Ekantipur, 12th May 2017, Kathmandu
चीनले विकास र सहकार्यका लागि भन्दै अघि बढाएको वान बेल्ट वान रोड परियोजना ओबरमा नेपाल आज औपचारिक रुपमा सहभागी भएको छ । लामो समयसम्मको अन्यौल र रस्साकस्सीपछि नेपालले आज ओबर परियोजनाको ‘फ्रेमवर्क सम्झौता’ मा हस्ताक्षर गरेको हो । परराष्ट्रमन्त्रीको उपस्थितीमा सचिव शंकरदास बैरागी र चिनियाँ राजदुत यु होङले आज बिहान परराष्ट्र मन्त्रालयमा आयोजित बिशेष समारोहमा हस्ताक्षर गर्नुभयो ।
सम्झौतापछि नेपाल छिमेकी मुलुक चीनले अघि बढाएको ओबरको औपचारिक सदस्य बनेको छ । चीनमै परराष्ट्रमन्त्री स्तरमा हस्ताक्षर गर्ने भनिए पनि समय कम भएकाले सचिव स्तरमा सम्झौता गरिएको हो । विश्व ब्यापारसंग सबै माध्यमबाट जोडिने चीनको महत्वकाक्षी परियोजना नेपाल जस्ता विकाशोन्मुख देशमा बाटो, बन्दरगाह, विद्युत, रेलमार्ग तथा विमानस्थलमा व्यापक लगानी गर्ने नीतिमा आधारित छ । सन् २०१४ को प्रारम्भमा नेपालले ओबरमा जाने प्रारम्भिक सहमती गरेपनि औपचारिक पत्राचार हुन डेढ बर्ष लागेको थियो । चीनले ओबरलाई विश्वव्यापी रुपमा अघि बढाउन बैशाख ३१ र जेठ १ मा बेइजिङमा अन्तराष्ट्रिय सम्मेलन गर्दैछ । नेपालबाट उपप्रधान तथा अर्थमन्त्री कृष्णबहादुर महराको नेतृत्वमा ११ सदस्यिय टोली सम्मेलनमा सहभागी हुन जाने तय भईसकेको छ । मन्त्रीपरिषद्को गत सोमबार बसेको बैठकले चीनिया परियोजना वान वेल्ट वान रोडमा हस्ताक्षर गर्ने निर्णय गरेको थियो ।
Source: http://radiokantipur.ekantipur.com/news/2017-05-12/20170512093415.html