एक महिनामै साढे ६ अर्बको सुन बिक्री

November 14, 2019

दिलीप पौडेल, नागरिक, कार्तिक २८, २०७६

काठमाडौं – अन्तर्राष्ट्रिय बजारमा मूल्य वृद्धि भएपछि असारदेखि ठप्प रहेको सुन कारोबार पछिल्लो एक महिनामा ह्वात्तै बढेको छ। दसैंपछिको एक महिना (असोज २५–कात्तिक २६) मा साढे ६ अर्ब रुपैयाँको सुन बिक्री भएको हो।

नेपाल बैंकर संघका अनुसार असोज अन्तिम साताबाट अहिले कात्तिक २६ सम्म करिब ११ सय किलो सुन बिक्री भएको छ। प्रतितोला औसत ७० हजार रुपैयाँका दरले हिसाब गर्दा ११ सय किलो सुनको मूल्य ६ अर्ब ६० करोड रुपैयाँ हुन्छ। सुन एक तोलामा ११.६६ ग्राम हुन्छ। यो बैंकमा रहेको सुनको मात्र हिसाव हो। बजारमा खपत हुने सुनको ठुलो हिस्सा अनौपचारिक माध्यमबाट पनि आउने गरेको छ। यसको तथ्यांक उपलब्ध हुँदैन।

गत वैशाख २ मा प्रतितोला ५९ हजार ६ सय रुपैयाँमा बिक्री भएको सुनको भाउ निरन्तर बढेर बुधबार प्रतितोला ७१ हजार चार सय रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

बैंकर संघका कार्यकारी निर्देशक अनिल शर्माका अनुसार दसैंयता पहिलेको स्टक सात सय ५० किलो र नयाँ आयात गरेको तीन सय ६० किलो सुन बिक्री भएको छ। असारदेखि ठप्प रहेको सुन बिक्री दसैंपछि ह्वात्तै बढेको शर्माले बताए। ‘दसैंपछि करिब ११ सय किलो सुन बिक्री भयो,’ शर्माले भने, ‘तिहारका बेला सुन बिक्री निकै बढेको हो।’

मूल्य घट्ने आसामा असारदेखि असोज अन्तिम सातासम्म सुन नकिनेका ग्राहकले बजार मूल्य प्रतितोला ७० हजार रुपैयाँकै आसपासमा रहेपछि किन्न थालेको देखिन्छ। सबैभन्दा धेरै सुन तिहारको बेला बिक्री भएको हो। तिहारको धनतेरस र लक्ष्मी पूजामा सुनचाँदी किन्ने चलन छ।

वाणिज्य बैंकहरुले विदेशबाट आयात गरेर बजारमा सुन बिक्री गर्छन्। दसैंपछि ६ सय किलो सुन आयात गरेकोमा अब दुई सय ४० किलोमात्र बाँकी रहेको शर्माले बताए। नेपाल राष्ट्र बैंकले दैनिक २० किलो सुन आयात गर्न र बजारमा बिक्री गर्न बैंकलाई अनुमति दिएको छ। अहिले एक पटकमा करिब ५० किलो सुन आयात गरिरहेको शर्माले बताए। ‘सुन बिक्री बढेपछि साढे दुई दिनको हिसाबले ५० किलोका दरले आयात गरिरहेका छौं,’ शर्माले भने।

सामान्य अवस्थामा दैनिक २० किलोका दरले मासिक करिब ६ सय किलो सुन बिक्री हुने गरेकोमा असोजको अन्तिम साताबाट अहिलेसम्म विगतभन्दा दोब्बर बिक्री भएको छ। विगतमा गैरकानुनी रुपमा सुन आयात भई बजारमा आपूर्ति हुने गरेको बताइन्थ्यो।

नेपाली बजारमा सुन कारोबार हरेक वर्ष वृद्धि हुँदै गएको छ। आर्थिक वर्ष ०७४/७५ मा ३१ अर्ब ७४ करोड रुपैयाँको सुन आयात भएकोमा गत आवमा ०७५/७६ मा आयात दुई अर्ब ६७ करोडले बढेर ३४ अर्ब ४१ करोड रुपैयाँ पुगेको थियो। सुनको मूल्य घट्ने सम्भावना नदेखेपछि माग बढेको महासंघले जनाएको छ। महासंघका पूर्वअध्यक्ष तेजरत्न शाक्यले सुन प्रतितोला ७० हजार हाराहारीमा अडिएपछि किन्ने ग्राहक बढेको बताए। ‘करिब चार महिना सुन किनबेच ठप्प जस्तै भयो,’ शाक्यले भने, ‘दसैंपछि बिक्री निकै बढ्यो।’ अब सुनको मूल्य धेरै नघट्ने संकेत पाएपछि कारोबार बढेको उनले बताए। अहिले सरकारले सुन आयातमा लाग्ने भन्सार दर बढाएपछि फेरि केही दिन कारोबार स्थिर हुन सक्ने शाक्यले बताए। मंसिरमा भने विवाहको लगन भएकाले सुनको बिक्री बढ्छ।

बिलासी वस्तुको आयातमा कडाइ गरेको सरकारले सुन आयातमा लाग्ने भन्सार महसुल गत सोमबारबाट बढाएको छ। आर्थिक ऐन, २०७६ लाई संशोधन गर्दै नयाँ दर कायम गरेको हो। छिमेकी मुलुक भारतीय बजारमा भन्दा नेपालमा सुन सस्तो भएपछि अर्थले भन्सार महसुल बढाएको हो।

सुन तस्करी रोक्न रोक्न विदेशबाट फर्कने यात्रुले ल्याउने सुन तथा सुनका गहनामा भन्सार महसुल दर करिब २१ प्रतिशतले बढाइएको छ। सरकारले तोकेको नयाँ दर अनुसार पहिलो ५० ग्रामसम्म सुन ल्याउँदा प्रति १० ग्राम सात हजार पाँच सय रुपैयाँका दरले भन्सार महसुल तिर्नुपर्छ। यसअघि ५० ग्रामसम्म ल्याउँदा प्रति १० ग्राम ६ हजार दुई सय रुपैयाँ तिरे पुग्थ्यो। थप ५० ग्राममा प्रति १० ग्राम आठ हजार पाँच सय रुपैयाँ महसुल तिर्नुपर्छ। त्यसैगरी, विदेशबाट आउने यात्रुले गहना ल्याउँदा थप महँगो हुन्छ। सुनका गहना ५० ग्रामसम्म ल्याउँदा आठ हजार पाँच सय रुपैयाँ र थप एक सय ग्राममा १० हजार रुपैयाँ महसुल निर्धारण गरिएको छ। यसअघि सुनका गहना ल्याउँदा ५० ग्राममा सात हजार दुई सय रुपैयाँ र थप एक सय ग्राममा नौ हजार रुपैयाँ महसुल थियो।

श्रोत:https://nagariknews.nagariknetwork.com/news/102341/

Explore DevNotes

View More

Explore Nepal History

View More

Explore Datasets

View More