘नेपाली प्रविधिमा आधारित यो ट्राफिक बत्ती एकबाट अर्काे चोकसँग लिंक गर्न सकिने व्यवस्था छ, तर, अहिले भने कुनै चोकसँग लिंक गरेका छैनौँ,’ उनले भने। 

निर्माण कम्पनीका अनुसार महाराजगन्जको ट्राफिक बत्तीमा अत्याधुनिक प्रविधि जडान गरिएको छ । त्यसमा सवारीसाधनले लेन मिचेको जानकारी दिने प्रविधि समेत छ ।‘महाराजगन्जमा कति र कस्ता सवारी साधन गुडे भन्ने तथ्यांक राख्ने प्रविधि जडान गरेका छौँ,’ सञ्चालक खड्काले भने, ‘कुन सवारीसाधनले लेन मिचे भन्ने भिडियो नै ट्राफिक प्रहरीसम्म पुग्नेछ ।’ उक्त ट्राफिक बत्तीको ‘रिभर्स प्रविधि’ले पैदल यात्रुका लागि कति बेला बाटो काट्ने भनेर समय समेत देखाउने छ ।
‘सबै चोकमा ट्राफिक लाइट आवश्यक’
काठमाडौँ उपत्यकाका मुख्यचोकदेखि भित्रीचोकसम्म ट्राफिक बत्ती आवश्यक भइसकेको जानकार बताउँछन् । ‘उपत्यकाको मुख्य चोक–चोकमा ट्राफिक बत्ती अनिवार्य चाहिन्छ । तर, त्यहाँ ट्राफिक प्रहरीले हातकै इसाराले काम चलाइरहेका छन् । जति ट्राफिक प्रहरी खटिए पनि जाम भने जस्ताको त्यस्तै छ,’ ट्राफिक इन्जिनियर आशिष गजुरेलले भने, ‘अहिलेको समयमा हातकै इसाराले ट्राफिक व्यवस्थापन गर्नै सकिँदैन । विनाप्रविधि जति ट्राफिक खटिए पनि ट्राफिक जाम उस्तै भइहाल्छ।’

‘पर्याप्त प्रविधि अभाव’
महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रवक्ता उमेश रञ्जितकार उपत्यकाको मुख्य ३५ चोक र अन्य भित्रीचोकमा समेत ट्राफिक बत्तीको आवश्यक भइसकेकको बताउँछन् । उनका अनुसार बत्ती नहुँदा ट्राफिक जनशक्ति मात्र बढी खपत भइरहेको छैन, इसाराका भरमा सवारी व्यवस्थापन गरिरहनुपरेको छ ।
‘अत्याधुनिक प्रविधिमार्फत ट्राफिक व्यवस्थापन गर्नुपर्ने हो, हामीले भने ‘म्यानुअल’का रूपमा काम गरिरहेका छौँ,’ रञ्जितकारले भने, ‘थोरैले गर्न सक्ने कामका लागि अहिले दोब्बर जनशक्ति सडकमा खटिनुपरेको छ ।’ उनका अनुसार ट्राफिक बत्ती भएको अवस्थामा दुई जनाले पुग्ने भए पनि अहिले सवारीको चाप अनुसार चारदेखि १० जनासम्म जनशक्ति खटिनुपरेको छ । हाल उपत्यकामा ट्राफिक व्यवस्थापनका लागि दैनिक १२ सयदेखि १४ सय ट्राफिक प्रहरी खटिँदै आएका छन्।

उनका अनुसार ट्राफिक बत्ती एकदेखि अर्काे जक्सनसँग जोडिएको हुन्छ, जसले सवारी चापबमोजिम जाम कम गर्न सकिन्छ । ‘अत्याधुनिक प्रविधिको ट्राफिक बत्ती हुन्थ्यो भने एउटै ट्राफिक प्रहरीले काम गर्न सक्थ्यो ।  तर, अहिले यहाँ दर्जनभन्दा धेरै जनशक्ति चोकमा खटाउनुपरेको छ,’ उनले भने, ‘ट्राफिक बत्ती भएसँगै ट्राफिक प्रहरीहरू लेन अनुशासन तथा अन्य काममा सक्रिय हुन पाउँथे ।’

