राजु चौधरी, कान्तिपुर राष्ट्रिय दैनिक, २३ मंसिर २०७४
आपूर्ति अभाव र निर्वाचनसमेतलाई बहाना बनाएर बढेको बजारभाउ विस्तारै घट्न थालेको छ । निर्वाचनको चहलपहलसँगै व्यवसायीले खाद्यान्न र तरकारीमा चर्को मूल्य असुल्दै आएका थिए । निर्वाचनका क्रममा चन्दासमेत दिनुपरेको भन्दै त्यसको मूल्य पनि खाद्यान्नमा जोडिएको थियो । बजार अनुगमन र हस्तक्षेप गर्ने जिम्मा पाएका आपूर्ति व्यवस्थापन तथा उपभोक्ता हित संरक्षण विभागले माथिको आदेश भन्दै अनुगमन सुस्त बनाएपछि बजारभाउ आकाशिएको थियो । त्यसको मौका छोपी मागअनुसार आपूर्ति नभएको जनाउँदै व्यवसायीले चर्को मूल्य असुलेका थिए । तरकारीसँगै अन्य खाद्यवस्तुको भाउ पनि घट्न थालेको छ । ‘खाद्यवस्तुको मूल्य क्रमिक रूपमा घटेको छ,’ खुद्रा व्यापार संघका अध्यक्ष पवित्र वज्राचार्यले भने । दालको भाउ ५० प्रतिशतसम्मले घटेको संघले जनाएको छ । ‘भारतमा उत्पादन बढेकाले रहर, मास, मुसुरोलगायत दालको मूल्य हातै घटेको छ,’ उनले भने, ‘अन्य खाद्यवस्तुको भाउ पनि घट्ने क्रममा छ ।’
चुनावी माहोल सकिएकै कारण व्यवसायीले मूल्य घटाउन बाध्य भएको उपभोक्ताकर्मीहरू बताउँछन् । ‘चुनावमा मूल्यको मतलब थिएन, वस्तुको मतलब थियो । अब मूल्यको मतलब छ, वस्तुको छैन,’ राष्ट्रिय उपभोक्ता मञ्चका अध्यक्ष प्रेमलाल महर्जनले भने, ‘यही कारण व्यवसायीहरूले मूल्य घटाएका छन् ।’ स्थानीय उत्पादन बढेकाले मूल्य थप घट्ने उनले दाबी गरे । कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिको तथ्यांकअनुसार तरकारीको भाउ घट्न थालेको छ । हरियो तरकारीको भाउ ४० प्रतिशतसम्म घटेको हो । समितिका सदस्य सचिव तेजेन्द्रप्रसाद पौडेलले पनि सहज आपूर्तिका कारण मूल्य घट्न थालेको बताए । ‘स्थानीय उत्पादनसँगै भारतबाट पनि पर्याप्त मात्रामा आयात भएको छ,’ उनले भने, ‘आपूर्ति सहज हुँदा मूल्य घटेको हो ।’
समितिको तथ्यांकअनुसार गोलभेडा, आलु, कउली स्थानीय, ब्रोकाउली, भान्टा लाम्चो, बोडी, घिउसिमी, फर्सी हरियो, बन्दा, धनियाँलगायत तरकारीको मूल्य घटेको छ । केही साताअघि दैनिक करिब साढे ४ सय टन तरकारी भित्रिन्थ्यो । हाल कालिमाटी बजारमा ६ सय टनभन्दा बढी तरकारी भित्रिएको छ । जसले गर्दा मूल्य घटेको जनाएको छ । तथ्यांकअनुसार कात्तिक २२ गते प्रतिकिलो १ सय १० रुपैयाँ पर्ने गोलभेडा सानो मसिर २२ मा घटेर ९५ रुपैयाँ पुगेको छ । किलोको ६५ रुपैयाँ पर्ने आलु रातो ४५ रुपैयाँ, ४५ रुपैयाँ पर्ने आलु सेतो घटेर ३८ रुपैयाँ, ८५ रुपैयाँ पर्ने बन्दा ५५ रुपैयाँ पुगेको छ ।
समितिका अनुसार १ सय ५ रुपैयाँ पर्ने काउली स्थानीय ५५ रुपैयाँ, किलोको १ सय २५ रुपैयाँ पर्ने ब्रोकाउली ७५ रुपैयाँ, ७५ रुपैयाँ पर्ने भान्टा ४५ रुपैयाँ पुगेको छ । यस्तै, १ सय २५ रुपैयाँ पर्ने बोडी घटेर ८५ रुपैयाँ, १ सय ५ रुपैयाँ पर्ने घिउसिमी ८५ रुपैयाँ, १ स्य १५ रुपैयाँ पर्ने तीतेकरेला ७५ रुपैयाँ, ६५ रुपैयाँ पर्ने हरियो फर्सी ५५ रुपैयाँ पुगेको छ । उत्यकामा मुख्यत : धादिङ, नुवाकोट, काभ्रे, चितवन र मकवानपुरबाट भित्रिन्छ । समितिका अनुसार कालिमाटी तरकारी बजारले उपत्यकाको ७० प्रतिशत माग धान्छ ।
एक महिनाको अवधिमा प्याजको मूल्य बढे पनि एक साताको तुलनामा भने घटेको छ । साताअघि कालिमाटी बजारमा किलोको १ सय २५ रुपैयाँमा कारोबार भएको प्याज हाल १ सय ५ रुपैयाँमा बिक्री भएको छ । भारतीय बजारमा प्याज अभाव भएपछि निर्यात निरुत्साहित गर्न भारत सरकारले प्याजको निर्यात मूल्य तोकेको छ । निर्यात मूल्य डिसेम्बर महिनासम्म लागु हुने जनाएको छ । निर्यात मूल्य तोकेपछि नेपाली बजारमा मूल्य ह्वात्तै बढेको थियो । सदस्य सचिव पौडेलका अनुसार निर्यात मूल्यले प्याज नाकामा रोकिएपछि मूल्य आकाशिएको थियो । बिचौलियाका कारण थप मार परेको थियो तर अहिले पुन: सहज रूपमा आएकाले मूल्य घटेको हो । व्यवसायीले चीनबाट पनि भित्र्याउन सुरुगरेपछि मूल्यमा केही सुधार भएको जनाएको छ । तथ्यांक अनुसार भिन्डीको मूल्य पनि सामान्य बढेको छ । तथ्यांकअनुसार ९५ रुपैयाँ पर्ने भिन्डी बढेर १ सय ५ रुपैयाँमा बिक्री भएको छ ।
स्रोत: http://kantipur.ekantipur.com/news/2017-12-09/20171209074107.html