News

ऊर्जाले ३४ लाख घरधुरी लाभान्वित

February 06, 2020

अन्नपूर्ण पोष्ट, माघ २३, २०७६ 

काठमाडौं : बैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रका कार्यक्रमबाट हालसम्म ३४ लाख तीन हजार ४४५ घरघुरी लाभान्वित भएका छन्। केन्द्रले बुधबार आयोजना गरेको एक पत्रकार सम्मेलनमार्फत यसका विभिन्न कार्यक्रममार्फत पुस मसान्तसम्म नेपालका करिब ६० लाख घरधुरीमध्ये आधाभन्दा बढी संख्यामा नेपालीले लाभ लिएका छन्।

केन्द्रले कार्यकारी निर्देशक मधुसुदन अधिकारी नियुक्त भएको एक वर्षे कार्यसमीक्षामार्फत यस्तो जानकारी दिएको छ। केन्द्रले हालसम्म बनाएका लघु तथा साना जलविद्युत् आयोजना हालसम्म विभिन्न १८ हजार योजनामार्फत ३४ हजार ७५६ किलोवाट बिजुली उत्पादन भएको छ। यसबाट हाल दुई लाख ४३ हजार २९२ घरधुरी लाभाविन्त भएका छन्। केन्द्रअन्तर्गत निर्माण भएका यस्ता अयोजना ९० प्रतिशतभन्दा बढीले राम्रो गरेका र केही समस्याग्रस्त अवस्थामा रहेको जानकारी अधिकारीले दिए। हालसम्म ९९ वटा लघु जलविद्युत् आयोजनाको अवस्था कमजोर छन्। यस्ता आयोजनामा ४० वटा कर्णाली प्रदेशमा, ३० वटा सुदूरपश्चिम प्रदेशमा र बाँकी अरु प्रदेशमा रहेको जानकारी उनले दिए। केन्द्रले यस्ता आयोजनमा ९० प्रतिशत सहयोग गर्ने र बाँकी १० प्रतिशत स्थानीय स्तरलाई नै लगानी र सञ्चालनको जिम्मा दिएको उल्लेख छ।

केन्द्रले हालसम्म ११ हजार १८ वटा सुधारिएको पानीघट्ट बनाएर दुई लाख ७५ हजार ४५० घरधुरी, सौर्य ऊर्जामार्फत नौ लाख १६ हजार २४ घरधुरी, सहरी सौर्य ऊर्जामार्फत २१ हजार ११४ घरधुरी, संस्थागत सौर्य ऊर्जामार्फत दुई हजार ६३ घरधुरीलाई लाभ दिएको छ। यस्तै ६९१ किलोवाट सौर्य मिनिग्रिडमार्फत चार हजार ८३७ घरधुरी, सौर्य ड्रायर तथा कुकरमार्फत दुई हजार ४५० घरधुरी, सौर्य खानेपानी तथा सिँचाइ पम्पमार्फत एक हजार तीन सय ६४ घरधुरीलाई लाभ गराएको छ।

सुधारिएको फलामे चुलोमार्फत ८७ हजार ११ घरधुरी, घरायसी वायोग्यासबाट चार लाख २६ हजार ३१७ घरधुरी, सुधारिएको माटोको चुल्होबाट १४ लाख २३ हजार २४२ घरधुरी र संस्थागत सहरी तथा व्यावसायिक वायोग्यासका २८१ घरधुरी लाभान्वित भएको केन्द्रले जानकारी दिएको छ।

केन्द्रका कार्यकारी निर्देशक अधिकारीका अनुसार बिजुलीको विकल्प संसारभर खोजिने र यसको प्रयोग गर्नुपर्ने भएकाले पनि केन्द्रले लगानी बढाइरहेको छ। हरेक स्थानीय तहसँगको सहकार्यमा बैकल्पिक ऊर्जाका कार्यक्रमलाई प्रभावकारी बनाउँदै लैजाने र बिजुलीको विकल्पमा प्रयोग गर्न सकिने उनले बताए।

स्रोत: http://annapurnapost.com/news/147334