एक सय ६ मुलुकका ५८ हजार पुगे

January 08, 2020

सन्तोष पोखरेल, नागरिक, पुष २३, २०७६ 

पोखरा - हिमालपारिको जिल्ला मुस्ताङ विदेशी पाहुनामाझ कतिसम्म लोकप्रिय छ भन्ने विषय बर्सेनि त्यहाँ पुग्ने पर्यटकको संख्याले देखाएको छ। संख्यात्मक रूपमा मात्र नभई हरेक वर्ष बढीभन्दा बढी मुलुकका विदेशी पाहुना मुस्ताङ घुम्न जाने गरेका छन्। सन् २०१९ मा १ सय ६ मुलुकका ५७ हजार आठ सय ३० जना विदेशी पाहुना हिमाली जिल्ला मुस्ताङ पुगेका छन्।

सन् २०१९ मा अहिलेसम्मकै बढी मुलुकका विदेशी पाहुना मुस्ताङ पुगेको अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप)ले बताएको छ। यसअघि सन् २०१६ मा एक सय पाँच मुलुकका विदेशी मुस्ताङ उक्लेका थिए। सन् २०१७ मा ९० र २०१८ मा ९८ मुलुकका पाहुना हिमाली जिल्ला मुस्ताङ पुगेको एक्यापले बताएको छ। एक्यापको जोमसोमस्थित संरक्षण अधिकृत तुलसी दाहालका अनुसार सन् २०१९ मा एक सय ६ मुलुकका विदेशी मुस्ताङ पुगेका छन्।

त्यसमा सबैभन्दा बढी छिमेकी मुलुक भारतका ६० प्रतिशत (करिब ३५ हजार) छन्। दोस्रो नम्बरमा २० प्रतिशत (११ हजार) फ्रेन्च छन्। तेस्रो नम्बरमा जर्मनीका पाँच प्रतिशत (२९ सय) मुस्ताङ पुगे। मुस्ताङ पुग्ने अमेरिकीको संख्या पनि पाँच प्रतिशत हाराहारीमै छ। अमेरिकीको संख्या चौथो नम्बरमा छ। पाँचौं नम्बरमा बेलायत, छैटौंमा इजरायल, सातौंमा अस्टे«लिया, आठौंमा रसिया रहेको एक्यापको तथ्यांकले देखाएँछ।

१६ वटा मुलुकका एक–एकजनाले मुस्ताङ टेकेको दाहालले बताए। ‘बढीभन्दा बढी मुलुकका विदेशी भित्रिँदा नेपालबारे बढी प्रचार हुन्छ। मुस्ताङबारे कम्तीमा एक सय ६ मुलुकका पाहुनाले कतै न कतै बताउँदा त्यसले प्रचारप्रसारमा सहयोग पुग्छ,’ दाहालले भने। एक–एकजनाका दरले पुग्ने विदेशीमध्ये अधिकांश अन्नपूर्ण फेरोको पदयात्रा पूरा गरेर थोराङला भञ्ज्याङ पार गरेर मुस्ताङ निस्केका थिए।

२०२० मा नेपाल भ्रमण वर्ष मनाइरहँदा अन्तर्राष्ट्रिय क्षेत्रमा प्रचारप्रसार गर्ने हो भने अहिलेभन्दा बढी मुलुकका विदेशी पाहुना आउने सम्भावना रहेको उनले बताए। ‘प्रचारप्रसार गर्ने हो भने बढीभन्दा बढी मुलुकका पाहुना नेपाल आउँछन्। तीमध्ये कोही न कोही मुस्ताङ उक्लेकै हुन्छन्,’ दाहालले भने, ‘वास्तविक नेपालको चित्र देखाउने अवसर भ्रमण वर्ष २०२० ले दिलाएको छ।’

पदयात्राका लागि कहलिएको गन्तव्यको पहिचान मुस्ताङले बनाएकाले पनि नेपाल आएका विदेशी त्यहाँ पुग्न चाहने दाहालले बताए। ‘कुनै न कुनै रूपमा मुस्ताङ विदेशीसामु लोकप्रिय छ। यहाँको ल्यान्डस्केप दृश्य, कला संस्कृति, घरको बनोट, मौसम, पदयात्रा क्षेत्र, साहसिक गन्तव्यका कारण पनि बढी मुलुकका पर्यटक पुगेका हुन्,’ दाहालले भने, ‘आन्तरिक पाहुनाका लागि समेत मुस्ताङ आकर्षक गन्तव्य छ। विदेशी सामु पनि उस्तै लोकप्रियता मुस्ताङले कमाएको छ।

