अमृत अधिकारी, कारोबार राष्ट्रिय दैनिक, १० कार्तिक, २०७४
पाल्पाः तरकारी उत्पादनमा जिल्लाकै अब्वल मानिने मदनपोखराबाट वार्षिक २ करोड रुपैयाँभन्दा बढीको तरकारी निर्यात हुने गरेको छ । १५÷२० हजार रुपियाँका लागि दिनहुँ हजारौँ युवा विदेश गएका बेला तानसेन–९, मदनपोखराका किसानले भने तरकारी खेतीबाट वार्षिक लाखौं रुपियाँ आम्दानी गर्न थालेका हुन् । स्वदेशमै बसेर यहाँका किसानले मौसमी र बेमौसमी तरकारी खेती गरेर वार्षिक १० लाख रुपियाँसम्म आम्दानी गरेको बताएका छन् ।
मदनपोखराका २ सयभन्दा बढी किसानले मासिक १ लाख रुपैयाँसम्म तरकारी खेतीबाट आम्दानी गर्ने स्थानीय कृषक रमेश भण्डारीले बताए । उनले वर्षमा ९ लाख ५० हजार रुपैयाँसम्म खर्च कटाएर बचत गरेको बताए । यहाँका किसानले उत्पादन गरेको तरकारी बिक्रीका लागि मदनपोखरा बहुउद्देश्यीय कृषि बजार सहकारी संस्था लिमिटेडले बजार व्यवस्थापनमा मध्यस्थकर्ताको भूमिका खेलेको छ । यसले गर्दा यहाँका किसान तरकारी खेतीमा लाग्न उत्साहित बनाएको स्थानीय किसानको भनाइ छ ।
२०५८ सालमा स्थापना भएको सहकारीमा तानसेन नगरपालिका वडा नं. ६, ७ र ९ का २ सय ७ सदस्य छन् । उनीहरूले कम्तीमा वार्षिक डेढ लाखदेखि १० लाखसम्म आम्दानी गर्न सफल भएको सहकारीको अध्यक्ष पदमराज पौडेलले बताए । उनका अनुसार यहाँका हरेक किसानले तीन रोपनीदेखि २० रोपनीसम्म जग्गामा तरकारी खेती गरेका छन् ।
यहाँका अधिकांश महिला तरकारी खेतीमा छन् भने पुरुष जागिरे छन् । यहाँका महिलाले बोडी, सिमी, मूला, आलु, काउली, खुर्सानी, भाण्टालगायतका तरकारी उत्पादन गर्दै आएका छन् । सिँचाइको व्यवस्थाका लागि स्प्रिङ्कल, प्लास्टिक पोखरीको व्यवस्था गरिएको छ ।
मदनपोखराबाट मात्रै गत आवमा वार्षिक २ करोड रुपैयाँबराबरको तरकारी निर्यात भएको छ । व्यावसायिक रूपमा तरकारी खेती गर्न थालेपछि यहाँका किसानले डेढ लाखदेखि ८ लाखसम्म आम्दानी लिन सफल भएको मदनपोखरा बहुउद्देश्यीय कृषि सहकारी संस्था लिमिटेडका अध्यक्ष पदमराज पौडेलले बताए ।
तानसेन–९ का किसान रमेश भण्डारी आफूले खर्च कटाएर वार्षिक ७ लाख रूपैयाँभन्दा बढी बचत गर्न सफल भएको बताए । उनले १३ रोपनी जग्गामा मौसमी तथा बेमौसमी तरकारी खेती गरेका छन् । अघिल्लो आर्थिक वर्ष ०७३/७४ मा सहकारीमार्फत ७ सय टन तरकारी निकासी गर्दा २ करोड रुपैयाँको कारोबार भएको सहकारीका अध्यक्ष पौडेल बताउँछन् ।
सहकारीले किसानलाई बीउ, तरकारीको बजार, मल तथा ऋणको व्यवस्था गरेपछि तरकारी खेती गर्ने युवा बढेका हुन् । मदनपोखरा जिल्लाको बढी तरकारी उत्पादन हुने क्षेत्रको रूपमा परिचित बनेको छ ।मदनपोखराको तरकारी जिल्ला सदरमुुकाम तानसेनसँगै स्याङ्जा, कास्की, रूपन्देही, नारायणगढसम्म निर्यात हुँदै आएको छ ।
केही वर्षअघिसम्म घरायसी प्रयोजनका लागि तरकारी खेती गर्ने किसानले अहिले व्यावसायिक तरकारी खेतीबाट राम्रो आम्दानी लिन थालेपछि विदेश जाने युवाहरूसमेत रोकिएका छन् । पाल्पाको तरकारी बुटवल गएर पुनः तानसेनमा आउने गरेको छ ।