एक दशकमा इभीको प्रयोग एक सय ४० गुणाले वृद्धि

September 05, 2022

नयाँ पत्रिका, भदौ २०, २०७९

सन् २०२० सम्म ग्लोबल इभीको बिक्री ३८ प्रतिशतले बढेकामा सन् २०२१ मा दोब्बर पुग्यो

विश्वभर विद्युतीय सवारीसाधन (इभी)को प्रयोग दिनप्रतिदिन बढिरहेको छ । डेढ दशकअघिदेखि सुरुवातमा आएको इभी हाल नेपालका सडकमा पनि कुदिरहेका देख्न सकिन्छ । भन्सार विभागको तथ्यांकअनुसार हालसम्म ४० हजार विद्युतीय सवारीसाधन आयात भएको देखिन्छ । त्यसो भए पछिल्लो एक दशकमा विश्वभर इभी खरिद–बिक्रीको अवस्था कस्तो थियो त ?

सन् २०११ मा फर्किऊँ । त्यतिवेला विश्वभर करिब ५० हजार मात्रै इभी बिक्री भएको थियो । त्यसको १० वर्षपछि अर्थात् सन् २०२१ मा उक्त बिक्रीको फिगर बढेर ७० लाख पुगेको छ । धेरै देशले विद्युतीय सवारीसाधनलाई प्राथमिकता दिएको र सोहीअनुसार नीति पनि लागू गरेकाले पछिल्लो एक दशकमा इभीको विश्वव्यापी बजार बढिरहेको इन्टरनेसनल इजर्नी एजेन्सीको तथ्यांकले देखाउँछ । 

इभीको पूर्ववर्ती बजार : सन् २०११ देखि २०१५ सम्म आइपुग्दा विद्युतीय सवारीसाधनको वैश्विक बिक्री वार्षिक ८९ प्रतिशत थियो । रोचक कुरा त के छ भने समग्र बिक्रीको एकतिहाइ अमेरिकामा मात्रै थियो । 

सन् २०१४ मा अमेरिका चीन, नेदरल्यान्ड, नर्वे र फ्रान्सपछिको सबैभन्दा ठूलो विद्युतीय सवारीसाधनको बजार थियो । तर, यो स्थिति स्थिर रहेन । सन् २०१५ मा आइपुग्दा धेरै कुरा फेरबदल भयो । जसकारण चीनको इभी बजार सन् २०१४ को तुलनामा दुई सय ३८ प्रतिशतले बढ्यो र शीर्ष स्थानमा पुग्न सफल भयो । चीनको विकासमा सरकारलाई वर्षौं लागेको थियो । तर, सरकारले विद्युतीकरण सवारीसाधनमा उदार प्रोत्साहन र सब्सिडी दिन थालेपछि त्यसले उत्पादनलाई थप प्रोत्साहन ग¥यो । सन् २०१६ मा चिनियाँ उपभोक्ताले विश्वका अन्य देशले भन्दा धेरै विद्युतीय सवारीसाधन खरिद गरे । त्यसपछि चीनले इभी सेक्टरमा पछाडि फर्केर हेर्नुपरेन । सन् २०२१ मा आइपुग्दा विश्वको आधाभन्दा बढी इभी बिक्री चीनमा हुन थाल्यो । 

कुन देशले कति–कति बिक्री गरे ? : सन् २०२० सम्म वैश्विक इभी बिक्री ३८ प्रतिशतले बढेको तथ्यांकले देखाउँछ । तर, यो बिक्री सन् २०२१ मा भने दोब्बर हुन पुग्यो । यसको जस चीनलाई जान्छ, किनकि उसले २०२१ मा विश्वका सबै देशले भन्दा बढी बिक्री गरेर रेकर्ड राख्यो । 

चीनले सन् २०२१ मा कुल ३५,१९,०५४ एकाइ बिक्री गर्‍यो, जुन विश्वको कुल ५१ प्रतिशत हुन आउँछ । यस्तै, अमेरिकाले ६,३१,१५२ एकाइ (९.३ प्रतिशत), जर्मनी ६,९५,६५७ एकाइ (१०.२ प्रतिशत) र फ्रान्सले ३,२२,०४३ एकाइ (४.७ प्रतिशत) इभी बिक्री गरे । त्यसैगरी, युके ३,२६,९९० एकाइ (४.८ प्रतिशत), नर्वे १,५३,६९९ एकाइ (२.३ प्रतिशत), इटाली १,४१,६१५ एकाइ (२.१ प्रतिशत), स्विडेन १,३८,७७१ एकाइ (२.० प्रतिशत), दक्षिण कोरिया १,१९,४०२ एकाइ (१.८ प्रतिशत) र नेदरल्यान्ड्सले ९७,२८२ एकाइ (१.४ प्रतिशत) बिक्री गरे । युरोपका बाँकी देशले कुल ४,६९,९३० एकाइ (४.९ प्रतिशत) बिक्री गर्दा विश्वका अन्य देशले भने ३,१३,१२९ एकाइ अर्थात् ४.६ प्रतिशत विद्युतीय सवारीसाधन बिक्री गरेका थिए । विद्युतीय सवारीसाधनमा चीनका करिब तीन सय मोडेल विश्वबजारमा उपलब्ध छन्, जुन अन्य देशको तुलनामा बढी हो । साथै, विश्वका १० ठूला ब्याट्री उत्पादक कम्पनीमध्ये चार ब्याट्रीको उत्पादनकर्ता पनि हो, चीन । त्यसबाहेक चीनमा इभीको मूल्य पारम्परिक कारभन्दा जम्मा १० प्रतिशत मात्रै महँगो छ । तर, यही इभीको मूल्य बाहिरी बजारमा ४५ देखि ५० प्रतिशतसम्म महँगो छ । 

युरोपको ठूलो अटो मार्केट जर्मनीले सन् २०२१ मा सात लाखको हाराहारीमा इभी बेच्यो । यो बिक्री २०२० लाई दाँजेर हेर्दा ७२ प्रतिशतले बढी हो । चीनले युरोपीय भूमिमा पनि इभी फ्याक्ट्री सञ्चालनको घोषणा गरेको छ । जसमा टेस्ला, भोल्कस्वागेन र चाइनिज ब्याट्री गेन्ट क्याट्लले या त त्यहाँ गिगाफ्याक्ट्री सञ्चालन गरिरहेका छन् या सञ्चालनको योजना बनाइरहेका छन् । समग्रमा युरोपमा इभीको बिक्री सन् २०२१ मा ६५ प्रतिशतले बढेको छ । 

उता, अमेरिकाले पनि दुई वर्षको गिरावटपछि पुनः इभी बिक्रीमा सुधार गरी सन् २०२१ मा बिक्री दोब्बर पुर्‍याएको छ । इभीमा यो वृद्धिलाई २४ प्रतिशतको समर्थन मिल्यो । यस्तै, टेस्ला मोडेलका इभीको उत्पादन पनि बढ्न पुग्यो । जुन पूरै विश्वको आधा बिक्री हो । 
–एजेन्सीहरूको सहयोगमा

स्रोत: https://www.nayapatrikadaily.com/news-details/95104/2022-09-05

Newsletter

Submit your details below to receive Newsletters

Newsletter