एकतिहाइ पालिकामा पनि भएन गठबन्धन

May 04, 2022

मकर श्रेष्ठ, कान्तिपुर, बैशाख २१, २०७९

देशभरका ७५३ स्थानीय तहमा तालमेल गर्ने सत्ता साझेदार दलहरुको प्रयास २०९ (२८ प्रतिशत) मा मात्र सफल

काठमाडौँ — आसन्न स्थानीय तह निर्वाचनमा सत्तारूढ पाँच दलले देशव्यापी गठबन्धन गर्ने भने पनि २ सय ९ पालिकामा मात्रै ‘सेट’ मै गठबन्धन भएको छ । कुल ७ सय ५३ स्थानीय तहमध्ये एकतिहाइभन्दा पनि कम अर्थात् २८ प्रतिशतमा मात्रै गठबन्धन सम्भव भएको छ । 

कांग्रेस, माओवादी, जसपा, एकीकृत समाजवादी र राष्ट्रिय जनमोर्चाले स्थानीय तह निर्वाचनमा गठबन्धनको प्रयास गरेका हुन् । तालमेल गरिएका २ सय ९ मध्ये १ सय ३६ गाउँ पालिका हुन् भने ७३ नगरपालिका । दुवैमा महिला उम्मेदवार जम्मा ७/७ जना छन् । दलगत रूपमा कांग्रेसले १ सय ३४, माओवादीले ४९, एकीकृत समाजवादीले १८, जसपाले ४ र राष्ट्रिय जनमोर्चाले ४ पालिकाको प्रमुख/अध्यक्षमा उम्मेदवारी दिएका छन् ।

सत्ता गठबन्धनले प्रदेश १ मा सबैभन्दा बढी र मधेस प्रदेशमा सबैभन्दा थोरै पालिकामा तालमेल गरेका छन् । प्रदेश १ का १ सय ३७ पालिकामध्ये ५६ वटामा गठबन्धनले अध्यक्ष र प्रमुखमा संयुक्त उम्मेदवार उठाएको छ ।

प्रदेश २ का १ सय ३६ पालिकामध्ये ४ मा मात्रै तालमेलमा उम्मेदवारी परेको छ । गठबन्धनले जनकपुर उपमहानगरमा जसपाका लालकिशोर साह, कलैया उपमहानगरमा कांग्रेसका राजेश राय यादव, जितपुरसिमरा उपमहानगरमा माओवादीका राजन पौडेल र वीरगन्ज महानगरमा जसपाकै राजेशमान सिंहलाई प्रमुखको उम्मेदवार बनाएको छ ।

वाग्मतीका १ सय १९ पालिकामध्ये ३७ वटामा गठबन्धन देखिन्छ । दोलखाका ३, रामेछापको १, सिन्धुलीका ३, धादिङका ५, नुवाकोटको १, काठमाडौं महानगर, भक्तपुरको मध्यपुर थिमि, ललितपुरका ४, काभ्रेका ८, सिन्धुपाल्चोकको एक, मकवानपुरका चार, चितवनका ५ पालिकामा गठबन्धनले प्रमुख/अध्यक्षमा संयुक्त उम्मेदवारी दिएको छ । गण्डकीका ८५ पालिकामध्ये ३७ पालिकाको अध्यक्ष र प्रमुखमा गठबन्धनका उम्मेदवार चुनावी मैदानमा छन् । मनाङका ४, लमजुङका ३, कास्कीका २, तनहुँका २, स्याङ्जाका ३, नवलपरासी (बर्दघाट सुस्ता पूर्व) का ३ वटा पालिका प्रमुखमा गठबन्धनको उम्मेदवारी परेको छ । मुस्ताङका ५ र बागलुङका ९ वटा पालिकामा गठबन्धनले प्रमुखमा उम्मेदवार उठाएको छ । पर्वतका ३ वटा पालिकामा मात्रै गठबन्धनको उम्मेदवारी परेको छ । लुम्बिनीका १ सय ९ पालिकामध्ये २८ मा मात्रै गठबन्धनका उम्मेदवार छन् । गुल्मीका ९ वटा पालिकामा अध्यक्ष/प्रमुखमा उम्मेदवारी परेको छ । पाल्पाका ५, अर्घाखाँचीका ६ र रूपन्देहीको एउटा पालिकामा गठबन्धनले संयुक्त उम्मेदवारी उठाएको छ । रोल्पाका २, प्यूठानका ४ र बाँकेको १ पालिका प्रमुखमा गठबन्धनबाट उम्मेदवार छन् ।

कर्णालीका ७९ पालिकामध्ये २० वटामा मात्रै गठबन्धनका उम्मेदवार छन् । सल्यानको १, डोल्पाका ५, मुगुका २, कालीकोटको १, हुम्लाका ५, जाजरकोटका २, दैलेखका २ र सुर्खेतका २ वटा पालिकामा गठबन्धनले संयुक्त उम्मेदवार उठाएको छ । गठबन्धनले कर्णालीमा दुई महिलालाई प्रमुखमा उम्मेदवार उठाएको छ । कालीकोटको खाँडाचक्र नगरप्रमुखमा ताराकुमारी शाह र जाजरकोटको जुनीचाँदे गाउँपालिका अध्यक्षमा शिवा आचार्यलाई अघि सारिएको छ ।

सुदूरपश्चिम प्रदेशका ८८ पालिकामध्ये २७ मा गठबन्धनले संयुक्त उम्मेदवार उठाएको छ । यसमा एक जना महिला छन् । कैलालीको लम्कीचुहा नगरपालिकामा कांग्रेसले सुशीला शाहीलाई प्रमुखमा उठाएको छ । बाजुरका ३, अछामका ३, बझाङका ९, कैलालीका ३, दार्चुलाका ४, बैतडीका ५ पालिकामा गठबन्धनले संयुक्त उम्मेदवार उठाएको छ ।

स्रोत: https://ekantipur.com/news/2022/05/04/165162478099274842.html

Explore DevNotes

View More

Explore Nepal History

View More

Explore Datasets

View More