हिमाल लम्साल, नागरिक दैनिक, १६ भदौ २०७४
गएको एक वर्षभित्र मुलुकभर करिब साढे चार लाख सवारीसाधन थपिएका छन्।
यातायात व्यवस्था विभागका अनुसार गत आर्थिक वर्षमा मात्र चार लाख ४४ हजार साना–ठूला सवारीसाधन थपिएका हुन् । आर्थिक वर्ष ०७३/७४ मा अघिल्लो आर्थिक वर्षको तुलनामा करिब एक लाखभन्दा बढी सवारीसाधन थपिएका हुन् ।
आर्थिक वर्ष ०७२/७३ मा मुलुकभर करिब साढे तीन लाख मात्र सवारीसाधन थपिएका थिए । त्यस वर्ष तीन लाख ४३ हजार सात सय ६५ सवारी थपिएको विभागको तथ्यांक छ । विभागमा गत आवसम्म दर्ता भएको कुल सवारीसाधनको संख्या २७ लाख ८३ हजार चार सय २८ पुगेको छ।
विभागका अनुसार थपिने सवारीसाधनको चाप उपत्यकामा धेरै पर्ने गरेको छ । बाग्मती अञ्चलमा दर्ता भएकामध्ये अधिकांश सवारीसाधन उपत्यकामा चल्ने गरेकाले काठमाडौंको ट्राफिक व्यवस्थापनमा समस्या ल्याउने गरेको छ ।
गत आव बाग्मतीमा मात्र एक लाख २० हजार सवारीसाधन दर्ता भएका छन् । त्यसभन्दा अघिल्लो वर्ष भने मात्र ७२ हजार सात सय ३३ सवारीसाधन दर्ता भएका थिए।
बाग्मतीमा दर्ता भएका अधिकांश दुईपांग्रे सवारी उपत्यकाभित्र चल्ने भएकाले त्यसले ट्राफिक व्यवस्थापनमा चुनौती थप्ने गरेको छ । ‘हामीले ‘मास ट्रान्सपोर्ट’लाई प्राथमिकतामा राख्दै आएका छौँ,’ पाण्डेले भने, ‘ठूला सवारीसाधन भित्र्याएपछि मात्रै उपत्यकाको जाम कम गर्न सकिन्छ ।’
गत आवसम्म बाग्मती अञ्चलमा दर्ता भएको सवारीसाधनको संख्या १० लाख ४२ हजार आठ सय ५६ पुगेको विभागका निर्देशक टोकराज पाण्डेले बताए । ‘बाग्मतीमा दर्ता भएकामध्ये राजधानीमा चल्ने सवारीसाधन धेरै छन्, यो क्रम ह्वात्तै बढेको छ,’ उनले भने, ‘दुईपांग्रे सवारीको दर यसमा उच्च छ ।’ बाग्मती अञ्चलमा एक वर्षभित्र थपिएका एक लाख १९ हजार नौ सय ५६ सवारीसाधनमध्ये ९४ हजार सात सय ५१ दुईपांग्रे मात्र छन्।
बाग्मतीमा दर्ता भएका अधिकांश दुईपांग्रे सवारी उपत्यकाभित्र चल्ने भएकाले त्यसले ट्राफिक व्यवस्थापनमा चुनौती थप्ने गरेको छ । ‘हामीले ‘मास ट्रान्सपोर्ट’लाई प्राथमिकतामा राख्दै आएका छौँ,’ पाण्डेले भने, ‘ठूला सवारीसाधन भित्र्याएपछि मात्रै उपत्यकाको जाम कम गर्न सकिन्छ।’
२० अर्ब कर
विभागले गत आवमा सवारीसाधनबाट २० अर्ब ३२ करोड २९ लाख रुपैयाँ राजस्व संकलन गरेको छ । त्यसमध्ये सवारी करबापत आठ अर्ब ७९ करोड ८५ लाख, सडक निर्माण तथा सम्भार दस्तुरबापत आठ अर्ब ५३ करोड, सवारीचालक अनुमतिपत्र तथा सवारी इजाजत दस्तुरबाट दुई अर्ब ४० करोड १५ लाख रुपैयाँ राजस्व संकलन भएको छ । यातायात क्षेत्रको आम्दानी ५६ करोड ८४ लाख, प्रशासनिक सेवा शुल्कबापत १७ करोड तीन लाख रुपैयाँ संकलन भएको छ।
अर्थतन्त्रमा नकारात्मक असर
ठूलो मात्रामा सवारीसाधन आयात हुँदा मुलुकको अर्थतन्त्रमै नकारात्मक असर पर्ने अर्थशास्त्री बताउँछन् ।
अर्थशास्त्री केशव आचार्यले विलासिताका लागि आयात हुने सवारीसाधनले मुलुकको अर्थतन्त्रलाई नकारात्मक प्रभाव पारिरहेको बताए । ‘पूर्वाधार निर्माणका लागि आवश्यक पर्ने मेसिनरी उपकरण आयात गर्दा अर्थतन्त्रलाई फाइदा नै पुर्याउँछ,’ उनले भने, ‘विलासिताका सवारीसाधनले अर्थतन्त्रलाई पर निर्भरतातर्फ धकेल्छ।’
ठूलो परिणाममा सवारी खरिद गर्दा त्यसको दीर्घकालीन असर लामो समयसम्म रहनेछ । ‘एकपटक खरिद गरेर मात्रै पुग्दैन,’ आचार्यले भने, ‘सवारीसाधनका लागि आवश्यक पर्ने स्पेयर पार्टस्, लुब्रिकेटलगायत खरिद गर्दा बर्सेनि ठूलो रकम बिदेसिन्छ।’
सवारीसाधन संख्या
आव ०७३/७४ सम्म दर्ता : २७,८३,४२८
दुईपाङ्ग्रे सवारी : २१,८९,०९९
बाग्मती अञ्चल
हालसम्म कुल दर्ता : १०,४२,८५६
मोटरसाइकल र स्कुटर : ८,१७,४७३
बस : ११,९६७
मिनिबस : ११,९६७
ट्रक र मिनिट्रक : २०,७७८
क्रेन डोजर : ८,५२६
जिप, कार, भ्यान : १,३९,९८१
पिकअप : २०,१९७
माइक्रोबस : २,३४५
टेम्पो :२,५२८
ट्रयाक्टर, पावर ट्रेलर : २,९०८
एम्बुलेन्स :५४७
कूटनीतिक नियोगका सवारीसाधन : ३,८२१
गत आवको सवारी राजस्व
जम्मा : २० अर्ब ३२ करोड २९ लाख
सवारी कर : आठ अर्ब ७९ करोड ८५ लाख
सडक निर्माण–सम्भार दस्तुर :आठ अर्ब ५३ करोड
सवारीचालक अनुमतिपत्र र इजाजत दस्तुर : दुई अर्ब ४० करोड १५ लाख
यातायात क्षेत्रको आम्दानी : ५६ करोड ८४ लाख
प्रशासनिक सेवा शुल्क : १७ करोड तीन लाख
स्रोतः यातायात व्यवस्था विभाग
स्रोत :
http://www.nagariknews.com/news/26312/