बानेश्वरमा ट्राफिक बत्ती जडान गर्न विभागले १५ लाख रूपैयाँ लगानी गरेको छ । त्यस्तै महाराजगन्जमा ट्राफिक बत्ती निर्माणमा काठमाडौँ महानगरपालिकाले २५ लाख रुपैयाँ लगानी गरेको छ ।
दुवै स्थानमा यार्सा टेक्नोलोजी प्रालिले ट्राफिक बत्ती जडान गरिरहेको छ । बानेश्वर चोकमा चार तथा महाराजगन्जमा १२ वटा ट्राफिक बत्ती जडान भइरहेको छ । ‘तीनवटा ट्राफिक बत्तीको प्राविधिक परीक्षण गरिसक्यौँ, अब ट्राफिक प्रहरीसँग समन्वय गरेर सञ्चालनमा ल्याउने छौँ,’ प्रमुख बाराहीले भने, ‘ट्राफिक बत्ती वायरलेस र रिमोट कन्ट्रोल प्रणालीमा आधारित छ, त्यसको कन्ट्रोल महानगरीय ट्राफिक प्रहरी महाशाखाको कन्ट्रोल रुटबाट मनिटरिङ र व्यवस्थापन गर्न सक्ने व्यवस्था छ ।’

काम लागदैनन् पुराना
सडक सुरक्षा तथा ट्राफिक शाखाका प्रमुख बाराही काठमाडौँ उपत्यकामा रहेका अधिकांश ट्राफिक बत्ती कामै नलाग्ने अवस्थामा रहेको बताउँछन् । ‘दातृ निकायले जे भन्यो त्यही प्रविधि जडान गर्दा ट्राफिक बत्ती अलपत्र परेको हो,’ उनले भने, ‘विदेशी प्राविधिक र प्रविधिमा आधारित ट्राफिक बत्ती जडान र मर्मत गर्न झन्झटिलो र खर्चिलो हुन्छ।’

विदेशीले जडान गरिदिएकाले अहिले कुनै पनि ट्राफिक बत्ती नचलेको उनको दाबी छ । यता ठेकेदार कम्पनीका सञ्चालक खड्का पनि दातृ निकायले आफ्नो अनुकूल ट्राफिक बत्ती निर्माण गरेकाले पुराना ट्राफिक बत्ती कामै नलाग्ने अवस्थामा रहेको बताउँछन् । ‘दातृ निकायले आफ्नो स्वार्थ अनुसार ट्राफिक बत्ती बनाउने गर्छन् । उनीहरूको प्रविधि न यहाँ पाइन्छ न त सहजै मेन्टिनेन्स गर्न सकिन्छ,’ उनले भने, ‘हामीले नेपालमा सहजै उपलब्ध हुने स्रोतसाधनलाई उपयोग गरेर बनाएका छौँ । त्यसैले मर्मतसम्भारमा कुनै झन्झटिलो हुँदैन।’

करिब १० वर्षअघि बानेश्वर, माइतीघर, थापाथली, सिंहदरबार, पुतलीसडक, केशरमहल, गौशालालगायत क्षेत्रमा ट्राफिक बत्तीबाट सवारी र पैदल यात्रु व्यवस्थापन गरिन्थ्यो । अहिले तिनै स्थानमा दोब्बरदेखि पाँच गुणासम्म ट्राफिक प्रहरी खटिनु परेको ट्राफिक प्रहरी बताउँछन् । ट्राफिक बत्ती नचलेपछि यी क्षेत्रमा सडक दुर्घटना पनि बढेको छ।  

सरकारी विवरण अनुसार उपत्यकामा १५ वर्षअघिदेखि नै ट्राफिक बत्तीमार्फत सवारी र पैदल यात्रु व्यवस्थापन हुन थालिसकेको थियो । त्यसबेला उपत्यकाका २० स्थानमा ट्राफिक बत्ती जडान गरिएका थिए । अहिले २० मध्ये १७ स्थानका बत्ती कामै नलाग्ने भएका छन् । उपत्यकाभित्र सवारी व्यवस्थापन गर्न थापाथली, माइतीघर, नयाँ बानेश्वर, तीनकुने, कोटेश्वर, जडीबुटी, केशरमहल, दरबारमार्ग, पुतलीसडक, सिंहदरबार, पद्मोदय मोड, गौशाला, कालीमाटीलगायत मुख्य चोकमा ट्राफिक बत्ती जडान गरिएको थियो । अहिले यहाँका ट्राफिक बत्ती बल्दैनन् । यस्तै पुरानो बसपार्क, त्रिचन्द्र, सुन्धारा, भोटेबहाल, कालीमाटी, शंकरदेव, सिंहदरबार, जाउलाखेललगायत स्थानका ट्राफिक बत्तीको हालत पनि उस्तै छ । हाल कौशलटार, गठ्ठाघर र सल्लाघारीमा जडान गरिएका ट्राफिक बत्ती मात्रै बल्छन् ।

स्रोत: www.nagariknews.com/news/39053/