News

एक महिनाभित्र उपत्यकाका सबै ट्राफिक लाइट बाल्न निर्देशन

November 11, 2017

सेतोपाटी,२४ कात्तिक २०७४ 

नयाँ प्रविधिका ट्राफिक लाइट राख्ने आयोजना अगाडि बढेपछि निभेका काठमाडौंका ट्राफिक लाइट फेरि बल्ने भएका छन्।

प्रधानमन्त्री तथा मन्त्रीपरिषद कार्यालयले  सबैतिर निभेका त्यस्ता लाइटको मर्मत वा नयाँ राखेर भए पनि मुख्य चोक तथा सडकमा ट्राफिक लाइट बाल्न सडक विभागलाई निर्देशन दिएको छ।

कार्यालयले विभागलाई विभिन्न निकायसँगको सहकार्यमा एकमहिनाभित्र उक्त का म गर्न निर्देशन दिइएको सचिव महेन्द्रमान गुरुङले जानकारी दिए।

राजधानी सहरका मुख्य सडक तथा चोकमा कुनै पनि ट्राफिक लाइट नबल्नु बेवास्ताको पराकाष्ठा भएकोले तत्काल पुरानालाई मर्मत गरेर भए पनि चालू गर्न निर्देशन दिइएको गुरुङको भनाइ छ।

प्रधानमन्त्रीको कार्यालयले सरोकालाहरुलाई एकठाउँमा राखेर उपत्यकाको विभिन्न पूर्वाधारको निर्माणलाइ तदारुकता दिन कार्यविभाजन पनि गरेको छ।

सडक विभाग, काठमाडौं महानगरपालिका, सडक बोर्ड, ट्राफिक प्रहरी, उपत्यका विकास प्राधिकरणलाई विभिन्न जिम्मेवारी दिइएको छ।

उपत्यकाको सडक विस्तार, पाइप विस्तारजस्ता आयोजनालाई कार्यतालिसहितको जिम्मेवारी दिइएको र सो कार्यको अनुगमन प्रधानमन्त्री कार्यालयले गर्ने गुरुङले जानकारी दिए।

त्यस्तै सडक विस्तारको विवरण कात्तिक २४ गतेभित्र उपलब्ध गराउन निर्देशन दिइएको सचिव गुरुङले जानकारी दिए।

यसअघि सन् २०११ मा उपत्यकाका सडक तथा चोकमा नयाँ प्रविधिको इन्टेलिजेन्ट ट्राफिक लाइट राख्ने भन्दै दीगो सहरी विकास परियोजना स्थापना भएको थियो। उक्त आयोजनाले लाइट राख्न तीनपटकसम्म टेन्डर निकाल्दा पनि योग्य ठेकेदार नपाएपछि काम नभई म्याद सकिएको थियो।

एसियाली विकास बैंकको अनुदान र ऋण सहयोगमा बन्ने भनिएको उक्त अयोजना गएको असार १६ मा सकिएको हो।

स्रोत: https://setopati.com/social/104360