बढीभन्दा बढी मुलुकका विदेशी भित्र्याउने हो भने नेपालको पर्यटनको प्रचारप्रसार तिनै पाहुनामार्फत हुन्छ।’ दाहालका अनुसार २०१८ मा मुस्ताङ पुग्ने विदेशीको संख्या ५९ हजार आठ सय ३८ थियो। २०१८ को तुलनामा २०१९ मा आगमनमा केही कमी (३.४७ प्रतिशत) भए पनि मुलुकको संख्या भने बढेको दाहालले बताए। सन् २०१९ मा आगमन नै अघिल्लो वर्षको तुलनामा वृद्धि नहुँदा त्यसले संख्यामा असर पार्ने उनले बताए।

एक्यापका अनुसार सन् २०१४ मा ४१ हजार दुई सय १९, २०१५ मा २३ हजार दुई सय ७२, २०१६ मा ३९ हजार १७ र २०१७ मा ५२ हजार चार सय ७५ जना विदेशी पर्यटक मुस्ताङ पुगेका थिए। मुस्ताङ पुग्ने पर्यटकमध्येको ठूलो हिस्सा भारतीयले लिए पनि उनीहरु अधिकांश मुक्तिनाथ दर्शन गर्न पुगेका धार्मिक पर्यटक मात्र रहेको उनले बताए। मुस्ताङ पुगेका भारतीयमध्ये बढीमा १० प्रतिशत मात्र पदयात्रा तथा घुमघाम प्रयाजनका हुने गरेको उनले बताए। ‘धार्मिक पर्यटक भए पनि भारतीयबाट मुस्ताङको पर्यटन क्षेत्रले बढीभन्दा बढी लाभ पाउँछ,’ उनले भने।

मुस्ताङ पुगे पनि उपल्लो क्षेत्र लोमान्थाङ पुग्ने विदेशी पाहुना भने कम हुने गरेका छन्। अर्धनिषेधित क्षेत्रमा पर्ने लोमान्थाङ जाँदा विदेशीले अतिरिक्त शुल्क तिर्नुपर्छ। त्यसले गर्दा लोमान्थाङ पुग्ने कम हुने उनले बताए। सन् २०१८ मा लोमान्थाङमा ५५ मुलुकका ३९ सय ४६ पाहुना पुगेका थिए। सन् २०१९ मा भने लोमान्थाङ पुग्ने पाहुना अघिल्लो वर्षभन्दा केही कम भए पनि मुलुक भने थपिएका छन्। २०१९ मा ६७ मुलुकका ३८ सय ८२ पाहुना लोमान्थाङ उक्लेका थिए।

मुस्ताङको अर्धनिषेधित क्षेत्रमा जाँदा विदेशीले १० दिनका लागि प्रतिव्यक्ति पाँच सय र थप प्रतिदिन प्रतिव्यक्ति ५० अमेरिकी डलर शुल्क तिर्नुपर्छ। हिमालपारिका जिल्ला मनाङमा नार, फु र तिल्चे गाउँ र मुस्ताङको लोमान्थाङ, चराङ, छोन्हुप, छोसेर, सुरखाङ, घमी, छुसाङ, कागबेनीको साङदा गाउँसहित जोमसोमबाट तिलिचो ताल जाने बाटो अर्धनिषेधित क्षेत्रमा पर्छन्।

पदयात्रा व्यवसायीको छाता संस्था ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान) पश्चिमाञ्चल क्षेत्रीय संघका अध्यक्ष हरि भुजेलले पदयात्रामा नेपालको सुन्दरताको बखान गरिसाध्य नहुँदाको प्रभाव बढी मुलुकका पाहुना भित्रिने गरेको बताए। ‘पाहुना सिधै मुस्ताङ जान सक्ने अवस्था रहेकाले पनि बढी मुलुकका पाहुना पुग्ने गरेका छन्,’

भुजेलले नेपाल भित्रिएका ती पाहुनामार्फत उनीहरूका मुलुकमा प्रचारप्रसार गर्ने हो भने २०२० को सरकारी लक्ष्य पूरा गर्न सहज हुने बताए। ‘जुन–जुन मुलुकबाट एकजनाको दरले विदेशी पाहुना भित्रिएका छन्। ती पाहुनालाई नै नेपालबारे प्रचार गर्ने गरी पर्यटन दूत बनाउने हो भने आगामी वर्ष आगमन अवश्य बढ्छ,’ भुजेलले भने, ‘यसमा सरकारले चासो लिनुपर्छ।’

स्रोत: https://nagariknews.nagariknetwork.com/news/111240/

Explore DevNotes

View More

Explore Nepal History

View More

Explore Datasets

View More