अन्नपुर्ण पोस्ट, २९ पुष २०७४
एक वर्षको अवधिमा डेबिट कार्ड प्रयोगकर्ताको संख्या नौ लाखले बढेको छ। नेपालमा हाल डेबिट कार्ड प्रयोगकर्ता ५५ लाख ८३ हजार नौ सय छन्। गत वर्षको असोजसम्म प्लास्टिक डेबिट कार्ड प्रयोगकर्ताको संख्या ४६ लाख ७१ हजार दुई सय २७ थियो। राष्ट्र बैंकको तथ्यांकअनुसार पछिल्लो समय डेबिट कार्डको प्रयोग ह्वात्तै बढेको छ। यसको अर्थ कार्डप्रति उपभोक्ताको आकर्षण बढ्दो छ। बैंक कार्ड वा चेक कार्ड भनेर पनि चिनिने डेबिट कार्ड एक प्रकारको प्लास्टिक कार्ड हो।
प्रविधिसँगै विकास भएको प्लास्टिक मनीले अहिलेको पुस्तालाई स्मार्ट मात्रै बनाएको छैन सुरक्षित कारोबार गर्न पनि सिकाएको छ। यसले घण्टौसम्म बैंकमा लाइन बस्नु पर्ने झन्झट कम गरिदिएको छ। यसको प्रयोगले बैंकिङ उपभोक्ताको जीवनशैलीमा ठूलो परिवर्तन ल्याएको राष्ट्र बैंकका सहप्रवक्ता राजेन्द्र पण्डितले बताए। प्लास्टिक कार्डको प्रयोगले आम मानिसको जीवनशैलीमा क्रान्तिकारी छलाङ मारेको उनको भनाइ छ। यसको बढ्दो प्रयोगले नगद कारोबार गर्नुपर्ने झन्झटबाट मुक्त गरिदिएको छ। चेक साट्न बैंकमा घन्टौं लाइन बस्नुपर्ने बाध्यता अब छैन।
पाँच वर्षअघि ३५ लाख ९७ हजार डेबिट कार्डमध्ये अधिकांश वाणिज्य बैंकले जारी गरेका थिए। त्यति बेला ३२ लाख ३३ हजार प्रयोगकर्ता रहेका वाणिज्यका कार्ड होल्डर अहिले ५३ लाखमाथि छन्। वाणिज्य बैंकजस्तै अन्य वित्तीय संस्थाबाट डेबिट कार्ड लिनेको संख्या धेरै कम छ। बजारमा जसरी अन्य वित्तीय संस्थाको तुलनामा वाणिज्य बैंकको प्रभाव छ त्यसरी नै डेबिट कार्ड लिनेको संख्या वाणिज्य बैंककै धेरै छ।
हाल प्रयोगमा आएका कार्डमध्ये सबैभन्दा बढी वाणिज्य बैंकहरूले जारी गरेका छन्। ‘क' वर्गका वाणिज्य बैंकहरूले ५६ लाखमध्ये ५३ लाख ३४ हजार जारी गरेका छन्। त्यस्तै विकास बैंकहरूले दुई लाख २१ हजार र फाइनान्स कम्पनीले करिब २८ हजार कार्ड जारी गरेका छन्।
गत वर्षको असोजसम्म ‘क' वर्गका वाणिज्य बैंकहरूले ४३ लाख चार हजार सात सय ७० कार्ड जारी गरेका थिए। ‘ख' वर्गका विकास बैंकले तीन लाख ४१ हजार तीन सय ७८ र फाइनान्स कम्पनीले करिब २५ हजार कार्ड जारी गरेको राष्ट्र बैंकको तथ्यांक छ।
प्रविधिसँगै विकास भएको प्लास्टिक मनीले अहिलेको पुस्तालाई स्मार्ट मात्रै बनाएको छैन सुरक्षित कारोबार गर्न पनि सिकाएको छ।
यसको प्रयोग एटीएम (अटोमेटेड टेलर मेसिन) बाट नगद निकाल्न र वस्तु वा सेवा खरिद गर्न रकम भुक्तानी गर्न गरिन्छ। यो ‘इलेक्ट्रोनिक चेक' हो। कागजी ‘चेक' जस्तै यसको प्रयोग पनि बैंक खातामा रकम मौज्दात रहेसम्म मात्र गर्न सकिन्छ। डेबिट कार्डको उपयोग इन्टरनेटमार्फत किनमेल गर्दा पनि प्रयोग गर्न सकिन्छ। यसको प्रयोगले चेक काट्ने, हस्ताक्षर नमिल्ने, बैंक तथा वित्तीय संस्थामा हुने लामो लाइनलगायत समस्याबाट मुक्त गराउँछ। यो कार्ड हाल चलनचल्तीमा आएको ‘एटीएम' कार्ड हो।
नेपालमा २०५२ सालमा पहिलो पटक हिमालयन बैंकले डेबिट कार्ड सुरु गरेको थियो। त्यसपछि नबिल बैंकले २०५३ सालमा कार्ड प्रयोगमा ल्याएको हो।
विश्वमा बैंकिङ क्षेत्रमा प्रभावकारी र सफल कारोबार गर्ने माध्यमका रूपमा रहेको क्रेडिट कार्ड नेपालमा सोचेअनुसार प्रयोगमा आउन सकेको छैन। कार्डका प्रयोगकर्ता बढ्न नसकिरहेको अवस्थामा डेबिट कार्डका प्रयोगकर्ताको संख्या भने उल्लेख्य बढेको राष्ट्र बैंकको तथ्यांकले देखाएको छ। क्रेडिट कार्डको महत्व बुझ्न नसक्दा यसको प्रयोग कम भएको हो। नेपाली ऋणसँग डराउने संस्कार भएका कारण कार्डले सोचे जति सफलता हासिल गर्न नसकेको हो।
नेपालमा ऋण लिने संस्कार नै कम भएकाले क्रेडिट कार्ड असफल भएको बैंकरहरूको भनाइ छ। ‘ऋण नलिने संस्कारका कारण क्रेडिट कार्ड नचलेको बैंकर अनिलकेशरी शाहले बताए। ‘नेपालमा हेर्ने हो भने डेबिट कार्ड प्रयोग पछिल्लो समयमा घेरै भएको छ। तर क्रेडिट कार्डको प्रयोग नगन्य रूपमा भएको देखिन्छ', उनले भने, ‘नेपालीमा ऋण लिएर काम गर्ने बानीको विकास नै भएको छैन।'
२०७४ असोज ५५८३९००
२०७३ असोज ४६७१२२७
२०७२ असोज ४२८६४५५
२०७१ असोज ४१४५४०५
२०७० असोज ३५९७७०३